न्याय पाउन सक्लान् त यस्तो व्यवस्थाले ?

न्याय पाउन सक्लान् त यस्तो व्यवस्थाले ?

साझा बसमा एयरपोर्टबाट रत्नपार्कतर्फ आउँदै थिएँ। मअगाडिको सिटमा दुईजना केटा गफिँदै थिए। एउटाले भन्यो, ‘अब त केटाहरूलाई सजिलो हुने भयो नि। आफूले चाहेको बेलामा डिभोर्स गर्न मिल्ने अनि बूढीले डिभोर्स गर्न खोजी भने सम्पत्ति पनि दिनुनपर्ने। यो कानुन त पहिल्यै बन्नुपर्दथ्यो काइदा हुन्थ्यो। बाहिरकीलाई भित्र र भित्रकीलाई बाहिर गर्न नि सजिलो हुने यार।’

म एकछिन अल्मलिए पनि यसको अर्थ सोझो थियो। घरमा श्रीमती हुँदाहुँदै बाहिर पनि केटी राख्नेहरूतर्फ लक्षित थियो कुराकानी। उनीहरूको यो कुराले एकछिन सोच्न बाध्य भएँ म पनि। अहिले त्यस्तै कानुन ल्याउने प्रस्ताव भएको छ रे। के साँचो अर्थमा महिला र पुरुष दुवैले न्याय पाउन सक्छन् त यस्तो कानुनले ?       दाइजो नल्याएको भनेर महिलालाई घरबाट निकाल्ने, छोरी पाएकोमा अपमान गर्ने, सौता हाल्ने संस्कार भएको समाजमा यो कानुनले कत्तिको न्याय गर्न सक्ला ?

अहिलेको प्रसंगलाई हेर्दा घरको पीडा सहन नसकेर छोडपत्र गर्न खोज्ने महिला पनि धेरै छन्। श्रीमान्ले आफूप्रति गरेको अन्यायको विरुद्धमा आवाज उठाउँदा परिवार र समाजले महिलामाथि नै औंला ठड्याएपछि सम्बन्ध-विच्छेद गर्न खोज्ने महिलाको संख्या कैयौं गुणा बढी छ, बिहे गरेर सम्पत्तिको लागि सम्बन्ध-विच्छेद गर्न खोज्ने महिलाको भन्दा। महिलाले एकपछि अर्को गर्दै बिहे गर्ने र सम्बन्ध-विच्छेद गर्ने अनि श्रीमानको आधा सम्पत्ति कुम्ल्याउने गरेका घटना पनि छन्, तर यस्ता घटनालाई अपवादका रूपमा मात्रै लिन मिल्छ। पछिल्लो समयमा देखिएका घटना हुन् यी। विदेश गएका केही पुरुष पत्नीपीडित पनि हुन पुगेका छन् तर यसो भन्दैमा सबै अवस्थामा महिलाको गल्ती हो भन्न मिल्दैन।

शदीयौंदेखि पीडित रहँदै आएका महिलाको अवस्था रातारात स्धार हुने हुँदै होइन। पुरुषवादी सोच हावी भएको हाम्रो समाजको संरचनाले पनि महिलालाई पीडित बनाइहेको छ। जबसम्म महिला र पुरुष बराबरी हुन् भन्ने कुरा व्यवहारमा पनि देखिँदैन, तबसम्म यस्तो अवस्था चलिरहन्छ। कतिपय परिवार वा समाजमा महिला पुरुषसरह छन् वा पुरुषभन्दा पनि अगाडि छन् तर यो केहीमा मात्रै सीमित छ। अहिले पनि सम्पत्तिमाथि महिलाको अधिकार व्यावहारिक रूपमा कार्यान्वयन हुन सकेको छैन। महिलाका लागि सबै कानुन नराम्रा छन् भन्ने होइन तर कानुनलाई कार्यन्वयन गर्न निकै चुनौती बनिरहेको छ। कानुनलाई हाम्रो समाजले पूर्ण रूपमा स्वीकार्न आनाकानी गरिरहेकोे अवस्था छ अझै पनि।

सामाजिक प्रचलनले महिला र पुरुष बीचमा ठूलो खाडल तयार गरिदिएको छ। पुरुषलाई मालिक अनि महिलालाई उसको सहयोगीका रूपमा व्याख्या गरिदिएको छ। सयौं महिला हिंसाका घटना दर्ता हुँदा पुरुष हिंसाका एकदुईवटा भन्दा बढी घटना दर्ता भएको देखिँदैन। यस अर्थमा पनि महिलाको जस्तो नाजुक अवस्था पुरुषको छैन भन्ने देखिन्छ। पुरुषलाई समाजले प्र श्रय दिएकाले पनि महिलाको अवस्थाभन्दा धेरै माथि छ पुरुषको अवस्था। हाम्रो अहिलेसम्मको परिवेशलाई हेर्दा महिलाबाट पुरुषप्रति हुने हिंसा अपवाद हुन् भन्ने बुन सकिन्छ।

