छात्रवृत्ति लिन सामुदायिक विद्यालयमा

छात्रवृत्ति लिन सामुदायिक विद्यालयमा

काठमाडौं : सफल सामुदायिक विद्यालय मानिएको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु भएपछि कक्षा १ मा जम्मा ३० जना विद्यार्थीमात्र भर्ना भएका छन् तर कक्षा ९ मा ७५ जना भर्ना भएका छन्। बाँकी कक्षामा पनि थोरै संख्यामा मात्र विद्यार्थी भर्ना भएका छन्।

यो विद्यालयमा बर्सेनि पूर्वप्राथमिक र आधारभूत कक्षा (१–८) को तुलनामा कक्षा ९ मा भर्ना हुने विद्यार्थी संख्या धेरै हुन्छ। यसरी कक्षा ९ मा भर्ना हुने विद्यार्थीमध्ये अधिकांश निजी विद्यालयबाट आउँछन्। विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले भने, ‘सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले उच्च शिक्षा अध्ययनमा राज्यले दिने छात्रवृत्ति कोटामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाले गर्दा आधारभूत तह निजीमा पढेर कक्षा ९ मा सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेको छ।’

थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालयमा पनि कक्षा १ मा ८ जना मात्र नयाँ विद्यार्थी भर्ना भएका छन् तर कक्षा ९ मा भने २२ जना नयाँ विद्यार्थी भर्ना भइसकेका छन्। कक्षा ९ मा भर्ना हुने क्रम रोकिएको छैन। सामुदायिकबाट एसईई उत्तीर्ण गरे उच्च शिक्षा अध्ययनमा सरकारी सेवासुविधा र छात्रवृत्ति लिने अभिप्रायले यस्ता विद्यार्थीका अभिभावकले निजीबाट सामुदायिकमा भर्ना गराउँछन्।

अहिले माथिल्लो कक्षामा मात्र विद्यार्थी बढ्दा अध्यापनमा अब्बल मानिएका सामुदायिक विद्यालयहरूलाई व्यवस्थापन गर्न समेत कठिन भएको छ। पूर्वप्राथमिक र आधारभूत (१–८) कक्षाका विद्यार्थी कुनै पनि विद्यालयका आधार मानिन्छ। ती कक्षामा भर्ना हुनेको संख्या निरन्तर घट्ने र कक्षा ९ मा मात्र भर्ना संख्या बढ्दा शिक्षक व्यवस्थापन गर्न पनि सामुदायिक विद्यालयलाई चुनौती बन्दै गएको छ।

पुतलीसडकस्थित पद्मोदय माविमा पनि यस वर्ष कक्षा ९ मा भर्ना विद्यार्थीमध्ये अधिकांश निजीबाटै आएका छन्। आधारभूत तह निजी विद्यालयमा अध्ययन गरी छात्रवृत्तिलगायत सरकारले दिने सुविधा उपभोग गर्न सामुदायिकमा भर्ना गराउने प्रवृत्ति अभिभावकमा देखिएको पद्मोदय माविका नेपाली शिक्षक नारायण गौतमको भनाइ छ। उनले भने, ‘पछिल्ला दिन निजीलाई कडा प्रतिस्पर्धा दिएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी त बढेका छन् तर आधारभूत कक्षाको तुलनामा माथिल्ला कक्षामा भर्ना हुनेको मात्र संख्या धेरै हुँदा ढुक्क हुने अवस्था छैन।’

गौतमका अनुसार विद्यालयमा यस वर्ष कक्षा ९ मा २० जना र कक्षा ८ मा १० जना मात्र नयाँ विद्यार्थी भर्ना भएका छन्। यी सबै विद्यार्थी निजी विद्यालयबाट आएका हुन्। उनले भने, ‘९ कक्षामा भर्ना भएकामध्ये अधिकांशलाई उच्च शिक्षा अध्ययनको छात्रवृत्तिमा सहज प्रतिस्पर्धा गराउने अभिभावकको उद्देश्य देखिन्छ।’ साना कक्षामा भर्ना हुने नयाँ विद्यार्थी पनि हरेक कक्षामा ५÷५ जनाभन्दा धेरै छैनन्। ‘सरकारले कक्षा ६ वा ७ देखि सामुदायिकमा अध्ययन गरेकालाई मात्र सरकारी छात्रवृत्तिमा प्रतिस्पर्धा गर्ने वा अन्य सुविधा दिने नीतिगत व्यवस्था गरे यस्तो प्रवृत्ति घट्नुका साथै सामुदायिकमा आकर्षण बढाउन सकिन्छ’, ज्ञानोदय माविका प्रधानाध्यापक महर्जनले भने।

