दुई वर्षदेखि चोरी गर्दै आएका विष्ट प्रहरी फन्दामा
डोटी : वर्षौदेखि चोरी गर्दै आएका एकजना डोटी प्रहरीको फन्दामा परेका छन्। डोटीमा मात्र विगत दुई वर्षदेखि चोर्दै आएका २२ वर्षीय एक युवालाई चोरी गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
सुर्खेत जिल्ला साबिकको तरंगा गाविस-३ गाइनेगडा घर भएका धनबहादुर बिष्ट उर्फ भवी बिष्ट, भरत बिष्ट डोटीमा मात्रै दुई वर्षदेखि चोरी धन्दा गर्दै आएका हुन्। साउन १६ गते बिहान ३ बजे पूर्वीचौकी गाउँपालिकाको खिरसैनमा उनलाई इन्द्र खड्काको पसल चोर्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए।
करिब एक हप्ता प्रहरी थुनामा रहेका बिष्टलाई बिहीबारबाट चोरी अभियोगमा मुद्धा चलाइएको छ । उनले दिपायल सिलगढी नगरपालिका- ६ निवासी नेकपाका नेता नारद मलासीको पसल, दिसिनपा- ५ का मानबहादुर बिष्ट तथा लालबहादुर दमाईको पसल चोरेको प्रहरी समक्ष बताएका छन्। डोटीका अन्य ठाउँमा समेत चोरेको उनले बताएका छन्।
एक वर्षजति अछाम जिल्ला, कैलालीको अत्तरिया, नेपालगञ्जमा समेत चोरी गरेको उनले बताएका छन् । केही वर्ष अगाडि नेपालगञ्जमा प्रहरीले चोरीको अभियोगमा पक्राउ गरेपनि तीन महिना पछि थुना मुक्त भएका थिए। बुबा पंक बिष्टको छोरा बताउने उनीसँग डोटीमा न त कोठा भाडामा बसेको प्रमाण देखिन्छ न त उनीसँग अरु सरसामान छ। उनीसँग एउटा सिमकार्ड नभएको सादा मोबाइल सेट छ।
गाउँघर तिर चोरी गर्न थालेपछि गाउँलेले उनलाई गाउँबाट निकाला गरिदिएको प्रहरीले बताएको छ। आफूसँग चोरी गरेका पैसा नबचेको उनी बताउँछन्। चोर्दै हिँड्ने र चोरेको पैसा खर्च गर्दै जाने भएकाले आफूसँग पैसा र अरु कुनै पनि सामान नरहेको उनले बताए।