ठेकेदार मालामाल, विकास निर्माण सुस्त

ठेकेदार मालामाल, विकास निर्माण सुस्त

गोरखा ः डनबाजी गरेर ठेक्का हात पार्ने ठेकेदारहरू समयमा काम भने गर्दैनन्। नेता र कर्मचारीको संरक्षणमा रहेका ती ठेकेदारका कारण गोरखाका अधिकांश विकास निर्माणको काम वर्षौंदेखि अलपत्र छन्।

अहिले गृहमन्त्रीले काम नगर्ने ठेकेदारमाथि निगरानी बढाएसँगै जिल्ला प्रशासन कार्यालय गोरखाले पनि त्यस्ता ठेकेदारको सूची तयार गरेको छ। पूर्वाधार निर्माणको काम गर्ने कार्यालयहरूबाट संकलन गरेको अभिलेख अनुसार १ सय पाँचवटा आयोजनाको ठेक्का सम्झौता म्याद सकिँदा पनि सम्पन्न भएका छैनन्।

कर्मचारीलाई दबाब र प्रभावमा पारेर ठेकेदारले मोबिलाइजेसन (पेश्की) रकम लिएर सम्पर्कविहीन हुँदा कतिपय कामको प्रगति शून्य देखिएको छ। काम नगरी बारम्बार म्याद गुजार्ने ठेकेदारलाई कारबाही गर्नुको साँटो सम्बन्धित कार्यालयका प्रमुखहरू वर्षेनी म्यादथप गरेर संरक्षण गरिरहेका हुन्छन्।

बारपाक, लाप्राक, गुम्दा सडक स्तरोन्नतिको जिम्मा लिएका दहचोकी निर्माण सेवाका नवराज खड्काको काम गर्ने अवधि सकिएको छ। प्रगति भने शून्य प्रतिशत रहेको सडक योजना कार्यालयले जनाएको छ। स्याउलीबजार मनकामना सडकको स्तरोन्नतिको जिम्मा लिएका एस कन्स्ट्रक्सनका सुरेन्द्र बस्नेतले पनि काम सुरु नै नगरी कार्य अवधि गुजारेका छन्।

रायमाझी इशान जेभीका ठेकेदार भरतजंग रायमाझीले सोती खोलापुल बनाउन आठवर्षअघि दुई करोड ५४ लाखमा ठेक्का लिएका थिए। १ करोड १२ लाख रुपैयाँ भुक्तानी पनि लिइसकेका छन्। पाँच वर्ष अघि नै सम्पन्न भइसक्नु पर्ने सो आयोजनाको जग पनि तयार गरिएको छैन।

१७ वर्षअघि सुरु गरिएको कुन्दुरटार वृहत सिँचाइ आयोजनाका ठेकेदारहरू सम्पर्क विहीन हुँदा नहरको संरचना पुरेर कतै सडक बनिसकेका छन्, कतै घर बनिसकेका छन्। यो वर्षदेखि सिँचाइ कार्यालयले सो आयोजनाको काम निर्माणाधीन योजनाको सूचीबाट हटाएको जनाएको छ।

तिब्बत सीमानाको नल्याङभञ्ज्याङदेखि छेकम्पार, सिर्दीबासहुँदै सदरमुकाम जोड्ने सडक निर्माण गर्न सूर्य गोरखा जेभी कम्पनीले २०६८ सालमा सम्झौता गरेको हो। ६ करोड ३१ लाख र ८८ लाखको २ वटा प्याकेजको म्याद २०६९ भदौमा सकिएको हो। ठेकेदार उत्तम भट्टले एउटा प्याकेजको २ करोड ७५ लाख र अर्को प्याकेजको ३५ लाख रुपैयाँ भुक्तानी लगिसकेका छन्। आठ वर्षको अवधिमा आयोजनाको जम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको योजना कार्यालयका प्रमुख इञ्जिनियर अमृतमणि रिमाल बताउँछन्।

गत पुस महिनाभित्र सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सनका सुमित रौनियारले २०७१ सालमा ठेक्का लिएको त्रिशुली नदीपुलको काम अहिलेसम्म जम्मा २२ प्रतिशत मात्र भएको छ। १७ करोड ४६ लाखमा ठेक्का लिएको कामको ठेकेदारले तीन करोड ३१ लाख भुक्तानी लगिसकेका छन्। छेपेटार सातदोबाटो लम्जुङ सडकको जिम्मा लिएका स्वच्छन्द नमिता हिरा सूर्य जेभीका रमेशकुमार श्रेष्ठले ४ करोड ९८ लाख मध्ये ४ करोड १५ लाख भुक्तानी लगिसकेका छन्। पाँच वर्ष अघि नै म्याद सकिएको छ तर काम भने अझै पूरा गरेका छैनन्। उनै ठेकेदारको अर्को ठेक्का पन्थडिही, कटहरे, हर्मी सडक आयोजनाको अवधि पनि पाँच वर्ष अघि नै सकिएको छ। भुक्तानी पनि लगिसकेका छन् तर काम भने अहिलेसम्म अलपत्र छ।

