काठमाडौंका सात स्थानमा मात्र कार्यक्रम र प्रदर्शन गर्न पाइने : रत्नपार्क र माइतीघरमा प्रदर्शन गर्न रोक
काठमाडौं : सरकारले काठमाडौंका सात स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्ने ठाउँ तोकेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं जिल्ला सुरक्षा समितको बैठकले कार्यक्रम र प्रदर्शन स्थाल तोकेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार खुलामञ्च, तीनकुने खुलाचौर, भुईंखेल चौर (भगवान पाउ), पेप्सीकोला खुलामैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला मैदान र सिफल चौर गौशालामा सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने छ।
वैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शन गर्न पाइने जानकारी शर्माले दिए।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह प्रशासन सुधार कार्ययोजनाको बुँदा ३१ मा विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्ने र तोकिएको स्थानमा मात्रै प्रदर्शन गर्न पाउने उल्लेख गरेका थिए। साही योजना कार्यान्वयनका क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो।