प्रहरीकै गाडीमा तस्करीका सामान

प्रहरीकै गाडीमा तस्करीका सामान

बिर्तामोड : इलामको पशुपतिनगर नाका प्रयोग गरी प्रहरीसँगको मिलेमतोमा तस्करी हुने गरेको पाइएको छ । ठूलो परिमाणको सामान मेची भन्सारबाटै भित्रिनुपर्ने भए पनि राजस्व छली गर्न तस्करले पशुपतिनगर नाका प्रयोग गर्ने गरेको देखिएको हो ।

अवैध ओसारपसारमा प्रहरीकै सवारी साधन प्रयोग हुने गरेको फेला परेको छ । अवैध ढंगले भित्र्याइएको कपडासहितको मिनी ट्रक दबाबपछि गत शुक्रबार सशस्त्र प्रहरीले छाडिदिएको खुलेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो ।

बुद्धशान्ति गाउँपालिकास्थित पुलचोकबाट शुक्रबार दिउँसो साढे ३ बजे मे.१ख २४९८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको थियो । ट्रकमा चालकसहित चार जना कामदारसमेत थिए । भन्सार कागजात र बिल देखाउन नसक्दा सामान र ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रक इलामको पशुपतिनगरबाट झापाको बिर्तामोड बजारतर्फ आइरहेको थियो । ट्रकमा पर्दाको कपडा, साडी, कुर्ता, सुरुवाललगायत रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रेशमकुमार थाक्सुले बताए ।

ट्रक र सामान लिएर सशस्त्र प्रहरी शुक्रबार साँझ ५ बजे सीमा सुरक्षा कार्यालय पुगेका थिए । ट्रक प्रहरी हवल्दार खम्बुसिंह बानियाँ र सामान पशुपतिनगरका व्यापारी चन्दन सिंघलको रहेको खुलेको छ । प्रहरी हवल्दार बानियाँले केही समयअघि पशुपतिनगरमा घुमुवा प्रहरीका रूपमा काम गरेका थिए । उनको सरुवा भइसकेको जनाइएको छ । सामानधनी सिंघलले चिनियाँ सामग्री र भारतीय कपडा कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

तस्करीको सामानसहितको ट्रक सशस्त्रले छाडिदिएको जानकारी झापाकै अन्य व्यापारीबाट बाहिरिएको थियो । प्रहरीको ट्रक भएकाले सशस्त्रले छाडिदिएको आरोपसमेत व्यापारी समूहले लगाउन थालेका छन् ।

झापामा आइपुगेपछि एक व्यापारी ट्रक छुटाउन सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाक्सुलाई भेट्न पुगेका थिए । तीन व्यापारी पुग्नुअघि नै थाक्सुलाई राजनीतिक र प्रहरी संगठनबाटै ट्रक छाडिदिन दबाब आएको स्रोतले बताएको छ । दबाबपछि शुक्रबार राति ९ बजे ट्रक छाडिएको थियो ।

थाक्सुले ट्रक दबाबमा नभई व्यावहारिकता हेरेर छाडिदिएको प्रतिक्रिया दिएका छन् । ‘ट्रक भाडामा लिएको बुझिएकाले भन्सार पुगेर पनि छुट्ने नै रहेछ’, उनले भने, ‘त्यसैले ट्रकधनीको व्यावहारिकता हेरेर छाडियो ।’

पशुपतिनगरबाट भित्र्याइएको सामान कानुनी रूपमा मान्य नहुने जनाइएको छ । पशुपतिनगर भन्सार कार्यालयमा २० हजार रुपैयाँसम्मको सामानको प्रज्ञापनपत्र पनि काटिँदैन । पशुपतिनगर जोडिएको भारतको बंगाल नाकामा भन्सार कार्यालय नभएकाले त्यहाँबाट एसएसबीले छाडिदिएको सामान मात्र नेपाल भित्रिन्छ । एसएसबीले छाडिदिएअनुसार नै पशुपतिनगर भन्सारले सामानको प्रज्ञापनपत्र काट्ने गरेको मेची भन्सारका अधिकृत गणपति कँडेलले बताए । उनका अनुसार पशुपतिनगर नाकाबाट पारिवारिक प्रयोजनबाहेकका ठूलो परिणामको सामान पनि आउने गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.