बालाजुस्थित तरुण माविकी प्रधानाध्यापक प्रमिला काफ्लेले भनिन्, ‘माथिल्ला कक्षामा भर्ना हुनेमध्ये धेरै विद्यार्थी निजीबाटै आउँछन्। र, उनीहरूको एकमात्र उद्देश्य पनि सरकारी सहुलियत कसरी लिने भन्ने नै हुन्छ।’ सार्वजनिक शिक्षा सुधारमा राज्यले ध्यान दिने हो भने सरकारी छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न कक्षा ५ देखि नै सामुदायिक विद्यालयमा अध्ययनको नीतिगत व्यवस्था गर्नुपर्ने काफ्लेको धारणा छ। यो शैक्षिक सत्रमा अहिलेसम्म कक्षा १ मा १५ जना मात्र भर्ना भएका छन् भने कक्षा ८ र ९ मा क्रमशः ६० र ३० जना नयाँ विद्यार्थी भर्ना भएका छन्। विद्यार्थीको चाप धेरै हुने डिल्लीबजारस्थित पद्मकन्या मावि, मध्यबानेश्वरस्थित रत्नराज्य मावि, थानकोटस्थित कंकालिनी मावि, ललितपुरको नमुना मच्छिन्द्र, आदर्शशौललगायत विद्यालयमा पनि कक्षा ८ र ९ मा नै धेरै विद्यार्थी भर्ना भएका छन्।

शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थीको जग निर्माण गर्न र अनुशासित बनाउन अभिभावकहरूले निजी विद्यालयमा छोराछोरी अध्यापन गराए पनि छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गराउनकै लागि सामुदायिक विद्यालयमा लैजाने परिपाटी बसेको बताए। ‘कुरा स्पष्ट छ। आमाबाबुले तह लगाउन निजीमा छोराछोरी भर्ना गरेका हुन्। सरकारी छात्रवृत्ति खानकै लागि सामुदायिकमा भर्ना गरिएको हो’, उनले भने, ‘छात्रवृत्तिसम्बन्धी अहिलेको सरकारी नीति परिवर्तन गरे यो समस्या हट्छ। यसमा सरकारले ध्यान दिनै पर्छ।’

शिक्षा मन्त्रालयको योजना महाशाखाका सहसचिव वैकुण्ठ अर्यालले छात्रवृत्तिकै लागि मात्र भर्ना हुने क्रम बढ्नु पनि सामुदायिक विद्यालयमा आउनु पनि एउटा आकर्षक पक्ष रहेको बताए। ‘छात्रवृत्तिमा प्रतिस्पर्धा गर्नकै लागि कक्षा ९ मा भर्ना भएका हुन् र तल्लो कक्षादेखि नै पढ्नेलाई मात्र यस्तो छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न दिनुपर्ने सुझाव आए छलफल गर्न सकिन्छ’, उनले भने, ‘हामीले स्कुलमै गएर यसबारे अहिलेसम्म अध्ययन गरेका छैनौं। तर वास्तविकता यस्तै हो भने सोच्नुपर्छ।’

यस्तो छ छात्रवृत्तिको व्यवस्था

सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले कक्षा ११ देखि स्नातकोत्तर तहसम्मको अध्ययनको छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाउँछन्। निजीमा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। शिक्षा मन्त्रालय उच्च शिक्षा तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमका अनुसार एमबीबीएस, इन्जिनियरिङ, वन विज्ञान, डेन्टल, कृषि, भेटरिनरीलगायत सबै विषयमा छात्रवृत्तिमा अध्ययन गर्न सामुदायिक विद्यालयबाट नै विद्यालय तह उत्तीर्ण गरेको हुनुपर्छ।

नियमअनुसार कक्षा ११ र १२ अध्यापन गराउने निजी विद्यालयले कुल भर्ना भएका विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्तिमा पढाउनुपर्छ। यस्तो छात्रवृत्ति पनि सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले मात्र पाउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.