बालुवा अभावले निर्माण प्रभावित

बालुवा अभावले निर्माण प्रभावित

काठमाडौं :  पछिल्लो समय काठमाडौं र वरपरको निर्माण क्षेत्र बालुवा अभावले प्रभावित भएको छ। त्रिशूली नदी सफा बनाउने अभियान सञ्चालन भएसँगै बालुवाको विकल्प नहुँदा सबैजसो निर्माण क्षेत्र प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले बताए।

त्रिशूली नदीमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) करिब एक महिनादेखि बन्द भएका छन्। काठमाडौंमा आउने बालुवाको ८० प्रतिशत हिस्सा धादिङ र नुवाकोटतर्फको त्रिशूली नदीबाटै भएकाले पनि अहिले एक्कासि बन्द हुँदा यसको प्रभाव सामग्री निर्माण क्षेत्रमा परेको उल्लेख छ।

श्रेष्ठका अनुसार अहिले काठमाडौंमा दैनिक दुई सयभन्दा बढी ट्रक बालुवा धादिङबाटै आइरहेकोमा पछिल्लो समय बन्द हुँदा अभाव भएको हो। अहिले बालुवा नभएर पुल, ढलाल, घर तथा भवन निर्माणसहित बालुवा प्रयोग हुने सबैजसो काम प्रभावित भएका छन्। धेरैजसो निर्माणका काम बालुवा नपाएरै बन्द भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार अहिले निर्माणको पिक आवर भएकाले कुनै विकल्पबिना बालुवा आउने ठाउँ बन्द गर्दा व्यक्तिको घर निर्माणदेखि ठूला आयोजनासम्म प्रभावित हुन पुगेका हुन्।

धेरैजसो ठेक्का मंसिरदेखि माघसम्म निस्कने र त्यसपछि काम गर्ने समय असार मसान्तसम्म हुने भएकाले अहिले वैशाखदेखि असारसम्म पिक आवर भएको महासंघका महासचिव रामशरण देउजाले बताए। देउजाका अनुसार निर्माण क्षेत्रले प्रयोग गर्ने वस्तु अभाव हुँदा आयोजना प्रभावित हुन पुगेको हो। सम्बन्धित क्षेत्रका स्थानीय सरकारले विकल्पबिना एक्कासि बालुवा रोक्दा समस्या भएको हो। काठमाडौं निर्माण क्षेत्रमा प्रयोग हुने सामग्री वरपरबाट नै आउने र धेरै टाढाबाट ल्याउँदा लागत बढ्ने भएकाले पनि समस्या भएको हो।

चक्रपथ निर्माणको काम रोकियो

बालुवा अभावले कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तारको काम अन्तिम चरणमा आएर रोकिएको छ। बालुवा अभावले चक्रपथ विस्तारको काम एक महिनादेखि प्रभावित भएको सडक विभागअन्तर्गत वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए। उनले भने, ‘बालुवा अभावका कारण चक्रपथ निर्माणको गति रोकिएको हो। चक्रपथ विस्तारको मूख्य काम भइरहेको भए पनि दायाँबायाँ भइरहेको काम बालुवा अभावले रोकिएको उनको भनाइ छ।

चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीका अनुसार यो सडकको काम सकिन करिब ३५ सय क्युबिक मिटर बालुवा आवश्यक पर्छ। हामीसँग जम्मा एक हजार क्युबिक मिटर मात्रै रहेकाले पनि गति घटेको हो। स्टकमा रहेको एक हजार क्युबिक बालुवा सकिनै लागेकाले सडकको दायाँबायाँ निर्माण भइरहेका ढल, पर्खाल तथा फिनिसिङको काम प्रभावित भएको हो। अन्य स्थानबाट पनि बालुवाको स्रोत खोजी भइरहेको भए पनि अहिलेसम्म आवश्यक बालुवा नपाइएको उनको भनाइ छ। अहिलेसम्म कामको गति घटाएर र भएकै स्टक प्रयोग गरेर काम ठप्प भएको छैन। आयोजनाको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने समय पछाडि धकेल्न नदिन आफ्नो तर्फबाट आवश्यक प्रयास भइरहेको भण्डारीले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले निर्माण अगाडि बढिरहेकै समयमा सामग्रीको अभाव हुनु दुःखद भएको बताए। उनका अनुसार स्थानीय सरकारसँग यस विषयमा आवश्यक छलफल गरेर पुनर्निर्माण प्रभावित हुन नदिन पहल गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.