सधैं राष्ट्रियताको पक्षमा उभिने र्कीर्तिनिधि विष्ट

सधैं राष्ट्रियताको पक्षमा उभिने र्कीर्तिनिधि विष्ट

काठमाडौं : सिंहदरबारमा आगलागी भएपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजा वीरेन्द्रसमक्ष राजीनामा चढाए । वीरेन्द्रले सोधे, ‘किन राजीनामा दिनुहुन्छ ? त्यो आगो तपाईंले लगाएको हो र ? ’विष्टले जवाफ दिए, ‘राष्ट्रको जिम्मेवारी लिएर पदमा बसेको मानिस जनताप्रति जिम्मेवार हुन जान्नुपर्छ । मुलुक चलाउने ठाउँ जलेको छ सरकार । जवाफदेहीको संस्कार बसाल्न मैले राजीनामा दिएको हुँ ।’

विष्टको निर्णयलाई राजाले सह्राउनुको विकल्प थिएन । राजनीतिकर्मीमा इमान र नैतिकताको वकालत गर्ने तिनै विष्ट क्यान्सरले थलिएर ९१ वर्षको उमेरमा शनिबार बिहान राजधानीको ज्ञानेश्वर निवासमा बितेका छन् । नेपाली राष्ट्रिय कांग्रेसको राजनीति हुँदै पञ्चायत छिरेका उनले आफ्नो प्रतिबद्धताको केन्द्रमा लोकतन्त्रभन्दा राष्ट्रियतालाई बढी प्राथमिकतामा राखे, जीवनभरि ।

 

राजा महेन्द्र बित्नुअघि संविधान परिमार्जन गर्न एउटा मस्यौदा टोली खटाएका थिए, जसलाई विष्टले अगुवाइ गरेका थिए । उनी परराष्ट्रमन्त्री हुँदा सचिव, प्रधानमन्त्री हुँदा मन्त्रीका रूपमा काम गरेका भेषबहादुर थापाका अनुसार विष्ट महेन्द्रको निर्दलीय आकांक्षा र बहुदलका बीचमा कुनै सामाञ्जस्य खोज्ने अनौठो प्रयास गर्दै थिए । ‘पूरै दलीय अवधारणा त होइन, तर दुई दलबीच प्रतिस्पर्धा र सहयोगको पद्धति स्थापित हुनेगरी विष्ट संविधान परिमार्जन गराउन काम गरिरहनुभएको थियो,’ थापा सम्झन्छन्, ‘दुर्भाग्य, संविधानमाथि छलफलकै क्रममा महेन्द्र बित्नुभयो । त्यसपछि नेपालको राजनीतिले अर्कैै मोड लियो ।’

सन् १९५० अघि र पछिसमेत भारतवेष्ठित हुँदै आएको नेपाली राजनीतिमा उत्तरी छिमेकी चीनको हिस्सेदारीलाई निम्तो दिएको जस र अपजस दुवै विष्टलाई जाने गर्छ । पञ्चायत भर्खरै सुरु भएको बेला थियो । नेपाल-भारत सम्बन्धमा बढ्दो तिक्तताबीच सन् १९६५ मा चिनियाँ नेता माओ त्सेतुङ र प्रधानमन्त्री चाउएनलाई भेट्न विष्ट उत्तर हानिए । उनीसँग थिए, कूटनीतिज्ञ यदुनाथ खनाल ।

‘विष्टलाई चीनसँग नजिक भएको आरोप सही होइन । उहाँ कसैको विरोधी र समर्थक भएर होइन । उत्तरको अर्को छिमेकीसँग सम्बन्ध प्रगाढ बनाउनेमा दृढ हुनुहुन्थ्यो ।’ भेषबहादुर थापा

खनालले त्यसअघि विशेष दूतका रूपमा भारत गएर सम्बन्ध सुधारको प्रयास गरिसकेका थिए । भारतले आफूप्रतिको नेपाल-निर्भरतालाई फाइदा उठाउने गरी प्रस्तुत भएको बुझेपछि विष्ट, खनाललगायतले उत्तरको ढोका खोल्नुपर्ने नीति अख्तियार गर्न राजा महेन्द्रलाई सुझाए । त्यसपछि नेपाली टोली गएर चीनसँग विश्वासको हात बढाउन कोसिस गरेको थियो ।

तत्कालीन अर्थसचिव थापाले माओ र चाउसित विष्टको कुराकानीबारे विस्तारमा बताउन अस्वीकार गरे । यत्ति खुलाए, ‘यहाँ सबै भन्न मिल्दैन, तर नेपाली अर्थतन्त्रलाई स्वाधीन बनाउने उपायलगायत विषयमा प्रस्ट अडान र विकल्प राखेर विस्तारमा कुराकानी गरिएको थियो तर त्यसैका आधारमा उहाँलाई चीनसँग नजिक भएको आरोप सही होइन । उहाँ कसैको विरोधी र समर्थक भएर होइन, उत्तरको अर्को छिमेकीसँग सम्बन्ध प्रगाढ बनाउनेमा दृढ हुनुहुन्थ्यो ।’

सांस्कृतिक क्रान्ति चलेपछि विष्ट फेरि चीन गएको थापाले जानकारी दिए ।लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका विष्ट ४० वर्षमै पहिलो पटक प्रधानमन्त्री भए, ०२५ सालमा । उनी ०२८ सालमा दोस्रो पल्ट र ०३४ सालमा तेस्रो पल्ट प्रधानमन्त्री भए । ०३६ सालमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गर्दा उनी नै प्रधानमन्त्री थिए । तर, निर्वाचन गराउने समयमा उनलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइएको थियो।

