पूर्वाधारबिनै छोटीलाई भन्सार मान्यता

पूर्वाधारबिनै छोटीलाई भन्सार मान्यता

बिर्तामोड : निर्माण सुरु भएको लामो समयपछि झापा भद्रपुरस्थित मेची नदीमाथि पक्की पुल बन्यो। पुल बनेपछि वारिपारि गर्न स्थानीयलाई सहज भएको छ भने भारतको विहार र बंगाल राज्यसँग पुल जोडिँदा व्यापारको दृष्टिकोणबाट यो क्षेत्र पनि प्राथमिकतामा परेपछि भन्सार विभागले भन्सार कार्यालयको मान्यता दिएको छ।

तर साउन १ गते देखि नै लागू हुने गरी भन्सार कार्यालयको मान्यता दिए पनि कार्यालयमा न पूर्वाधार छ, न त आवश्यक कर्मचारी नै। यसअघि मेची भन्सार कार्यालय काँकरभिट्टामातहत रहेको छोटी भन्सार कार्यालयमा कार्यालय प्रमुखको रूपमा रहने अधिकृत नखटाइएकाले भन्सारको मान्यता दिए पनि अझै केही समय मेची भन्सार कार्यालय काँकरभिट्टाकै मातहत छोटी भन्सार कार्यालय भद्रपुर रहनुपर्ने बाध्यता भएको छ।

‘मेचीबाट एक जना अधिकृतको दरबन्दी कटौती भइसकेको छ’, भन्सार प्रमुख टेकनाथ अर्यालले भने, ‘विभागबाट अधिकृतसहित कर्मचारी पठाएपछि यहाँको सम्पूर्ण काम कर्तव्य विभागसँग जोडिनेछ अहिले भने भन्सारको मान्यता पाए पनि भद्रपुर भन्सार मेचीकै मातहत रहनेछ।’ तर विभागले भद्रपुरलाई मान्यता दिएसँगै मेचीबाट एक अधिकृतको दरबन्दी भने कटौती गरिसकेको छ।

भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति भए पनि विभागबाट कर्मचारी नखटाइएकोले साउन महिनाभरि मेची भन्सारकै मातहत सञ्चालन हुने मेची भन्सार प्रमुख अर्यालले जानकारी दिए। मेची पुल निर्माण कार्य सम्पन्न भएलगत्तै नेपाल सरकार र भन्सार विभागको पहलमा भद्रपुर भन्सारको स्तरोन्नति भएको बताइएको छ।

यस भन्सारमातहत माई पूर्व र राजमार्गदक्षिण सञ्चालित छोटी भन्सारहरू केचना, झापा, घेराबारी र पञ्चपाडा भद्रपुर भन्सारअन्तर्गत राख्ने विभागले तयारी थालिसकेको मेची भन्सारप्रमुख अर्यालले बताए। ‘पुल बनेपछि आवतजावत सुरु भयो, कारोबार पनि सुरु भयो, त्यसैले यो पनि अन्तरदेशीय ठूलो भएकाले भन्सारको मान्यता पाएको हो, तर पूर्वाधार नहुँदा धेरै चुनौती छन्।’ प्रमुख अर्यालले भने।

भद्रपुर भन्सार कार्यालयको स्थापना २००८ सालमा भएको थियो। त्यस समयमा झापाको प्रमुख भन्सार कार्यालय भद्रपुर मात्र थियो। पछि पूर्वपश्चिम राजमार्ग सुचारु भई काँकरभिट्टासँग जोडिन पुगेपछि मेची भन्सार कार्यालयको स्थापना भएको मानिन्छ। त्यसपछि भद्रपुर भन्सार कार्यालय छोटी भन्सारमा परिणत भएको हो। ०३९ सालदेखि भद्रपुर छोटी भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो। मेची नदीको पुल बनाउन सुरु भएसँगै यो भन्सार कार्यालयको पनि स्तरोन्नति गर्नुपर्ने भए पनि सरकारले ध्यान नदिएको र अहिले पुल बनेपछि मात्र भन्सारमा ध्यान दिँदा यो क्षेत्रबाट तस्करी बढेको स्थानीय बताउँछन्।

भद्रपुर–५ स्थित करिब १० कठ्ठा क्षेत्रफलमा अवस्थित भद्रपुर भन्सारमा हाल दुईवटा गोदाम घर र एउटा भवन मात्र रहेको छ। पुरानो भवन भत्काएर पाँच वर्षअघि मात्र दुईतले भवन र एउटा गोदाम घर मेची भन्सारले सञ्चालनमा ल्याएको थियो। तर निर्माण गरिएको भवनका केही भाग मेची पुलको सडकले छोएको छ। सडक बनाउन भन्सारको भवन आधाभन्दा बढी भत्काउनुपर्ने छ। ‘हुलाकी राजमार्ग आयोजनाले जमिन खाली गराउन भन्सारलाई पत्राचार गरिसकेको छ’, मेची भन्सार प्रमुख अर्यालले भने, ‘अहिलेसम्म भवन र पर्खाल भत्काएका छैनांै, अबको केही समयपछि भत्काउनुपर्ने हुन्छ, त्यसपछि कर्मचारीलाई अझै चुनौती थपिन्छ’, उनले भने।

भन्सार विभागले पूर्वाधारको योजनासँगै भद्रपुर भन्सारलाई छुट्याउनुपर्ने भए पनि त्यो नगरिएकोले अब नेपाल सरकार, भन्सार विभाग र स्थानीय सरकार द्रुत गतिमा भन्सार पूर्वाधार निर्माणमा जुट्नुपर्ने बेला आएको प्रमुख अर्याल बताउँछन्। भारतको विहार र बंगाल राज्यका साथै बंगालदेशसहित भुटानसँगको दूरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० बिघा जमिन आवश्यक रहेको मेची भन्सार अधिकृत गणपति कँडेलले बताए। नक्साको कागजात भन्सार विभाग पठाइसकेको र त्यहाँबाट जमिन खरिदका लागि अध्ययन सुरु भइसकेको उनले जानकारी दिए। यता मेची भन्सार प्रमुख अर्यालले जमिन खरिदका लागि भन्सार विभागबाटै स्थलगत अनुगमन गर्न टोली आउने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.