पूर्वराजा आज दाङ आउँदै
दाङ : पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउन लागेका छन्। जिल्लामा रहेका विभिन्न धार्मिक स्थलको पुजापाठ तथा नागरिक संग भेटघाटका लागि उनी आउने लागेको शाहको सचिवालयले जनाएको छ।
पूर्वराजा दाङ आउने भएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ। जिल्लामा क्रियाशील तीनवटै सुरक्षा निकायलाई सुरक्षा व्यवस्थाका लागि खटाइएको छ। जिल्ला बाहिरिने र भित्रने सवारी साधनमा समेत चेँकजाच कडा बनाइएको छ। सुरक्षा र शाहको कार्यतालिकालाई व्यवस्थित गर्न पूर्वाराजाका सचिव सागर तिमिल्सिना आएर ब्यवस्था मिलाएका छन्।
उनले जिल्लाका सुरक्षा प्रमुखहरुसंग पनि छलफल गरेका छन्। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पूर्वराजाको सुरक्षाका लागि सशस्त्र प्रहरीको डिएसपीको नेतृत्वको सुरक्षा व्यवस्था भएको जानकारी दिए। उनले सुरक्षाको टोली राजा संगै रहेको र जिल्लाले शान्ति सुरक्षाको लागि भूमिका खेल्ने जानकारी दिए।
पूर्वराजा ज्ञानेन्द्रले अम्विकेश्वरी मन्दिर र गोरक्षरतननाथ मन्दिर चौघेरामा पुगेर पुजा गर्ने कार्यक्रम रहेको सचिव तिमिल्सिनाले जानकारी दिए। बिहान ११ वजे अम्विकेश्वरी मन्दिरमा जाने कार्यक्रम तय गरिएको तिमिल्सिनाले बताए। मन्दिरमा पुजाआजा पछि सर्वसाधरणसँग भेट गर्ने कार्यक्रम रहेको छ ज्ञानेन्द्र अम्विकेश्वरी मन्दिरमा पुजा र भेटघाटपछि चौघेरामा रहेको रतननाथ मन्दिरमा पुगेर पुजा गर्ने र त्यसपछि डोको होटलमा गएर बस्ने छन्। होटेलमा करिब दुई घन्टासम्म बस्ने कार्यक्रम छ। त्यसपछि नेपालगञ्ज नै फर्किने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस !