‘खानेपानी दिनेलाई भोट'

‘खानेपानी दिनेलाई भोट'

बैतडी : जिल्लाको सुर्नया गाउँपालिका ६ शंकरपुर नन्दिनाका नन्दराम अवस्थी बहुदलीय व्यवस्थापछि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा छैटौं पटक मतदान गर्ने तयारीमा छन्। जति पटक उनले भोट दिए उति पटक नेताहरूले खानेपानी व्यवस्थापनको आश्वासन दिए। यसपालिको चुनावमा पनि भोट माग्न नेताहरू गाउँ पसिसकेका छन्।

‘भोट माग्न गाउँ पुग्ने नेताहरूलाई पानीको व्यवस्था गर्न आग्रह गरिरहेका छौं। अरू चुनाव जस्तै यो चुनावमा पनि खानेपानीको व्यवस्था गर्ने आश्वासन नेताहरूले दिएका छन्। तर यसपालि ठोस प्रतिबद्धता नआए मेरो गाउँको करिब ५० भोट कसैलाई दिँदैनौ।' उनले भने, ‘हाम्रा आधारभूत आवश्यकता पूरा नगर्ने नेतालाई के का लागि भोट दिने ? हामी बाजेको पालादेखि कुलाको दूषित पानी प्रयोग गर्न बाध्य छौं। हाम्रा समस्या नहेर्ने नेतालाई हामी भोट दिदैनौं।'

साविकको शंकरपुर गाविस ९ नम्बर वडाको नन्दिना टोलमा खानेपानीको निकै समस्या छ। यो समस्या समाधानका लागि सबैले आश्वासन दिने गरेको तर आश्वासन कसैले पूरा नगरेको स्थानीयबासी भवानीदत्त अवस्थीले बताए। ‘जुनसुकै चुनावमा हामीले भोट दिए पनि हाम्रो माग खानेपानी नै हुन्छ। खानेपानी व्यवस्थाको माग राखेको दुई दशक पूरा भयो। हाम्रो माग कहिले पूरा हुन्छ थाहा छैन।' उनले दुखेसो पोखे।

गाउँमा खानेपानी नहुँदा विशेष गरेर महिला तथा बालबालिकाहरूलाई समस्या हुने गरेको छ। हिउँदको समयमा पानीको मुहान चहार्दै हिड्नुपर्ने बाध्यता रहेको स्थानीय जयन्ती अवस्थीले बताइन्। ‘टाढाबाट पिठ्यूँमा पानी बोकेर ल्याउनुपर्छ। कुलोकै दूषित पानी प्रयोग गर्न बाध्य छौं।' उनले भनिन्, ‘यो चुनावमा पनि नेताहरूले खानेपानी समस्या समाधान गर्ने पुरानै एजेन्डा लिएर आएका छन्। हाम्रा माग पनि पुरानै छन्।'

सुर्नया गाउँपालिका नन्दिना टोलको जस्तै खानेपानीको समस्या रहेको दोगडाकेदार गाउँपालिका ५ न्वाली गोबडाकी परे महर पनि यस्तै समस्या सुनाउँछिन्। भन्छिन्, ‘जहिले पनि खानेपानीकै चिन्ता हुन्छ। बर्षात् होस् वा हिउँद , खानेपानीका लागि न्वालीका एक घन्टा पैदल हिँड्नुपर्छ।' गाउँमा खानेपानीको समस्या हुँदा गर्भवती महिलाहरूले समेत टाढाबाट खानेपानी बोक्नुपर्ने बाध्यता छन्। महर थप्दै भन्छिन्, ‘केही महिनाअघि मात्रै सुत्केरी भएकी बुहारीले पानी बोक्नुपरिरहेको छ। गर्भावस्थामा पनि उसले पानी बोकेकी थिई। म बुढी सक्दिनँ के गर्नु ? '

दोगाडाकेदार गाउँपालिका बनकाँडाकी दुरा भुल खानेपानी बोक्नकै लागि ५ बजे नै ब्युँझ्ने गर्छिन्। उनलाई पानी ल्याउन नै डेढ घन्टा लाग्छ। भन्छिन्, ‘पानी लिन टाढा जानुपर्दा कपाल खुइलिसक्यो। हाम्रो समस्या जसले समाधान गर्छ उसैलाई भोट दिन्छौं।'

मेलौली नगरपालिकाका अधिकांश वडामा पनि खानेपानीको उस्तै समस्या छ। खानेपानीको अभावमा होटेल व्यवसाय सञ्चालन गर्न निकै सकस भएको सीता चन्दले बताइन्। उनले भनिन्, ‘गाउँमा राम्रो नेता नहुँदा हामीले खानेपानीजस्ता समस्या भोगिरहेका छौं। चुनावको बेला सबै पार्टीले समस्या समाधान गर्ने वचन दिन्छन्। उनीहरूका प्रतिबद्धता कतिपटक पत्याउने ? '

आफ्नो गाउँमा खानेपानीको निकै समस्या भएकाले खानेपानीको योजना ल्याउने नेतालाई भोट दिने दशरथचन्द नगरपालिका १ का कृष्णदत्त भट्टले बताए। उनले भने, ‘हामीलाई प्रत्येक चुनावमा नेताहरूले खानेपानीको व्यवस्था गर्ने आश्वासन दिन्छन्। तर अहिलेसम्म पूरा गरेका छैनन्। जसले हामीलाई खानेपानीको व्यवस्था गर्छ, उसैलाई भोट दिन्छौं।'

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्यांकले जिल्लाका करिब ८५ प्रतिशत घरधुरीमा खानेपानीको व्यवस्था भएको तथ्यांक देखाउँछ। तर अधिकांश खानेपानी योजना जीर्ण भएर बन्द भइसकेका छन्।

बैतडीमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन चुनावी मैदानमा छन्। दुवै गठबन्धनले आगामी ५ वर्षमा सबै ठाउँमा खानेपानीको व्यवस्था गरिसक्ने चुनावी प्रतिबद्धता गरेका छन्। ‘राजनीतिक नेतृत्व स्थानीय नागरिकका समस्या समाधान गर्न चुकेकाले उनीहरूप्रतिको विश्वास गुमेको छ। जनताको विश्वास जित्न स-साना कामलाई समेत प्राथमिकता दिनुपर्छ। तब मात्रै राजनीतिप्रति वितृष्णा हट्दै जान्छ।' जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले भने, ‘नागरिकको मन जित्न ठूलो काम चाहिँदैन।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.