त्यो-जो जसरी आएको थियो, त्यसरी नै गयो

त्यो-जो जसरी आएको थियो, त्यसरी नै गयो

सिद्धार्थ गौतमबारे सोच्दा छक्कै पर्छु, जन्मको २५ सय वर्षपछि पनि कोही मानिस कसरी यसरी ‘सुपर हिट’ भएर बस्न सकेको होला ! 

के तपाईं भन्न सक्नुहुन्छ, आजभन्दा १० वर्षअघि दुनियाँको सबैभन्दा शक्तिशाली मानिस को थियो ? सबैभन्दा बिकेको किताब कुन थियो ? विश्वसुन्दरी को थिइन् ? सबैभन्दा धनी को थियो ? सुपरस्टार को थियो ? 

नसोची, नखोजी भन्न सक्नु भएन नि है ! सक्ने कुरा पनि थिएन । संसारमा देखिने हरसफलता र विफलता, समयकालको उत्पादन मात्र हो । हामी सबै, हाम्रा कुरा सबै एक निश्चित समय सीमाका साथ बाँधिएका छन् । उपलब्धि वा अनुपलब्धि, दुवैका रंग जतिसुकै गाढा भए पनि विस्तारै फिक्का पर्न थाल्छन् । १० वर्षअघिको ‘हिट’ मान्छे सम्झन त गाह्रो छ है !   

तर, जन्मको यत्तिका शताब्दीहरू पछि पनि सिद्धार्थ गौतमको चमकमा रत्तिभर कमी आएको छैन । उनको उज्यालो त झन्झन् बढ्दै पो छ त ! त्यो उज्यालोको छायामा बस्न चाहने मानिसको संख्या संसारमा हरदिन बढ्दो छ । 

बुद्ध त्यस्ता हुन् जसले आफूकहाँ आउनेसित ‘श्रद्धा’को एड्भान्स माग्दैनन् । बुद्ध त त्यस्ता हुन् जसले यो पनि भन्दैनन् ‘पहिला तिमी मप्रति श्रद्धा र विश्वासको किरिया खाऊ, अनि मात्र दिउँला । आस्थाको ‘पूर्वभुक्तानी’ गर अनि शिक्षा दिउँला । मेरा अगाडि शिर नुहाऊ, अनि मात्र मेरो दिउँला ।’

उनले त बरु सीधा शब्दमा भनेका छन्, ‘हे भिक्षु ! मैले भनेको भन्दैमा तिमीले केही पनि मान्नु पर्दैन । मेरा शब्दलाई आगोमा जलाएर, पानीमा डुबाएर र आकाशमा उडाएर हेर । त्यसपछि मात्र विश्वास गर ।’ 

उनले यति भन्दाभन्दै पनि, रोक्दारोक्दै पनि, एक दिन यस्तो आउँछ, जब साधकको शीर स्वतः निहुरिन्छ, बुद्धका प्रति प्रेमका कारण, अनुग्रहले भरिएर ।

गौतम बुद्ध आज झन् बढी सान्दर्भिक, झन् बढी ताजा प्रमाणित भएका छन् । यही ताजगीको खोजीमा आज परम्परागत मात्र होइन, आधुनिक संसारका पढेलेखेका एक–से–एक मानिसको ठूलो हिस्सा बुद्धप्रति आकर्षित भएको छ ।   

आज वैशाखको पूर्णिमा हो । वैशाखको पूर्ण चन्द्रसँग सिद्धार्थ गौतमको जीवन लोभलाग्दो किसिमले जोडिएको छ । वैशाख पूर्णिमाकै दिन सिद्धार्थले संसारमा जन्म लिए । वैशाख पूर्णिमाकै दिन उनी ज्ञान पाएर बुद्ध भए । र, कालान्तरमा वैशाख पूर्णिमाकै शुभ साइतमा उनी यो संसारबाट बिदा भए । 

तर, संसारबाट बिदा हुनुअघि उनले दिएको शिक्षा आज पनि त्यत्तिकै सान्दर्भिक छ, जति हिजोका दिनमा थियो । तुलना गरेको नठानियोस्, अन्य कतिपय धार्मिक र आध्यात्मिक गुरुको शिक्षा एक निश्चित कालखण्डपछि ‘आउट डेटेड’जस्तो प्रतीत हुन थाल्छ । समाजको वर्तमानसँग तिनको डोरी चुँडिएको पो हो कि भन्ने शंका हुन थाल्छ । तर, गौतम बुद्धका चाहिँ हमेशा ‘ताजा’ महसुस हुन्छन् । आज पनि उनी त्यति नै ‘ताजा’ लाग्छन् जति हिजो थिए वा जति भोलि हुनेछन् । 

साँच्चै भन्ने हो भने गौतम बुद्ध आज झन् बढी सान्दर्भिक, झन् बढी ताजा प्रमाणित भएका छन् । यही ताजगीको खोजीमा आज परम्परागत मात्र होइन, आधुनिक संसारको पढेलेखेका एक–से–एक मानिसको ठूलो हिस्सा बुद्धका प्रति आकर्षित भएको छ ।   

आज बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मभूमि नेपालमा हामीले केही नयाँ संकल्प गर्ने बेला पनि हो । ‘बुद्ध वाज बर्न इन् नेपाल’ भनेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्दैमा पुग्दैन । यदि बुद्धलाई हामी साँच्चिकै आफ्नो मान्छौं भने, उनका प्रति न्यूनतम कर्तव्य पूरा गर्ने जिम्मेवारीबाट हामी भाग्न पाउँदैनौं । बुद्धप्रति आफ्नो हक जनाउँदा हामी जुन आवाजमा नाराबाजी गर्छौँ, उनका प्रति न्यूनतम कर्तव्य पूरा गर्ने बेला चाहिँ हाम्रो थुतुनो खुल्न गाह्रो मान्छ ।   

