विराटनगरमा बिजुली चाेरी : सात पक्राउ
विराटनगर : मोरङमा हुकिङ गरी विद्युत चोरी गर्ने सात जना पक्राउ परेका छन्। विद्युत चुहावट नियन्त्रणमा खटिएको विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई आइतबार साँझ जहदा गाउँपालिकाबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का ३८ वर्षीय दिवाकर चौधरी, ३५ वर्षीय राजन साह, २५ वर्षीय विनोद साह, जहदा ३ का २९ वर्षीय अजयकुमार मुखिया, ३७ वर्षीय शिवजी साह, २५ वर्षीय सन्तोषकुमार साह र जहदा ५ का ५० वर्षीय लखन हकदार छन्।
पक्राउ परेकाहरूको साथबाट विद्युतबाट चल्ने विभिन्न सामानहरू पनि बरामद भएको प्राधिकरणले जनाएको छ। उनीहरूलाई आवश्यक कारवाहीका लागि प्राधिकरणको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।