शदीयौंदेखि पीडित रहँदै आएका छन् महिला। पीडक बन्योे हाम्रो पितृसत्तात्मक सोच। सम्बन्ध-विच्छेदका लागि महिलाले कानुनी रूपमा सहजता पाएका हुन् तर समाजले सहजता भने कदापि दिएको छैन। हामीले अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने महिलाले लोग्नेसँग बस्न नसक्ने अवस्था भएपछि मात्रै सम्बन्ध-विच्छेदका लागि अगाडि बढेका उदाहरण छन् केही अपवादबाहेक।

महिलाले लोग्नेसँग बस्न नसक्ने अवस्था भएपछि मात्रै सम्बन्ध-विच्छेदका लागि अगाडि बढेका उदाहरण छन् केही अपवादबाहेक।

एकजना अग्रज महिला अधिकारकर्मी महिलाले ५५ वर्षको उमेरमा सम्बन्ध-विच्छेद गरिन्। नाम उल्लेख नगर्न उनले अनुरोध गरेकोले उनको नाम उल्लेख गर्न सकिएन। उनको माइतीले दिएको घर थियो, शिक्षित छिन् र दुई सन्तानकी आमा पनि। ५५ वर्षमा सम्बन्ध-विच्छेद गरिन्। बुढेसकालमा सम्बन्ध-विच्छेद गरेकाले उनको अर्को व्यक्तिसँग घरजम गरेर बस्ने उमेर पनि छैन। न त श्रीमान्को सम्पत्ति पाउँछु र मोज गर्छु भन्ने सोच नै उनका लागि उपयुक्त हुन्छ।

पीडा सहन नसकेरै सम्बन्ध-विच्छेद गरिन् सायद। यस्ता धेरै महिला छन्, जसले सम्पत्तिका लागि होइन अत्याचार सहन नसकेर सम्बन्ध-विच्छेद गर्न अदालतको ढोका ढक्ढकाउँछन्। अझै पनि श्रीमान्सँग छुट्टिन खोज्दा घरपरिवार, माइती र समाज कसैले पनि साथ दिँदैन हतपत। पीडिकले म पीडक हुँ भनेर कहिल्यै पनि स्विकार्दैन यो सत्य हो। केही अपवादबाहेक अहिले पनि हरेक ठाउँमा वास्ताविक पीडित महिला छन्।

हाम्रो पितृसत्तात्मक समाजमा महिलाभन्दा पुरुषका कुरामा विश्वास गर्ने प्रचलन छ। एउटी अशिक्षित महिला श्रीमान्सँग आफ्नो जीवनको उर्वर समय बिताएर आरामपूर्वक जीवन गुजार्ने बेलाकी महिलाले सम्बन्ध-विच्छेद गरेपछि उसले श्रीमान्को सम्पत्ति पाउँदिनँ भने बाँकी जिन्दगी उसले कसरी बिताउन सक्छे ? बाहिर कमाउने उमेर र शक्ति हँदैन ऊसँग। उर्वर समय त्यही श्रीमान् र बालबालिकाका लागि भनेर बिताइसकेकी हुन्छे, जिन्दगीभर आम्दानी नहुने घरायसी काममा आफूलाई समर्पित गरेकी हुन्छे, जसले गर्दा उसको आर्थिक हैसियत नाजुक हुन्छ।

एउटी महिला बिहे गरेर आउँदा सबै छोडेर केवल ऊ एक्लै आएकी हुन्छे। हाम्रो समाजमा यदि कमाउने श्रीमती छ भने पनि उसको आम्दानीमा श्रीमानले नियन्त्रण गरेको हुन्छ। पुरुष यसरी महिलाको आम्दानीको पनि मालिक बन्छ। अशिक्षित परिवारमा मात्र होइन, शिक्षित परिवारमा पनि यही अध्यास हुँदै आएको छ। कतिपय शिक्षित महिलाको पनि यही अवस्था हुन्छ। यस्तो अवस्थामा अझै पनि महिलाले आफ्नो नाममा सम्पत्ति जोड्न सक्ने सम्भावना रहँदैन। माइतीले श्रीमान्को सम्पत्ति महिलाको पनि हुने तर्क गर्छ। अहिले जग्गा पास महिलाको नाममा गर्दा सहुलियत हुने कारण महिलाको नाममा गरिए पनि त्यसमा नियन्त्रण भने पुरुषको नै हुने गरेको छ। उत्पादनशील उमेर श्रीमान् उसको परिवारको लागि खर्चेर बुढेसकालमा सडकपेटीमा बस्नुपर्ने बाध्यता नरहोस्, अब ल्याउने नयाँ कानुनका कारण।

(ढकाल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय समाजशास्त्र विभागमा एम.फिल. अध्ययनरत छिन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.