काष्ठमाण्डप कन्स्ट्रक्सनका उमेश रिजालले गोरखा आरुघाट सडक कालोपत्रे गर्न २०७२ सालको भदौमा सम्झौता गरेका थिए। ३ करोड ३७ लाखको सो आयोजना २ वर्षअघि पुसभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। २ करोड निकासा पनि भइसकेको छ। तर कतै पनि कालोपत्रे गरिएको छैन। त्यस्तै आँबुखैरेनी कान्टार मनकामना सडक स्तरोन्नति गर्न ठेक्का लिएका दीप निर्माण सेवाका सूर्य भण्डारीले अघिल्लो वर्षको वैशाखभित्र सम्पन्न गरिसक्नु पर्ने सो योजनाको कामअहिले सम्म जम्मा २० प्रतिशत मात्र सम्पन्न गरेका छन्। चोरकाटे चित्रेपोखरी, भच्चेक, दूधपोखरी सडकको अवस्थापनि उस्तै छ। लक्ष्मी, माछाखोला, गुम्दा जेभी कन्स्ट्रक्सनका ठेकेदार राजकुमार श्रेष्ठले ठेक्का लिएको सो कामको म्याद सकिएपनि काम भने ३० प्रतिशत मात्र सम्पन्न भएको छ।

भैरवी एन्ड नौबीसे निर्माण सेवाका मनोज बस्नेतले ठेक्का लिएको पौवा गाउँ पुन्यगाउँ, फलाटे सातदोबाटो, बागडाँडा, पन्थेनी गाईखुर सडक आयोजनाको म्याद समाप्त भइसक्यो। तर काम भने २५ प्रतिशत मात्र सम्पन्न भएको सडक योजना कार्यालयले जनाएको छ। झिँगटे अ श्राङ सडक निर्माणको जिम्मा लिएको युनिक कन्स्ट्रक्सनका कवीन्द्र अधिकारीले पनि समय सीमा सकिँदासम्म जम्मा १५ प्रतिशत काम मात्र गरेका छन्। नौकिलो मनकामना सडकको जिम्मा पाएका सिएस कन्स्ट्रक्सनका चीनकाजी श्रेष्ठको एक वर्षअघि कामगर्ने अवधि सकियो तर प्रगति भने २० प्रतिशतमात्र भएको छ। मंसीरमा सक्नु पर्ने प्याउदी मौवाटार जरुवा ठाँटी सडक निर्माणको काममा प्रणाली निर्माण सेवाका इश्वर बस्नेतले जम्मा २२ प्रतिशत मात्र काम गरेका छन्। बस्नेतले ठेक्का लिएको अँबुवा बिर्दी सेरा सडकको ४ करोड ३० लाखको योजना पनि गत असोज महिनामा सक्नु पर्नेमा अहिलेसम्म सकेका छैनन्।

तीन वर्षअघि सम्पन्न गर्नुपर्ने बेनिघाट आरुघाट लार्के सडकको काम लक्ष्मी कन्स्ट्रक्सनका राजकुमार श्रेष्ठले अहिलेसम्म जम्मा १४ प्रतिशत मात्र सम्पन्न गरेका छन्। घ्याम्पेशल–बाँकोट–स्वाँरा–सौरपानी–वारपाक सडकको काम गर्ने अवधि सकिँदासम्म तामाङ कुमार जेभी कन्स्ट्रक्सनले जम्मा १४ प्रतिशत मात्र काम गरेको छ। बिपिचोक चिल्डेन पार्क सतिपिपल तिनधारे हुलाक कार्यालय सडक मर्मतको काम म्याद सकिँदासम्म न्यू गोरखा मनकामना कन्स्ट्रक्सनले जम्मा २० प्रतिशत, जुगेपानी कोलभञ्ज्याङ गैरी चौतारा हुुँदै दामगाडे सिमल पँधेरा सडक स्तर वृद्धिको काम पनि आरएआर इन्जिनियरिङ सर्भिसेज एन्ड रिसर्च सेन्टर प्रालिले जम्मा ३० प्रतिशत, सोही कम्पनीले जिम्मा लिएको शिखर आहाले कुवापानी गाईखुर थुर्पु मोटरबाटो स्तरवृद्धिको काम पनि ३० प्रतिशतमात्र सम्पन्न भएको छ। सोही कम्पनीले बृन्दावन होटलदेखि भीमसेन थापा स्मारक पार्कहुँदै मेल बिसौनीसम्मको सडक निर्माणको कामको पनि ४० प्रतिशतमात्र काम गरेको अभिलेखमा उल्लेख छ। आरएआरले नै ठेक्का लिएको चिल्डेनपार्क हाँगे बाटोबाट पस्लाङ चारकुने ठूलो पहरोसम्मको सडकमा पक्की नाला तथा ढलान गर्ने काममा ७० प्रतिशत र भुराजबवक्षदेखि सुकुम्वासी टोलसम्म सडक निर्माणको शिवा कन्स्ट्रक्सनले जिम्मा पाएको सडकको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

