इन्डोनेसियाको बोर्नेओमा डुंगा दुर्घटना, आठको मृत्यु
जकार्ता : इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो।
इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमा नै दुर्घटना भएको जनाइएको छ। सो डुङ्गामा करिब ४५ व्यक्ति सवार रहेका र अझै कैयौँ बेपत्ता रहेका छन्।
दुर्घटनापछि उद्धारकार्यको क्रममा ३३ व्यक्तिलाई नौसेनाले उद्धार गरेका बताइएको छ। हावाहुरीका कारण बाँकी यात्रुको उद्धारकार्यमा कठिनाई भएको जनाइएको छ।
दुर्घटनाको कारण प्रष्ट हुन सकेको छैन। तर बेपत्ता भएका यात्रुको एकिन सङ्ख्या पत्ता लगाउने कार्य भइरहेको वरिष्ठ सरकारी अधिकारी गुस्ती अन्वार मुल्यादीले बताएका छन् ।
इन्डोनेसियामा करिब १७ हजार द्वीप क्षेत्र रहेका छन्। त्यसैले यहाँ बारम्बार डुङ्गा दुर्घटना हुने गरेको पाइन्छ। गत जुलाइमा पनि सोही मार्ग तराकानबाट तानजुङ सेलोरतर्फ गइरहेको एक डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो।
त्यसैगरी गत वर्षको जनवरी १ मा पनि नयाँ वर्ष मनाउन हिँडेका २३ जना यात्रु जकार्तामा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो। रासस
प्रतिक्रिया दिनुहोस !