युनेस्कोको सुझाव : खुम्बुमा हेलिकोप्टर नियन्त्रण गर

काठमाडौं : खुम्बु क्षेत्रमा मापदण्ड मिचेर कम उचाइमा हेलिकोप्टर उडान गर्दा संरक्षित वन्यजन्तुको जीवन चक्रमा गम्भीर असर पुर्याएको भन्दै युनेस्कोले उडान नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई सुझाव दिएको छ। हेलिकोप्टरको बाक्लो उडान, जथाभावी अवतरण र ठूलो आवाजले वन्यजन्तु हताहत हुने र मर्नेसमेत अवस्था आएपछि युनेस्कोले त्यसलाई नियमन गर्न सुझाएको हो।
विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा क्षेत्र र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका वन्यजन्तुमाथि हेलिकोप्टरको अस्वाभाविक चहलपहल एवं जथाभावी उडानले दैनिक जीवनमा असर पुर्याएको युनेस्कोको भनाइ छ। रेड पान्डा, कस्तूरी, बाघ, भालु, हिउँचितुवा आदि वन्यजन्तुको प्रजनन अवस्था, वासस्थानलगायत दैनिक क्रियाकलापमा असर पुग्ने गरेको छ। दैनिक १५ देखि २० वटा हेलिकोप्टर खुम्बु क्षेत्रमा एक सय ९० भन्दा बढी पटक अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ।
तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, छुकुङ, आधारशिविरलगायत क्षेत्रमा अवतरण भएको तथ्यांक छैन। पर्वतारोहणको सिजनमा दैनिक ५० भन्दा बढी पटक खुम्बुको माथिल्लो क्षेत्रमा हेलिकोप्टर अवतरण हुने गरेको आरोही लाक्पा शेर्पाले बताए। कहाँ, कुन स्थानमा अवतरण गर्न पाउने, कति उचाइभन्दा मुनि उड्न नपाउने र उडानको बाटो तय नभएकाले निकुन्जमा संरक्षित वन्यजन्तु परै आतंकित बन्ने गरेको उनको भनाइ छ।
युनेस्कोले खुम्बुक्षेत्रलाई २०३९ मा विश्वसम्पदा सूचीमा राखेको थियो।
हेलिकोप्टरको बढ्दो चलहपहलले र मनपरी उडानले विश्वसम्पदा सूचीमा सूचीकृत स्थान संकटमा परेको भन्दै युनेस्कोले हिफाजात गर्न विभागलाई सुझाव दिएको सूचना अधिकारी नारायण रूपाखेतीले बताए। हेली उडान र अवतरणमा नियम बनाएर कढाइ गर्न विभागले पहल थालेको उनको भनाइ छ। यसका लागि गृह मन्त्रालयका रामकृष्ण सुवेदी र वन तथा वातावरण मन्त्रालय, नागरिक उड्डयन, निजीक्षेत्र वायु उड्डयन संघसहितको समितिसमेत निर्माण गरिसकिएको छ। उद्धारका लागि हेलिकोप्टर लैजाने भनिए पनि सामग्री पुर्याउनकै लागि जथाभावी हेली अवतरण गर्ने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्ची शेर्पाले बताए। आफूहरू यसलाई व्यवस्थित गर्ने योजनामा लागिपरेको उनको भनाइ छ। हेलिकोप्टरलाई प्रतिअवतरण पाँच हजार रुपैयाँ बढी शुल्क तोक्ने तयारीसमेत थालिएको छ।
युनेस्कोले खुम्बुक्षेत्रलाई २०३९ मा विश्वसम्पदा सूचीमा राखेको थियो भने २०३३ सालमा निकुञ्ज घोषणा गरेको थियो। हेली चहलपहलले आइसफलको बाटोमा प्रभाव पर्ने र ठूलो भाइब्रेसनले आइसफल, खरपसहरू छियाछिया भएर बाटो अवरुद्धसमेत हुने गरेको आरोहीहरूको भनाइ छ। नेपालमा सिम्रिक, माउन्टेन, अल्टिच्युट, डाइनेस्टी, प्रभु, कैलाश, फिस्टेल, हेली एभरेस्ट र मनाङका गरी २६ व्यावसायिक कम्पनीले उडान गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !
