भूकम्पमा जोगिएका विद्यालय पनि भत्काइने

भूकम्पमा जोगिएका विद्यालय पनि भत्काइने

सरकार आफैंले भत्काउँछ, बनाउँछ

 

काठमाडौं : भूकम्पमा जोगिएका तर कमजोर संरचना भएका विद्यालय भवन सरकार आफैंले भत्काएर पुनर्निर्माण गर्ने भएको छ । बाहिरी रूप राम्रो देखिए पनि भूकम्पीय दृष्टिले जोखिमयुक्त विद्यालयको आवश्यकताअनुसार पुनर्निर्माण र रेट्रोफिटिङ गर्न लागिएको भूकम्पप्रभावित विद्यालयको पुनर्निर्माणको जिम्मेवारी लिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू)ले जानकारी दिएको छ ।

भूकम्पबाट जोगिए पनि भविष्यमा आउन सक्ने सानो धक्काबाटै भत्किन सक्ने खतरा भएका विद्यालय बनाउन लागिएको हो । पहिलो चरणमा भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लाका विद्यालयलाई पुनर्निर्माण तथा रेट्रोफिटिङका लागि प्राथमिकतामा राखिएको छ । अन्य जिल्लामा पनि यो कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको सीएलपीआईयूका आयोजना उपनिर्देशक दिलीपशेखर श्रेष्ठले बताए ।

भूकम्पबाट धादिङ, नुवाकोट, गोरखा, रसुवा, चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, रसुवा, काठमाडौं, भक्तपुर र ललितपुरका धेरै विद्यालयमा क्षति पुगेको थियो । यी सबै जिल्लामा गरेर पाँच हजार सात सय ६० वटा विद्यालयमा क्षति पुगेको थियो ।

यी विद्यालयमा पुनर्निर्माण प्रक्रिया यसअघि नै सुरु भइसके पनि भूकम्पले क्षति नपु¥याएको तर जोखिमयुक्त संरचना भएका करिब पाँच सय विद्यालय भत्काएर बनाउनुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताए । भूकम्पले नभत्किएको तर जोखिम रहेका कारण भत्काएर पुनर्निर्माण गर्नुपर्ने एक सय ८० र रेट्रोफिटिङ गर्नुपर्ने एक सय ५० वटा विद्यालय छनोट भइसकेका छन् । त्यसमध्ये अधिकांश विद्यालय ढुंगामाटोबाट बनेको तथा जोखिम संरचनायुक्त छन् ।

पुनर्निर्माणका लागि छानिएकामध्ये ६७ वटा पहिलो चरण र १३ वटा विद्यालय दोस्रो चरणमा निर्माण हुनेछन् । रेट्रोफिटिङ गर्नुपर्ने एक सय ५० वटा विद्यालयलाई पनि आवश्यकताका आधारमा प्राथमिकता दिएर पहिलो र दोस्रो चरणमा काम सम्पन्न गरिनेछ ।

न्यूनतम दुई सय विद्यार्थीले अध्ययन गरिरहेको, कुल विद्यार्थी संख्याको २० प्रतिशत दलित, जनजाति तथा छात्राले अध्ययन गरिरहेका विद्यालयलाई मात्र पुनर्निर्माण र रेट्रोफिटिङका लागि छानिएको        श्रेष्ठले बताए । ‘दाताले रकम दिनुअघि नै यस्तो सर्त राखेको थियो । सोहीअनुसार विद्यालय छानेका हौं’, उनले भने ।

१४ जिल्ला पहिलो प्राथमिकतामा

आवश्यकताअनुसार पुनर्निर्माण र रेट्रोफिटिङ

पुनर्निर्माणका लागि एक सय ८० र रेट्रोफिटिङका लागि एक सय ५० विद्यालय छनोट

एडीबीको आर्थिक सहायता

विद्यालय पुनर्निर्माण र रेट्रोफिटिङका लागि लाग्ने एक सय ९९ मिलियन अमेरिकी डलर रकम एसियाली विकास बैंक (एडीबी)ले सहयोग गर्ने भएको छ । ‘सहयोग सम्झौता भएर पहिलो चरणमा छानिएका ६७ विद्यालयको डिजाइन र पुनर्निर्माणका लागि लाग्ने रकमको समेत आकलन गरिसकेका छौं’, उनले भने, ‘ठेकेदार छनोटको तयारीमा छौं ।’

भूकम्पबाट मुलुकभरका नौ हजार विद्यालयमा क्षति पुगेको थियो । त्यसमध्ये तीन हजार ६ सय १३ वटाको पुनर्निर्माण भइसकेको छ । एक हजार सात सय १९ वटा पुनर्निर्माणको क्रममा र तीन सय २८ वटा विद्यालय निर्माणका लागि छनोट भएको आयोजनाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.