मनोनय दर्ता गर्ने बेला कांग्रेस कार्यालयमा ताला
नेपालगन्ज : उमेदवारको मनोनयन दर्ता गर्ने तयारी भइरहँदा बाँकेका असन्तुष्ट कांग्रेस कार्याकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन् । टिकट वितरणमा अन्याय भएको भन्दै असतुष्ट कांग्रेस कार्यकर्ताहरुले बिहीबार नेपालगन्जस्थित कांग्रेस कार्यालयमा ताला लगाइदिएका हुन् ।
क्षेत्र नं १ अन्र्तगत कांग्रेसका कोहलपुर नगर सभापति बलराम शर्मा र महासमिति सदस्य दुखीराम लोनियाले बिहीबार नै पार्टीको टिकट वितरणमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका छन् । उनीहरुलाई समर्थन गर्दै कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाइदिएपछि अहिले मनोनयन दर्तासमेत अन्योलमा परेको छ।
पार्टीका केही नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालय बाहिर जम्मा त भएका छन् तर, पनि मनोनयनको उत्साह खासै छैन । अन्य राजनीतिक दलहरुले मनोनयन दर्ताको भव्य तयारी गरिरहँदा कांग्रेस पार्टी कार्यालय भने तनावग्रस्त छ । पार्टी कार्यालयमा बसेर मनोनयन दर्ताको तयारी गरिरहेका पार्टीका सचिबालय सदस्यहरु पनि अहिले असुरक्षित भएको भन्दै पार्टी सभापति किरण कोइरालाको घरमा पुगेका छन् ।