लुम्बिनी विकास गुरुयोजना सुरु भएको यत्तिका दशकपछि पनि बुद्ध जन्मभूमि लुम्बिनीको जुन हालत छ, त्यहाँ पुग्ने सडकको जस्तो अवस्था छ, बुद्ध जन्मभूमि वरिपरि नै खुलेआम मांसाहार र मदिरापनको जस्तो सुविधा छ, देशभरि रहेका गुम्बाहरूको जुन अवस्था छ, भूकम्पले भत्केका–चर्केका गुम्बाको जुन अवस्था छ, त्यो कसैबाट छिपेको छैन ।

आज जे–जति थोरधेर जे भएको छ, त्यसमा सरकारको भन्दा बौद्धमार्गी सहयोगी हातको कयौं गुणा योगदान छ । नेपालका बौद्धमार्गी र तिब्बती लामाहरूको निजी योगदानले गर्दा केही काम नभएका होइनन् । तर, ती पर्याप्त छैनन् । बुद्ध जन्मभूमिप्रति सरकार र समाजको दायित्व एकदिने गोष्ठी र नाराबाजीले मात्र पूरा हुन सक्दैन । 

हामी  हिमाल र बुद्ध दुईथोकमा सर्वाधिक गर्व गर्छौं । तर, अपवादबाहेक हामी कुनै पनि हिमालको चुचोरो मुस्किलले चिन्छौं । बुद्धले के भनेका थिए ? कहाँ भनेका थिए ? उनको शिक्षा कस्तो प्रकारको थियो ? कति प्रकारको थियो ? हामीलाई सायदै थाहा होला । 

हाम्रो शिक्षा प्रणालीमा र पाठ्यपुस्तकमा बौद्ध शिक्षा र दर्शनको उपस्थिति हामीले बुद्धबारे संसारभरि लगाउने धाकको तुलनामा ज्यादै होचो छ । बुद्ध जन्मेको देशमा बौद्ध अध्ययन केन्द्रहरूको संख्या शून्यप्रायः छ । यी सब थोकमा सरकारले ध्यान नपुर्याई भएको छैन । यी कामहरू हामीले गौतम बुद्धका लागि होइन, आफू र आफ्नो सन्ततिको सुख–सन्तोषका लागि पनि गर्नुपर्छ । 

गौतम बुद्ध २५ सय वर्षपछि पनि संसारमा यति ‘सुपर हिट’ छन् किनभने उनको शिक्षा र त्यसको ‘ध्यान’का माध्यमबाट त्यसको अभ्यास मानव जीवनको आधारभूत प्रकृतिसँग जोडिएको छ । बोधी धर्मको हल्का छायामात्रले पनि मानिसको जीवनलाई बढी आनन्दित तुल्याइदिन्छ, किनभने यो प्राणीको आधारभूत विज्ञानसँग जोडिएको छ भन्ने विषयका वैज्ञानिक प्रमाणहरू धमाधम थपिँदै पनि छन् ।

हामी  हिमाल र बुद्ध दुईथोकमा सर्वाधिक गर्व गर्छौं । तर, अपवादबाहेक हामी कुनै पनि हिमालको चुचोरो मुस्किलले चिन्छौं । बुद्धले के भनेका थिए ? कहाँ भनेका थिए ? उनको शिक्षा कस्तो प्रकारको थियो ? कति प्रकारको थियो ? हामीलाई सायदै थाहा होला । 

बुद्धका सम्बन्धमा ओशोका शब्द हृदयस्पर्शी छन्, ‘बुद्ध जन्मको साथै, मनुष्य–जातिको एक नयाँ अध्याय सुरु भयो । २५ सय वर्ष पहिला बुद्धले जे भने आज पनि सार्थक महसुस हुन्छ, आउने सयकडौं वर्षहरूसम्म पनि सार्थक रहनेछ । बुद्धले जीवन, यसका समस्या र समाधानको जसरी सूक्ष्म विश्लेषण गर्नुभयो, त्यो न पहिला कहिल्यै गरिएको थियो, न कसैले गर्न सकेको छ । बुद्धले जीवनका समस्याहरूको उत्तर कुनै शास्त्रको आधारबाट दिनु भएन । सटिक विश्लेषणका माध्यबाट दिनुभयो । यसैले बुद्धलाई धर्मको पहिलो वैज्ञानिक भन्न सकिन्छ । बुद्धको धर्म विश्लेषणको धर्म हो । तर, यो सुरु मात्र विश्लेषणबाट हुन्छ । समाप्त त्यसैमा हुँदैन...।’

संसारमा गौतम बुद्धका असंख्य प्रेमी छन् । हामी उनलाई ‘शाक्यमुनि बुद्ध’ भनेर पनि बोलाउँछौ । शाक्यमुनि बुद्ध आफूलाई चाहिँ के भनेर बोलाउँथे त ? भगवान बुद्ध आफूलाई ‘तथागत’ भनेर परिचय दिन्थे । ‘तथा’ र ‘गत’ मिलेर बनेको शब्द ‘तथागत’ ।

तथागत शब्दको अर्थ हुन्छ– ‘त्यो जो– जसरी आएको थियो, त्यसरी नै गयो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.