पालले छोपेको फोहोरदेखि भारतीय मिडियाको हर्कतसम्म : मोदीको पशुपति यात्राका रोचक १० दृश्य
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको दोस्रो दिन पनि धार्मिक तथा राजनीतिक कार्यक्रमहरूमा व्यस्त छन्। जनकपुरबाट सुरु भएको उनको धार्मिक भ्रमण मुक्तिनाथ हुँदै शनिबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेको छ। उनले बिहान पशुपतिनाथ पुगेर विशेष पूजाअर्चना गरे। राजनीतिक भेटघाट र नागरिक अभिनन्दन त छँदैछ।
मोदी पशुपतिनाथ मन्दिर पुगेपछिका केही दृश्य रोचक थिए, जुन हामी तपाईँलाई देखाउँदैछौँ।
१. फर्किफर्कि नमस्कार
पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेपछि फर्कने क्रममा प्रधानमन्त्री मोदीले अगाडि बढ्दै फेरि पछाडि फर्किँदै नमस्कार गरिरहेका थिए।
२. दर्शनार्थी लखेटिए
मोदी पशुपतिनाथ आइपुग्नु १ घण्टा ४० मिनेट अघिदेखि पशुपतिनाथ मन्दिर खाली गरिएको थियो। शनिबारको दिन विहानैदेखि पशुपतिनाथ मन्दिरको दर्शन गर्न लाइन बसेका दर्शनार्थीलाई प्रहरीले सिटी बजाएर बाहिर जान आदेश दिइरहेका थिए।
३. प्रहरीलाई मोदी हेर्न निषेध
प्रधानमन्त्री मोदी पशुपतिनाथ दर्शन गर्न पुगेका बेला सुरक्षार्थ खटिएका प्रहरीलाई विपरीत दिशातर्फ फर्काएर सुरक्षार्थ तैनाथ गरिएको दृश्य पनि रोचक थियो। प्रहरीले मोबाइलबाट फोटो र भिडियो खिच्ने तथा सुरक्षाको साटो रमिता हेर्ने भएको टिप्पणी यदाकदा भइरहेका बेला प्रहरीलाई विपरीत दिशातर्फ फर्काएर तैनाथ गरिएको दृश्य रोचक देखिन्थ्यो।
४. भारतीय मिडियाले गराए स्वस्ती वाचन
मोदीको पूजा सकिएपछि मन्दिरबाट फर्किएका बटुकहरू बटुलेर भारतीय मिडियाले गराएको स्वस्ती वाचन हेर्न लायक थियो। स्वस्ती वाचनको भिडियो फुटेज खिच्न तछाड मछाड गरिरहेको अर्को दृश्य रमाइलो नहुने कुरै थिएन।
५. हतारमा बिच्छ्याइयो नयाँ रातो कार्पेट
मोदी पशुपतिनाथ मन्दिर पुग्नु केही अघिमात्र त्यहाँ नयाँ रातो कार्पेट हतारहतार बिच्छ्याइएको थियो।
६. अन्तिम मिनेटसम्म सफाइ
मोदी पुग्नु केही मिनेट अघिसम्म कुचिकार र सफाइ गर्ने कर्मचारी पशुपतिनाथको गेटमा सरसफाईमै व्यस्त थिए।
७. धमलालाई छैन धक
पशुपतिनाथको दक्षिणी गेटअगाडि पत्रकारहरूलाई सुरक्षा घेरामा राखिएको भए पनि पत्रकार ऋषि घमलालाई भने रोकतोक थिएन। धमला सुरक्षाअधिकारीहरूसँग हात हल्लाइ हल्लाई कुरा गरिरहेका देखिन्थे।
८. पालले छोपियो फोहोर
पुननिर्माणको क्रममा थुपारिएको निमार्ण सामाग्री हतारमा पालले छोपेर राखिएको थियो। दर्शनार्थीलाई मन्दिर परिसरबाट हटाएपछि पशुपतिनाथ सुनसान देखिन्थ्यो।
९. हट्यो कारकेट
उच्च सुरक्षा साइरनसँगै बुलेटप्रुफ कारकेटमा हिड्ने मोदी पशुपतिनाथ मन्दिर अगाडि एउटा मात्रै गाडी चढेर पुगेका थिए। उनका साथमा चारै दिशामा पिएसओको लर्को थियो।
१०. फुलैफुल
पशुपतिको गेट फुलैफुलले ढपक्क ढाकिएको थियो।
प्रतिक्रिया दिनुहोस !