निलगिरी जलविद्युत् आयोजना सुरु
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित निलगिरी खोलामा एकै साथ दुई जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। निलगिरी हाइड्रोपावर कम्पनीले एक सय मेगावाट क्षमताका जलविद्युत् आयोजना बनाउन लागेको हो।
३८ मेगावाट क्षमताको निलगिरी र ६२ मेगावाट क्षमताको निलगिरी क्यासकेड बनाउन पूर्वाधार निर्माण सुरु गरेको कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले बताए। ‘निलगिरी क्यासकेडको पहुँच मार्ग बनाइसक्यौँ’, गौतमले भने ‘निलगिरीको पनि पहुँचमार्ग निर्माण सुरु भएको छ।’ नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत् गृहदेखि छोटेपा भन्ने ठाउँमा बस्ने बाँधसम्म सडक पुर्याइएको हो।
छोटेपादेखि निलगिरी र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित निलगिरी खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पुर्याउन काम सुरु गरेको छ। करिब डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११.५ किलोमिटर सडक निर्माण गरिएको हो। रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ। निलगिरी पहिलोको विद्युत् गृहबाट निस्कने पानीनजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ। सुरुङ, विद्युत् गृह र बाँधको संरचना एकै साथ निर्माण अघि बढाउने तयारी गरेको इञ्जिनियर केशव वाग्लेले बताए।
‘नदीको हाइट धेरै भएकाले दुईवटा आयोजना निर्माण गर्न लागिएको हो,’ वाग्लेले भने, ‘स्रोत जुटाउनेदेखि अन्य सबै प्रक्रिया पूरा भइसकेका छन्।’ पहुँच मार्ग बनेपछि निर्माण सामग्री ढुवानी र आवतजावत सहज भएको छ।
करिब १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनालाई लगानी जुटिसकेको छ। ४.४ किलोमिटर सुरुङ हुने निलगिरी क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ। निलगिरीको सुरुङ दुई हजार चार सय मिटर हुने आयोजनाले जनाएको छ। आगामी चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
भौगोलिक विकटताका बावजुद पनि पर्याप्त उपकरण र जनशक्ति परिचालन गरिएको प्रतिनिधि गौतमले बताए। रन अफ द रिभर प्रकृतिको यो आयोजनाको सिभिल ठेकेदारसमेत छनोट भएको छ। यहाँबाट उत्पादित विद्युत् दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। नारच्याङमा हाल १० जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा रहेको स्थानीय तेज गुरुङले बताए। १६५ मेगावाटको कालीगण्डकी गर्ज, ४ मेगावाटको रेलेखोला, ९ मेगावाटको सुपर घलेम्दीलगायत आयोजना निर्माणको प्रक्रियामा रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !