कांग्रेस सांसदले भने: नेकपाका नेतामा दम्भ देखियो, बोल्दा ख्याल गर्नू
काठमाडौँः नेपाली कांग्रेसले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुमा दम्भ देखिन थालेको जनाएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद सञ्जयकुमार गौतमले दुई पार्टी मिल्नेबित्तिकै दम्भ देखाउन थालेको आरोप लगाए ।
‘एमाले–माओवादी एक भएकोमा बधाई छ, ठुला पार्टी मिलेकोमा बधाई तथा शुभकामना, समृद्ध नेपालका लागि यो राम्रो कुरा हो’, सांसद गौतमले भने, ‘तर नेकपा नेतामा दम्भ देखिन थाल्यो, यो कुरा सच्चिन जरुरी छ ।’
सांसद गौतमले नेपाली कांग्रेसलाई आफ्नो भूमिका, इतिहास, योगदान, हैसियत र देशका लागि दिएको हरेक योगदानका मोल थाहा भएको पनि जिकिर गरे । ‘हामी सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने छौँ । सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका रहन्छौँ’, गौतमले भने, ‘समृद्ध र सुखी नेपाल निर्माण गर्न प्रतिवद्ध छौँ ।’
सांसद गौतमले अहिले पनि नेपाली कांग्रेस नै सबैभन्दा ठुलो पार्टी रहेको तर्क गरे । ‘अहिले पनि सबैभन्दा ठुलो पार्टी कांग्रेस नै हो’, उनले भने, ‘संसदमा संख्या घटेको मात्रै हो । त्यसैले जिम्मेवार नेताहरुले बोल्दा ख्याल राखियोस् ।’