गोलभेंडामा भारतीय अवरोध, किसान मर्कामा

गोलभेंडामा भारतीय अवरोध, किसान मर्कामा

 बिर्तामोड : नेपालबाट निर्यात गर्ने सूचीमा नरहेको भन्दै भारतले नेपाली टमाटर (गोलभेंडा) रोकेपछि पूर्वी पहाडी जिल्लाको उत्पादन स्वदेशी बजारमा खपत गर्नुपर्ने बाध्यता छ । भारत निर्यात नहुँदा किसानले सस्तो मूल्यमै गोलभेंडा व्यापारीलाई बिक्री गरिरहेका छन् । व्यापारीले थोकमा १३ देखि १५ रुपैयाँ प्रतिकिलो खरिद गरी ४० रुपैयाँभन्दा बढीमा बिक्री गरिरहेका छन् ।

पाँचथर, तेह्रथुम र इलामबाट खरिद गरेर झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा ल्याइएको गोलभेंडा ४० देखि ६० रुपैयाँ प्रतिकिलोसम्म बिक्री गरेको गुनासो उपभोक्ताले गरेका छन् । व्यापारीले कृषकबाट प्रतिकिलो ६÷७ रुपैयाँमा खरिद गरेर ल्याउने र बिर्तामोडसम्मको खर्च जोड्दा प्रतिकिलो बढीमा १३ देखि १४ रुपैयाँ पर्ने भए पनि उपभोक्तालाई ४० देखि ६० रुपैयाँसम्म बिक्री गरिरहेको बिर्तामोड–५ का भरत खनालले बताए ।

‘मैले पनि पहिले टमाटर खरिद गरेर बिक्री गर्ने गरेको थिएँ, अहिले होटल चलाउँछु’, उनले भने, ‘किसानलाई थोरै रकम दिएर व्यापारीले महँगोमा बिक्री गरिरहेका छन् ।’ किसानले बजारसम्म ल्याएर बिक्री गर्न नसक्ने भएकाले बिचौलिया र खुद्रा व्यापारीले मौकाको फाइदा उठाउँदै उपभोक्ता ठगेको उनको आरोप छ ।

व्यापारीले किसानबाट खरिद गरेपछि ढुवानीबाहेक जिल्ला निकासीमा प्रतिकिलो ३० पैसा मात्र तिर्नुपर्छ । बढी मूल्यमा किन बिक्री भन्ने प्रश्नमा कुहिने र आफूहरूले नै प्रतिकिलो थोकमा २५ देखि २८ रुपैयाँमा खरिद गर्ने हुँदा त्यति मूल्य ठिकै भएको दाबी व्यापारीले गरेका छन् । ‘बर्खाको समय हो, खरिद गरेको सबै सामान एकैपटक बिक्री हुँदैन, बिग्रने टमाटरको पनि भाउ त जोड्नै प¥यो’, कृषिथोकका व्यापारी रामभूषण शाहले भने, ‘खासै धेरै त रकम लिइएको होइन ।’

थोक व्यापारी खगेन्द्र महतोले भने खुद्रा व्यापारीले बढी मूल्य लिएको बताए । २५ देखि ३० रुपैयाँसम्म त लिनु ठीकै हो तर ४० देखि ६० सम्म लिनु भनेको ठगी नै भएको उनको भनाइ छ ।

कृषिथोकमा मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यापारीको मनपरी रहेकाले उपभोक्ता ठगिने गरेका हुन् । उपभोक्ताले पनि एक–दुई किलो खरिद गर्ने भएकाले व्यापारीले जुन भाउ भन्यो त्यही मान्न आफूहरू बाध्य भएको बताउने गरेका छन् । ‘एक किलो लिने हो, बढी भाउ लियो भनेर गुनासो गर्न कहाँ जाने ? चुपचाप किन्नुपर्ने बाध्यता छ’, अर्जुनधाराका लीला नेपालले भनिन् । खुद्रा व्यापारीले अहिले प्रतिकिलो दोब्बर नाफा राखेर बिक्री गर्ने गरेको उनको भनाइ छ ।

व्यापारीले झरीको उत्पादन भन्दै मनपरी मूल्य निर्धारण गरेको गुनासो उपभोक्ताले गरे पनि अनुगमन गर्ने निकायले चासो नलिएको हितमान लिम्बूको भनाइ छ । ‘भारतीय भन्सारले टमाटर आयातमा रोक लगाएपछि मारमा परेका किसान लगानी उठाउन सकिरहेका छैनन्’, उनले भने, ‘व्यापारीले लुटेका लुट्यै छन्, अनुगमन नहुनु दुःखद् हो ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.