काल बन्दै बाटो : एक वर्षमा ३० जनाको ज्यान गयो

काल बन्दै बाटो : एक वर्षमा ३० जनाको ज्यान गयो

जाजरकोट ः घटना १ ः जिल्लाको नलगाड–५ ऐरारीका ५५ वर्षीय धनबहादुर सिंहको गत सोमबार भीरबाट लडेर मृत्यु भयो।घर फर्कने क्रममा भिरोलो बाटोबाट चिप्लिएर लडेका उनको घटनास्थलमै मृत्यु भयो।घर नजिकैको भीरबाट लड्दा करिब तीन सय मिटर तल उनी मृत फेला परेका थिए।

घटना २ ः फागुनमा बाटोमा पैदल यात्रा गर्ने क्रममा नलगाड–५ गेरेनी भीरमा माथिबाट आएको ढुंगा लागेर बारेकोट–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो।जिल्ला सदरमुकाम आउने क्रममा पैदल हिँडिरहेका बेला माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा घटनास्थलमै उनको ज्यान गयो।

घटना ३ ः चैतमा जंगलमा बाख्रा चराउन गएकी नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्माको पनि ढुंगा लागेर मृत्यु भयो।माथिबाट आएको ढुंगा लाग्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो।उनको टाउको र छातीमा चोट लागेको थियो।

घटना ४ ः नलसिङगाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको चैतमा मृत्यु भयो।नलगाड–५ गेरेनीस्थित नलसिङगाड तर्ने क्रममा लाप्कोबाट चिप्लिएर घटनास्थलमै उनको ज्यान गएको थियो।

यी केही प्रतिनिधिमूलक घटना हुन्।जाजरकोटमा हिँड्दा हिँड्दै ज्यान जानेको संख्या बढ्न थालेको छ।एक वर्षको अवधिमा हिँड्दा हिँड्दै यस जिल्लामा कम्तीमा ३० जनाको ज्यान गइसकेको छ।जिल्ला प्रहरी कार्यालयसँग पैदल यात्राका क्रममा ज्यान जानेको संख्या १३ मात्र छ।तर, स्थानीय तहका गाउँ तथा नगरपालिकाका अनुसार एक वर्षको अवधिमा ३० जनाको ज्यान गइसकेको छ।खबर गर्दा लडेर वा ढुंगा लागेर मृत्यु भएकाहरूको पोस्टमार्टम गर्नुपर्ने भएकाले प्रहरीलाई खबर नै नगरेर दाह संस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्यांक थोरै देखिएको हो।जिल्ला प्रहरी प्रमुख डीएसपी भावेश रिमालले जिल्ला प्रहरी कार्यालयमा रहेको तथ्यांक पोस्टमार्टम गरिएकाको मात्र हो।पोस्टमार्टम गर्ने झन्झटले प्रहरीलाई खबर नै नगरेर दाहसंस्कार गर्ने गरिएको छ।

‘जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अप्ठ्यारो र जोखिमपूर्ण छन्’, बारेकोट–५ का पृथीबहादुर नेपालीले भने, ‘माथि हेर्दा पूरै पहाड मात्र देखिन्छ तल सुसाउने खोला र नदी।हिँड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङै सिरिंग गर्छ।महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, भारी बोकेका मानिसलाई यो बाटो हिँड्न निकै सकस खेप्नुपर्छ।’ बारेकोट जाने बाटोमा भीरबाट खसेर तथा ढुंगा लागेर ५ जनाको ज्यान गइसकेको छ।जिल्ला सदरमुकामबाहेक गाउँ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन।

गाडी नपुग्दा स्थानीय पैदलै हिँड्न बाध्य छन्।गाउँ जोड्ने गोरेटो तथा घोडेटो बाटो साँघुरो, जीर्ण र जोखिमपूर्ण हुँदा मानिस मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य हुने गरेका छन्।जिल्लाको सबैभन्दा जोखिमपूर्ण बाटो कालीमाटीदेखि सेपुखोलासम्म छ।नलसिंहगाड जलविद्युत् आयोजनाको १२ किलोमिटर पहुँच मार्ग निर्माण गर्ने क्रममा पुरानोबाटो बन्द भएको र नयाँ घोडेटो बाटो नबनाउँदा मानिस भीरको बाटोमा हिँड्न बाध्य भएको उनले बताए।

‘कतिपय ठाउँमा पुल छैनन्, फड्केबाट खोला तर्नुपर्छ।कतिपय ठाउँका पुल एकदमै जीर्ण छन्।बाटो मर्मत सुधार हुन सकेको छैन।जसले गर्दा मानिसले अकालमा ज्यान गुमाइरहेका छन्’, नलगाड–१० का नरबहादुर ध्यारले भने, ‘स्थानीय बजारबाट गाउँ जाने बाटा जोखिमपूर्ण छन्।माथिबाट ढुंगा खस्ने हो कि तल खुट्टा चिप्लिने हो पत्तै हुँदैन।निकै सावधानी भएर हिँड्नुपर्छ।’ लडेर घाइते भएकाहरूले पनि तत्काल उपचार नपाउँदा ज्यान जाने गरेको उनले बताए।‘नजिक सुविधासम्पन्न अस्पताल छैनन्, टाढा जान यातायातको सुविधा छैन’, ध्यारले भने, ‘घरबाट निस्केको मान्छे फर्केर आउँछ कि आउँदैन चिन्ता गर्नुको विकल्प छैन।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.