कांग्रेसको लगातार अवरोधपछि प्रतिनिधिसभा बैठक सर्यो
काठमाडौँ : आफ्ना दुई नेताको नामको अस्पताल संघीय सरकार मातहत नल्याएको भन्दै कांग्रेसले लगातार तीन पटकसम्म अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
पार्टीका पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका दुई अस्पताललाई संघीय सरकारमातहत नल्याएर खारेज गर्ने कोशिश केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै मंगलबार दिउँसो ३ बजेपछि बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले तीन पटकसम्म अवरोध गरेको थियो ।
तनहुँस्थित जिपी कोइराला श्वास प्रश्वास अस्पताल र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताललाई कांग्रेसले संघीय सरकारमातहत राखिनुपर्ने अडान लिएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रकाशमान सिंहले दुवै अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म संसद चल्न नदिने बताए ।
कांग्रेसको अवरोधबीच कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिएपछि संसदमा दुई पक्षबीच धकेलाधकेल समेत भएको थियो ।कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि मर्यादापालकहरु परिचालित गरिएको थियो । सभामुखको अनुमतिपछि रोष्ट्रमतर्फ अघि बढेका मन्त्री पोखरेललाई रोक्न कस्सिएका कांग्रेस सांसदहरु सत्तारुढ दलका सांसदहरु र मर्यादापालकसँग धकेलाधकेलमा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस !