तटबन्ध अधुरो छाड्दा बस्ती नै जोखिममा

तटबन्ध अधुरो छाड्दा बस्ती नै जोखिममा

बिर्तामोड : झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदी किनारको सुकुम्बासी बस्तीका ७० वर्षीय मजुबुल शेखको परिवार अहिले छिमेकीको शरणमा छ । नदीले जमिन कटान गर्दै घर नै बगाउने अवस्था आएपछि सबै लत्ताकपडा र सामान लिएर शेखको पाँच जनाको परिवार विस्थापित भएको हो ।

नदीमा पुनः बाढी आए घर बगाउने अवस्था रहेको उनले सुनाए । उनी अहिले दिउँसो कटान गरेको स्थानमा पुग्छन् र नदीले बगाउन लागेको घर हेरेर फर्कन्छन् । भने, ‘तटबन्ध केही मिटर बढाएको भए यसरी हाम्रो बिचल्ली हुने थिएन ।’

बाढीका कारण नदी धार परिवर्तन गरी बग्न थालेपछि नेपालतर्फको जमिन कटान सुरु भएको छ । बस्ती नै बग्ने खतरा भएपछि २० भन्दा बढी परिवार एकैपटक विस्थापित बनेका हुन् । सूर्य एन्ड सन्स जेभीले तटबन्ध निर्माणलाई अधुरै छाडेपछि नदीले जमिन कटान गर्न थालेको पीडितको गुनासो छ । तटबन्ध बनेको स्थानमा क्षति नभए पनि अन्य स्थानमा नदीले कटान गर्न थालेको जनाइएको छ । मेची पुलको दक्षिणतर्फ रहेको सुकुम्बासी बस्तीका ४० परिवारमध्ये आधा विस्थापित भइसक्दा पनि स्थानीय सरकारले व्यवस्थापनमा सहयोग नगरेको स्थानीयको गुनासो छ ।

‘हामी नगरपालिकामा गयांै, मेयरलाई समस्याका विषयमा बतायौं तर केही सुनुवाइ भएन’, शेखले भने । मेयर जीवनकुमार श्रेष्ठले अहिले केही गर्न सक्ने अवस्था नरहेको बताएको पीडितको गुनासो छ । स्थानीय रजनी शेखले भनिन्, ‘अहिले मेची नदी बस्तीछेउ आइपुगेको छ । हाम्रो त उठिबास नै लागेको छ ।’

बर्सेनि डुबानको चपेटामा पर्दै आएका स्थानीयलाई यस पटक भने कटानको चिन्ता देखिएको छ । मेची पुलबाट दक्षिणतर्फको बस्ती जोगाउन १७० मिटर तटबन्ध बनाइएको र बाँकी काम नगर्दा समस्या आएको जनाइएको छ । थप ७० मिटर तटबन्ध निर्माणका लागि स्थानीयले भद्रपुर नगरपालिका, पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीसमक्ष माग गरेका थिए । तर, कतैबाट सुनुवाइ नभएको स्थानीय अजय सिंहले बताए । भद्रपुर–५ नम्बर वडामा रहेको बस्तीका स्थानीयलाई बाढी आए नजिकै रहेको भद्रपुर माविमा बस्ने व्यवस्थाबाहेक अन्य केही काम नभएको उनको भनाइ छ । भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्कीले विस्थापित परिवारलाई सुरिक्षत स्थानमा सार्ने योजना रहेको सुनाए । भने, ‘त्यसबाहेक थप काम गर्न स्रोतको अभाव छ ।’

इन्जिनियरसहितको टोलीले तटबन्ध नबढाइए बस्ती पुनः डुबानमा पर्ने निष्कर्ष निकालेको थियो । पूर्वतर्फ मेची नदी र पश्चिममा पैनीसहितको खोलाले बर्सेनि बस्ती डुबाउने र कटान गर्ने गरेको छ । पुल निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले भने, ‘हुलाकी राजमार्ग आयोजनाले बजेट निकासा गर्नासाथ अधुरो तटबन्ध बनाउने योजना छ ।’

भद्रपुरका मेयर श्रेष्ठले सुकुम्बासी बस्तीसहित भैसाबारीका १ सय २४, मेचीपारिकै नेपाली बस्ती भाङबारीका १ सय १५ र हात्तीमाराका १ सय परिवार बाढी र कटानको जोखिममा रहेको बताए । भने, ‘अब तटबन्ध र सामूहिक आवासगृह निर्माण गर्ने नगरपालिकाको तयारी छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.