याङकोट अकला सडक निर्माणको जिम्मा लिएको न्यू गोरखा मनकामना कन्स्ट्रक्सनले ३० प्रतिशत मात्र काम गरेको छ। त्यस्तै गोनपा ६, ७ र ८ कालोपत्रे सडकको मर्मत गर्ने ठेक्का लिएको किशोर निर्माण सेवाले पनि जम्मा २० प्रतिशत मात्र काम गरेको छ।

सातदोबाटे खोप्लाङ बजार सडक स्तरोन्नतिको ठेक्का लिएको बानियाँ निर्माण सेवाका हरिकृष्ण खत्रीले ठेक्काको १९ लाख रुपैयाँमध्य नौ लाख भुक्तानी लगिसकेका छन्। निर्माण अवधि पनि समाप्त भइसकेको छ। तर काम भने ४५ प्रतिशतमात्र गरेका छन्। गोनपा बुंकोट मैलुङ सडकको ठेक्का लिएका सुसन निर्माण सेवाका नारायण श्रेष्ठको काम गर्ने अवधि दुई वर्ष अघि सकिएको छ तर कामभने ४० प्रतिशत मात्र गरेका छन्।

एघारकिलो बारपाक सडक कालोपत्रे गर्न पाँच करोड ८७ लाख रुपैयाँमा ठेक्का लिएका कन्काई गोरखा जेभीका ठेकेदार उत्तम भट्टले एक वर्ष अघि म्याद सकिँदासम्म जम्मा ५१ प्रतिशत काम गरेका छन्। घ्याम्पेशाल देउराली ताकुस्वाँरा सौरपानी बारपाक झिगटे बोर्लाङ माहादेबटार सडकको काम गर्ने जिम्मा पाएका शिवशक्ति निर्माण सेवाका राजन सुनारले २ वर्ष अघि म्याद सकिँदासम्म जम्मा ६० प्रतिशत मात्र काम गरेका छन्। घ्याम्पेशाल देउराली सौरपानी सडकको काम पाएका विन्ध्यवासिनी निर्माण सेवा रामकुमार श्रेष्ठले काम गर्ने अवधि अघिल्लो वर्षको असारमा सकिएको छ तर काम भने ६५ प्रतिशतमात्र गरेका छन्। प्याउदी पौवाटार जरुवा ठाँटी सडक एक करोड ५२ लाख रुपियाँमा स्तरोन्नतीको ठेक्का लिएका खुशी एण्ड न्यौपाने निर्माण सेवाका तेजबहादुर गुरुङको काम गर्ने अवधि ७३ सालमा सकियो। उनले पनि ६५ प्रतिशत मात्र काम गरेका छन्।

बेनीघाट आरुघाट लार्के सडक ५ करोड २५ लाखमा स्तरोन्नति गर्न जिम्मा लिएका स्वच्छन्द निर्माण सेवाका कमल कडरियाका लागि गत असारमा सम्झौताअवधि सकिएको छ। तीन करोड रुपियाँ भुत्तानी समेत लगेका छन्। तर काम भने ६७ प्रतिशत मात्र गरेका कार्यालयले जनाएको छ।

मान्बु काशीगाँउ केंरौजा दोभान सडकका ठेकेदार रुपिनाला कन्स्ट्रक्सन, विष्णु लामा, खोप्लाङ मन्दिर सडक निर्माणका ठेकेदार न्यू गोरखा मनकामना कन्स्ट्रक्सनका मनोज श्रेष्ठ, आरुचनौटे गाविस बजार सडक निर्माणको जिम्मा लिएका क्रिचल कन्स्ट्रक्सनका किरनबाबु श्रेष्ठले बिना काम सम्झौता भन्दा तीन वर्ष बढी गुजारिसकेका छन्। न्यू मनकामना कन्स्ट्रक्सनका मनोज श्रेष्ठले प्याउदी पौवाटार ठाँटीपोखरी दुधपोखरी खरीबोट सडकको म्याद गत वर्षको असारमा सकिएको छ तर काम सकेका छैनन्। गोरखकाली मंगेफाट अकलामन्दिर सडक बनाउन छ लाखमा ठेक्का लिएका एवान कन्स्ट्रक्सनका उमेश अर्यालले पनि आठलाख रुपैयाँमा छ लाख रुपैयाँ झुक्तानी लगिसकेका छन् तर काम सकेका छैनन्।

काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए। ‘कतिपय योजना पूरा नहुनुमा सरकार नै दोषी पनि हुन्छ’, प्रजिअ भट्टराई भन्छन्, ‘बजेट विनियोजन नै नगरिदिएर सरकार आयोजनाहरू लम्ब्याइरहेको पनि हुन्छ नत्र धेरैजसो अवस्थामा ठेकेदारहरूकै कारण आयोजनाहरू अलपत्र भइरहेका हुन्छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.