‘विदेशनीति समयानुकूल परिमार्जन गरौँ'

‘विदेशनीति समयानुकूल परिमार्जन गरौँ'

काठमाडौं : भारत, चीन र अमेरिकास्थित नेपाली राजदूतले नेपालको विदेश नीतिलाई राष्ट्रिय स्वार्थपूर्ति गर्नका लागि विश्वको बदलिँदो अवस्थालाई हेरी समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति समयानुकूल सुधारका लागि विशेष छलफलमा धारणा राख्दै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका राजदूत लीलामणि पौड्याल र अमेरिकाका राजदूत अर्जुनकुमार कार्कीले ती देशसँगको नेपालको सम्बन्धको अवस्था र अब चाल्नुपर्ने कदमबारे बताएका हुन् ।

 ‘तीनैजना राजदूतले विश्वको बदलिँदो अवस्थालाई हेरेर विदेशनीति समयानुकूल परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो', समितिका सदस्य श्याम श्रेष्ठले अन्नपूर्णसँग भने । श्रेष्ठले राजदूतहरूले भारत, चीन र अमेरिकासँगको सम्बन्धको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे सदस्यलाई बताएको उल्लेख गरे । राजदूत पौड्यालले नेपालले बेल्ट एन्ड रोड अवधारणाबाट फाइदा लिन आफ्नोतर्फबाट कदम चाल्नुपर्ने र नेपालले चिनियाँ बजारमा बिक्री गर्नसक्ने वस्तुको उत्पादन बढाउनुपर्ने बताए । ‘चिनियाँ व्यापारीले गलैंचा, चियाजस्ता वस्तुको ठूलो परिमाणमा माग गरेको खण्डमा हामीले निर्यात गर्न नसक्ने अवस्था छ । हामीले व्यापार बढाउनेबारे चीनसँग के भन्ने ? ' उनले भने ।


नेपाल भूराजनीतिक हिसाबले महत्वपूर्ण स्थानमा रहे पनि ५०-६० वर्षयता उही अवस्थामा रहेको परराष्ट्रमन्त्रीको भनाइ ।

भारतका लागि नेपाली राजदूत उपाध्यायले भारतमा नेपालप्रति सकारात्मक धारणा बन्दै गएकाले नकारात्मक टिकाटिप्पणी गर्न नहुने बताए । उनले नेपालको हित हुनेगरी भारतले पञ्चेश्वरको डीपीआर टुंग्याउन चाहेको धारणा राखे । खुला सीमाका कारण भारतले नेपालसँगको सीमा सुरक्षाप्रति बढी संवेदनशीलता देखाउने गरेको उनले जानकारी दिए ।

अमेरिकाका लागि राजदूत कार्कीले अमेरिकाले नेपाललाई ५० अर्ब रुपयाँ बराबरको सहयोग हालै घोषणा गरेको चर्चा गर्दै नेपाल अमेरिकाको प्राथमिकतामा रहेको बताए । उनले नेपालको मानवअधिकार र विशेषगरी यहाँ रहेका तिब्बती शरणार्थीबारे अमेरिकाको गहिरो चासो रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको अमेरिका भ्रमणमा परराष्ट्रमन्त्री महरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको भोजमा सहभागी हुन नसकेको घटनाबारे राजदूत कार्कीले भने, ‘यो मिलाउने काम राष्ट्रसंघ मामिला हेर्ने न्यूयोर्क नियोगको हो । मलाई प्रधानमन्त्रीको भ्रमण दलको सदस्यका रूपमा समेत सहभागी गराइएन । मैले यसबारे केही भन्न सक्दिनँ ।' कार्कीले अमेरिकाले नेपालमा प्रजातन्त्र सुदृढ भएको हेर्न चाहेको बताए ।

बैठकको अन्तिममा परराष्ट्रमन्त्री महराले नेपालको राजनीतिक नेतृत्वले विदेशीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालले छिमेकीलगायत सबै मुलुकसँग मित्रवत व्यवहार गर्न चाहेको बताए । नेपालको गरिबीको फाइदा उठाएर केही विदेशी मुलुकले फाइदा लिन खोजेको बताउँदै उनले त्यसका लागि नेपाल आर्थिक समृद्धि र स्थिरतामा लाग्नुपर्नेमा जोड दिए ।

उनले नेपाल भूराजनीतिक हिसाबले महत्वपूर्ण स्थानमा रहे पनि ५०-६० वर्षयता उही अवस्थामा रहेको बताए । ‘हामीले हाम्रो अवस्था माथि उठाउन सकेका छैनौँ', उनले भने । प्रधानमन्त्री देउवालाई बैठकमा डाकिए पनि उनी गएनन् । उनका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नेपालको भूराजनीति संवेदनशील रहेको भन्दै गम्भीर भएर विदेश नीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

पूर्वपरराष्ट्रमन्त्रीहरू, भारत तथा चीनका लागि पूर्वनेपाली राजदूत, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी बैठकमा पत्रकारलाई प्रवेश दिइएको थिएन । समितिले विदेश नीति परिमार्जन गर्नेबारे एक प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने समितिका सभापति जेबी टुहुरेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.