छाउगोठको ‘पिँजडा’बाट मुक्त
जुम्ला : तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँका महिनावारी हुने महिलाहरू ‘पिँजडा’ मुक्त भएका छन्। १ सय ८ औं नारी दिवसको अवसरमा बिहीबार एक औपचारिक कार्यक्रमबीच श्रीनगर गाउँलाई छाउगोठमुक्त घोषणा गरिएपछि श्रीनगरमा महिनावारी भएका सबै महिला छाउगोठमुक्त भएका हुन्।
४२ घरधुरी रहेको श्रीनगरमा महिनावारी हुँदा छाउगोठमा बस्दै आएका ७० जनाभन्दा बढी महिला छाउ हुँदा पनि घरमै बस्न थालेपछि गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको हो। श्रीनगर छाउगोठमुक्त भएपछि त्यसको खुसियालीमा महिलाहरूले देउडा गाएर रमाइलोसमेत गरेका थिए।
विशेषगरी छाउ मान्ने धामीझाँक्रीले नै हिजोआज यसलाई सहजै स्विकार्न थालेपछि महिलाहरू ढुक्क भएर घरमा बस्न थालेका छन्।
‘छाउगोठमै बस्दा बलात्कार र जीवजन्तुको सिकार हुने समस्या थियो, हरेक महिनाको ५ दिन छाउ हुँदा गोठमै बस्नुपर्ने बाध्यता टाढियो, अब यो पिँजडाबाट हामी उम्कियौं,’ श्रीनगरकी हरिदेवी कठायतले भनिन्,। पतिले समेत छाउ हुँदा गोठमा बस्नु पर्दैन भनेपछि उनी घरमै बस्न थालेकी हुन्।
गाउँका महिलामा अहिले छाउ हुँदा घरभित्र पस्दा देवता रिसाउने र बिसन्चो हुन्छ भन्ने मान्यता परम्परागत भएको भन्दै परिवर्तित समयमा परिवर्तन आवश्यक भन्दै त्यसलाई चिर्दै आएका छन्।
श्रीनगर छाउगोठमुक्त भएको खुसियालीमा महिलाहरूले देउडा गाएर रमाइलोसमेत गरेका छन्।
‘गाउँका महिलाहरू छाउ हुँदा घरबाहिरको छाउगोठमा बसाल्ने चलन थियो, उनीहरूले बोट विरुवा छोए कुहिने, फल नलाग्ने, घरको जग पनि छुन नहुने, गाईको दूध दही खान नहुनेलगायत अन्धविश्वासका कुरालाई सबैले मनबाट हटाइसके,’ इसरा नेपालीले भनिन्, ‘अब छाउगोठमा बसेर कसैले बलात्कृत हुनुपर्ने, पशुपन्छीको आक्रमणबाट ज्यान गुमाउनु पर्दैन। यो समस्या हाम्रो गाउँबाट अन्त्य भयो।’
श्रीनगरकै वसन्ती खत्रीले भनिन्, ‘म छाउ भएको बेला गाउँमा कुनै विद्यार्थीले मलाई छोए उसको पढाइ अनि घरको कुल देउता बिग्रने अन्धविश्वास थियो। तर, अहिले स्थानीय धामीझाँक्रीदेखि सबैको प्रयासले यस्तो कुसंस्कार हटाउन सफल भयौं।’
छाउगोठमा बस्ने महिलाको शारीरिक तथा मानसिक अवस्था कमजोर हुन थालेपछि स्थानीय संघसंस्था तथा गैरसरकारी संस्थाको पहलमा सञ्चालित अभियानले श्रीनगर छाउगोठ मुक्त गाउँ घोषणा हुन सफल भएको हो। यससँगै जुम्लाका ६ वटा गाउँ हालसम्म छाउमुक्त घोषणा भइसकेका छन्।
वडाध्यक्ष हरिबहादुर डाँगीले आफ्नो पञ्चवर्षीय कार्यकालभित्र श्रीनगर गाउँजस्तै वडाका सबै बस्ती छाउगोठमुक्त बनाउने दाबी गरेका छन्। तातोपानी गाउँपालिका उपप्रमुख गंगादेवी उपाध्यायले गाउँपालिकाको आठ वटै वडामा छाउगोठमुक्त अभियान कार्यक्रम प्रभावकारी रूपले सञ्चालन भइरहेकोले अब छाउगोठमुक्त गाउँपालिका घोषणा गर्ने दिन टाढा नरहेको बताइन्।