०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा सत्ता लिएपछि उनी मन्त्रिपरिषद् उपाध्यक्ष बनाइए । त्यसअगावै विष्ट सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भए भने सन् १९६१ मा सहायक मन्त्री भएका थिए । राजनीतिज्ञ डिल्लीरमण रेग्मीबाट प्रभावित विष्ट नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । जहानियाँ राणा शासनविरुद्ध २००७ सालमा भएको क्रान्तिमा सक्रियतापूर्वक सहभागी भएका विष्टले २०१७ सालमा राष्ट्रिय कांग्रेस त्यागे र पञ्चायती राजनीतिमा सक्रिय भए ।

विष्ट राष्ट्रवादी प्रधानमन्त्रीका रूपमा चर्चित हुनमा २००८ सालदेखि नेपालमा बस्दै आएको भारतीय सैन्य फौजलाई १८ वर्षपछि फर्काउन सफल हुनु हो । २००८ साल पुसमा डा.केआई सिंहको विद्रोहपछि तत्कालीन यातायातमन्त्री भद्रकाली मि श्रले मन्त्रिपरिषद् बैठकमा काठमाडौंको सुरक्षार्थ भारतीय सेना झिकाउनुपर्ने लिखित प्रस्ताव नै राखेका थिए । त्यस प्रस्तावले मातृकाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा ठूलो विवाद उत्पन्न भएको थियो । विवाद सुल्झाउन सिंगो मन्त्रिपरिषद् विमान चार्टर्ड गरी दिल्ली पुग्यो । अन्ततः सो प्रस्ताव परिमार्जित रूपमा पारित भयो । त्यसकै आधारमा चीन-तिब्बतको नेपालसँग जोडिएको उत्तरी सिमानामा १६ वटा चौकी नै स्थापना गरियो । ‘सन् १९६२ को चीन-भारत युद्धताका उत्तरी सीमामा तैनाथ भारतीय फौजको सक्रियता उदेकलाग्दो रहेको विष्टले अभिव्यक्ति दिँदै आएका थिए ।

अन्तरिम राणा प्रधानमन्त्री मोहन शमशेरलाई दबाबमा पारेर गरिएको १९५० र त्यसैको विस्तारस्वरुप राजा महेन्द्रका पालामा भएको १९६५ को सन्धि व्यावहारिक रूपमा उहिल्यै खारेज भइसकेको अभिव्यक्ति दिएर विष्ट विवादमा समेत तानिएका थिए । अन्नपूर्ण पोस्ट्मा आफ्ना पछिल्ला केही लेखमार्फत विष्टले भारतले कागजी बाघ देखाएर तर्साइरहेको र नेपालका नेताहरू त्यत्तिकै तर्सिरहेका टिप्पणी गरेका थिए ।

तत्कालीन राजा वीरेन्द्रको सन् १९७४ मा चीन भ्रमणका क्रममा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले खम्पा विद्रोहप्रति गम्भीर चासो देखाए । चीनबाट फर्केलगत्तै वीरेन्द्रले तत्कालीन प्रधानमन्त्री विष्टलाई खम्पा विद्रोही नियन्त्रण गर्न निर्देशन दिएका थिए । ‘मिसन इम्पोसिबल’ ठानिएको त्यो काम विष्टले २०३१ साल फागुन १२ गते हुन गइरहेको वीरेन्द्रको राज्याभिषेक अगावै फत्ते गरिदिए । यसरी सन् १९६० देखि सुरु खम्पा विद्रोह १४ वर्षपछि १९७४ सेप्टेम्बर १५ (२०३१ भदौ ३०) मा अन्त्य भएको थियो ।

पछिल्लो अवधि संविधान निर्माणसँगै भारतले नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले लिएका निर्णयलाई विष्टले प्रशंसा गरेका थिए ।उनले आफ्नो मरणमा तामझाम नगर्नू भनी पहिल्यै परिवारसामु भनेका थिए । अन्तिम बिदाइका लागि आर्यघाटमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, राप्रपा अध्यक्ष कमल थापालगायत पुगेका थिए । त्यहाँ परिवारका सदस्य र केही शुभेच्छुक उपस्थित थिए । यति हुँदाहुँदै पनि त्यहाँ पुग्नेहरूले मन खल्लो बनाए । आर्यघाटबाट फर्केका पूर्वमन्त्री थापाले अन्नपूर्णसँग भने, ‘उहाँको प्रस्थानका बेला नेपाल राष्ट्रले त सम्मान गर्‍यो, तर राज्यले कन्जुसी देखायो ।’

‘स्वाधीनता, सुरक्षा र आत्मसम्मानको उदाहरण’

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विष्ट निधनको खबरले आफू मर्माहत भएको प्रतिक्रिया दिएका छन् । उनले अन्नपूर्णसँग भने, ‘देशको स्वाधीनता, सुरक्षा र आत्मसम्मानका लागि विष्टले लिएको अडान हामीले भुलेका छैनैाँ । सबै देशभक्त र जनतान्त्रिक शक्तिका लागि विष्ट प्रेरणका पात्र हुनुहुनेछ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रखर राष्ट्रवादी व्यक्तित्व विष्टको निधन अपूरणीय राष्ट्रिय क्षति भएको बताए ।उनले भने, ‘राष्ट्रियताको सम्बद्र्धनमा उहाँको ठूलो योगदान छ । नेपाल र नेपालीले विष्टको योगदान बिर्संदैनन् ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विष्टको निधन दुःखद रहेको बताए ।माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले शासन व्यवस्था जे-जस्तो पनि हुन सक्छ तर एउटा देशभक्त मान्छे विरलै जन्मन्छ, आज हामीबीचबाट गएका विष्टको देशभक्तिप्रति जति नै सम्मान दिए पनि अधूरै हुन्छ, अपूरै रहन्छ भन्दै दुःख व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.