ट्रान्सफर्मर बिग्रिँदा १२ घण्टा लोडसेडिङ

ट्रान्सफर्मर बिग्रिँदा १२ घण्टा लोडसेडिङ

बिर्तामोड : गर्मी बढेकै बेला झापाको बिर्तामोडस्थित विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रको ट्रान्सफर्मरमा समस्या आएको छ। यसबाट जिल्लामा दैनिक १२ घण्टा लोडसेडिङ सुरु भएको छ।

अनारमनी सबस्टेसनमा भएका १६÷१६ एमभीए क्षमताका दुईमध्ये एउटा ट्रान्सफर्मरबाट शुक्रबार बिहान २ बजे तेल चुहिएको र एउटाबाट मात्र विद्युत् आपूर्ति हुँदा लोडसेडिङ गर्नुपरेको अनारमनी वितरण शाखा प्रमुख जितेन्द्रकुमार झाले बताएका छन्। ‘पहिलेदेखि नै समस्या रहेछ, सेवाग्राही र उद्योगीले भोल्टेज पुगेन, पंखा चलेन, मोटर जल्यो भन्नेजस्ता गुनासो गर्न थालेका थिए’, उनले भने, ‘विद्युत् प्रवाह बढाउने तयारी गर्दा–गर्दै ट्रान्सफर्मरमा समस्या आयो।’

बिग्रिएको ट्रान्सफर्मर शनिबार मर्मतका लागि हेटौंडा पठाइएको र त्यसको ठाउँमा विराटनगरबाट ८ एमभीए क्षमताको ल्याएर जडान गरिएको छ। तर, यो ट्रान्सफर्मर चार्ज गर्न ४८ घण्टा लाग्ने भएकाले अझै केही दिन अनारमनी वितरण शाखा क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ हुने झाको भनाइ छ। ‘हामी सस्या समाधान गर्ने प्रयासमा छौं तर चार्ज गर्न ४८ घण्टा लाग्ने भएकाले मंगलबार वा बुधबारदेखि मात्र नियमित विद्युत् आपूर्ति हुन सक्छ’, उनले भने।

उनका अनुसार अहिले चार–चार घण्टाको अन्तरमा दैनिक तीनपटक गरी १२ घण्टा विद्युत् कटौती गर्दै वितरण गरिएको छ। पहिले दुईवटा ट्रान्सफर्मर गरी ३२ एमभीएबाट विद्युत् प्रवाह भइरहेको देखिए पनि पुरानो भएकाले २४–२५ एमभीए मात्र काम गरेको जनाइएको छ। नयाँ ट्रान्सफर्मरले पूरा क्षमतामा काम गर्ने हुँदा पहिलेजति नै विद्युत् प्रवाह गर्न सकिने उनको दाबी छ। यो वितरण केन्द्रबाट बिर्तामोड, चारआली, अर्जुनधारा नगरपालिका, सुरुंगा, कन्काई नगरपालिका, गरामनी र झापा गाउँपालिकामा विद्युत् आपूर्ति हुँदै आएको छ।

विद्युत् चुहावट घट्यो

 अव्यवस्थित विद्युतीकरण र चोरी नियन्त्रणपछि इलाममा विद्युत् चुहावट घटेको छ। गत वर्षभन्दा यसपटक सात प्रतिशत चुहावट घटेको विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले जनाएको छ।


झापाका बिर्तामोड, चारआली, अर्जुनधारा नगरपालिका, सुरुंगा, कन्काई नगरपालिका, गरामनी र झापा गाउँपालिकामा विद्युत् सेवा प्रभावित।

इलाममा गत आर्थिक वर्षमा २४.९७ प्रतिशत विद्युत् चुहावट भएकोमा चालू आवको वैशाखसम्म १७.४८ प्रतिशत मात्र चुहावट रहेको वितरण केन्द्र प्रमुख रविनबाबु घिमिरेले जानकारी दिए। आव २०७२÷७३ मा इलाममा २८.०६ प्रतिशत विद्युत् चुहावट थियो।

घिमिरेका अनुसार तारको दूरी लामो हुनु, फ्रेजको ब्यालेन्स नमिल्नु, ट्रान्सफर्मरमा लोड नमिल्नु, ट्रान्सफर्मरमा अर्थिङ राम्रोसँग नहुनु आदि कारणले चुहावट हुने गरेको छ। हुक गरेर र मिटर बाइपास गरेर चोरी गर्ने क्रम रहेको जनाइएको छ। प्रधिकरणले इलामका लक्ष्मीपुर, शान्तिपुर गोदक, भालुखोप, मेचीबजार, इरौंटार, पुवामझुवा, साँखेजुङ, चमैताका विभिन्न ठाउँमा विद्युत् चोरी गर्नेलाई कारबाही गरिसकेको छ। विद्युत् चोरी गर्नेमा विभिन्न सरकारी कार्यालय पनि रहेको घिमिरेले बताए। चुलाचुली, महमाई, दानाबारीलगायत ठाउँमा अत्यधिक विद्युत् चोरी हुने गरेको प्राधिकरणले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.