त्रिविको सिनेट स्थगित

त्रिविको सिनेट स्थगित

‘उपकुलपतिले झुटो जानकारी दिए’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको सिनेट (सभा) को बैठक स्थगन भएको छ । आइतबार बिहान ९ बजे बस्ने बैठक त्रिविका उपकुलपति प्राडा. तीर्थराज खनियाँले साढे ९ बजे स्थगन भएको घोषणा गरेका थिए । स्वास्थ्य समस्याका कारण विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली उपस्थित हुन नसकेकाले बैठक स्थगन भएको घोषणा उनले गरेका थिए ।

त्रिविका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीको सन्देश पठाएपछि प्राडा खनियाँले बैठकका लागि उपस्थित अन्य सभासद्लाई सोको जानकारी गराएका थिए । हालका उपकुलपति खनियाँ कांग्रेसनिकट, शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठी एमाओवादी र रजिस्ट्रार एमालेको कोटाबाट नियुक्त भएका हुन् । सिनेटमा प्रस्तुत गरिने एजेन्डामा असहमति जनाउँदै बैठक स्थगन गराएको अन्य सभासद्ले आरोप लगाएका छन् ।

प्रधानमन्त्री कार्यालयले त्रिविका पदाधिकारीले अस्पष्ट एजेन्डा देखाएर आफूलाई अलमल्याउन खोजेकाले प्रधानमन्त्री बैठकमा उपस्थित नभएको स्पष्ट पारेको छ । ‘प्रधानमन्त्रीलाई बुझाइएको कार्यसूचीमा थप अध्ययन गर्नुपर्ने देखिएकाले प्रधानमन्त्रीज्यू नजानुभएको हो । यस विषयमा हामीले शनिबार साँझ नै त्रिविका उपकुलपतिलाई जानकारी गराइसकेका थियौं’, प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘बिरामीको कारण देखाएर प्रधानमन्त्री बैठकमा नआएको भन्ने उपकुलपतिले गराएको जानकारी झुटो कुरा हो । शनिबार साँझ नै थाहा पाइसकेको कुरालाई आइतबार बिहान ९ बजेसम्म पनि सभासद्लाई खबर नगर्नु उहाँको कमजोरी हो ।’

‘यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा उहाँ अनुपस्थित भए पनि उपकुलपतिलाई अध्यक्षता गरेर बैठक गर्नू भन्ने निर्देशन आएको थियो तर यसपटक भएन’, उपकुलपति खनियाँले भने, ‘हिजो (शनिबार) पनि प्रधानमन्त्रीज्यूलाई भेट्न ३ घण्टा कु¥यौं तर सम्भव नभएपछि फक्र्यौं ।’

त्रिवि सिनेटको मिति, समय र त्यहाँ प्रस्तुत हुने एजेन्डाबारे प्रधानमन्त्रीलाई १५ दिनअघि नै जानकारी गराइएको उपकुलपति खनियाँले दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूसँग परामर्श गरी अर्को बैठकको तयारी गर्छौं ।’ त्रिविमा वर्षे र हिउँदे गरेर एक वर्षमा दुईपल्ट सिनेट बैठक बस्छ । आइतबार तय बैठक हिउँदे हो । यसलगत्तै साउन ५ गते वर्षे बैठकको मिति तय भइसकेको छ ।

आइतबारको बैठकका लागि एउटै श्रेणीमा सेवा अवधि १५ वर्षभन्दा बढी तर अवकाश पाउन एक महिना बाँकी रहे तथा १५ वर्षसम्म सेवा अवधि पुगेर निवृत्तिभरण पाउने अवस्था भएकाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका उपप्राध्यापक तथा उपप्रशासकलाई एक श्रेणी बढुवा गर्ने प्रस्ताव ल्याइएको थियो । त्यस्तै, त्रिवि प्राध्यापक संघको सभापतिको कार्यकाल सकिएपछि पनि कलेजमा हाजिर नगरी राजनीति गरिरहेका योगेन्द्रनारायण बडबरियाको हाजिरी अनुमोदन गरी थमौती गर्ने प्रस्ताव पनि बैठकमा पेस गर्ने योजना त्रिविको थियो । सबै प्रस्ताव उपकुलपतिको अध्यक्षतामा बस्ने कार्यकारी परिषद्को बैठकले पारित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.