भारतमा आर्कबिशपको चिठीले विवाद
नयाँदिल्ली : भारतको दिल्लीका आर्कबिशप अनिल कुटोले ‘देशमा अशान्त राजनीतिक वातावरण’ भएको दाबी गर्दै चिठी लेखेपछि राजनीतिक विवाद बढेको छ ।उनले भारतमा अशान्त राजनीतिक वातावरण भएको बताउँदै यसबाट लोकतन्त्र र धर्मनिरपेक्षतामाथि खतरा भएको आरोप लगाएका छन् ।
उनले आगामी लोकसभाको चुनावभन्दा पहिले नै ‘देशका निम्ति प्रार्थना’ गर्न पनि आग्रह गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) की प्रवक्ता शाइना एनसीले ८ मेमा लेखेको पत्रको उनले विरोध गरेका छन् । उनले भने, ‘भारतमा जाति र सम्प्रदायलाई उकास्नु गलत हो । सही प्रत्याशी र पार्टीलाई मत दिनुहोस् ।’ उनले छद्मभेषी धर्मनिरपेक्ष शक्तिका विरुद्ध धर्मनिरपेक्ष शक्तिलाई मत दिन पनि आग्रह गरेका छन् ।
आर्कबिशप अनिलले सन् २०१९ मा हुने लोकसभा निर्वाचनसम्म प्रार्थना अभियान चलाउन पनि आदेश दिएका छन् । देशका नाममा प्रत्येक साता व्रत बस्न पनि उनले भनेका छन् । लोकसाको आगामी निर्वाचनसम्म उनले हरेक शुक्रबार व्रत बस्न भनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले पत्रसँगै उनले एउटा प्रार्थना पनि पठाएका छन् । त्यो प्रार्थना क्रिस्चियन धर्मावलम्बीको साप्ताहिक सामूहिक प्रार्थना सभामा पढ्नुपर्ने उनको आग्रह छ ।
हाल भारतमा अशान्त राजनीतिक वातावरण देखिरहेको चर्चा गर्दै यो भारतीय संविधान र लोकतान्त्रिक सिद्धान्तविरुद्ध भएको उनको दाबी छ । यसबाट भारतमा धर्मनिरपेक्षतामा कठिनाइ भएको उनले आरोप लगाएका छन् । उनले चिठीमा लेखेका छन्, ‘देश र राजनेताका लागि सधैं प्रार्थना गर्नु हाम्रो प्रतिष्ठित परम्परा हो । चुनाव आएका बेला यो गर्नु अत्यावश्यक पनि छ ।’
उनले सन् २०१९ को बारेमा सोच्नुपर्ने र यसबाट भारतमा नयाँ सरकार आउने बताएका छन् । नयाँ सरकारका लागि १३ मेदेखि क्रिस्चियन धर्मावलम्बी र उनीहरूका धर्मगुरुले प्रार्थना अभियान शुरु गर्नुपर्ने स्पष्ट पारेका छन् ।
क्रिस्चियन धर्मावलम्बीको प्रार्थना सभामा पढ्न दिइएको पत्रमा भनिएको छ, ‘हाम्रो चुनावमा परमात्माले वास्तविक लोकतन्त्रवादीको विजय गराउनुहोस् । हाम्रा राजनेताको अन्तरात्मा प्रकाशित होस्... प्रभु पिता (परमात्मा), बादलले सत्य, न्याय तथा स्वतन्त्रताको प्रकाश छोपेको मुस्किलको यो क्षणमा यही हाम्रो पुकार छ ।’ हाल आर्कबिशपको कार्यालयले यो प्रार्थनाका पछाडि कुनै पनि राजनीतिक उद्देश्य नभएको बताएको छ ।
चुनावपूर्व यस्तो आग्रह आउनु सामान्य भएको अनिलको भनाइ छ । पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीले दिल्लीका आर्कबिशपको चिठीको समर्थन गरेकी छन् । ममता बनर्जीले भनिन्, ‘हामी सबै समुदाय, जाति र देशभरका आर्कबिशपको सम्मान गर्छौं । यसमा कोलकाताका आर्कबिशप पनि छन् उनले जे भने बिल्कुल ठिक भने ।’ केन्द्रीय गृहमन्त्री राजनाथले भारतमा कुनै धर्म र सम्प्रदायका नाममा भेदभाव नभएको स्पष्ट पारेका छन् ।
हाल भारतमा सत्ताका लागि बहुमत हिन्दु धर्मावलम्बीलाई आकर्षण गर्न राजनीतिक दल जुटेका छन् । भाजपाले शुरुदेखि गर्दै आएको धार्मिक राजनीतिलाई अरू दलले पनि पछ्याउन थालेका छन् । मुस्लिम र दलितको नाममा राजनीति गर्दै आएको कांग्रेसआईले पनि हिन्दु धर्मावलम्बीलाई लोभ्याउन थालेको छ । कांग्रेसआईका नेता राहुल गान्धी निर्वाचन प्रचारका क्रममा विभिन्न मठमन्दिर जान थालेका छन् । उनले कतिपय ठाउँमा जनै लगाएर मन्दिर प्रवेश गर्ने गरेका छन् ।