'सार्कको विकल्प बन्दै' बिम्स्टेक

'सार्कको विकल्प बन्दै' बिम्स्टेक

 काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता गरिरहेका प्रधानमन्त्री केपी ओलीले सार्क सोचे अनुरुप सक्रिय र प्रभावकारी हुन नसकेको बताएका छन् । प्रधानमन्त्री निवासमा सोमबार सम्पादकहरूसँगको अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।

‘हाम्रोसमेत संलग्नतामा बनेको संस्था हो, सार्क । हामी नै अध्यक्ष भएको बेला यसलाई सक्रिय गराउन सकिएको छैन । यो हाम्रो हातको मात्रै कुरा भएन । सार्कलाई पुनर्जीवन दिएर सक्रिय तुल्याउन आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘गत वर्ष म भारत भ्रमणमा जाँदा होस् वा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा, मैले सार्कलाई गतिशील बनाउनुपर्छ भनेको छु ।’

उनले सार्कलाई सक्रिय बनाउँदा आपसी असमझदारी (मिस अन्डरस्ट्यान्डिङ) घटाउन मद्दत मिल्ने बताए । अनेक कारणले सार्क सोचे अनुरूप अघि बढ्न नसकेको उनले स्वीकार गरेपनि कारण भने खुलाएनन् । उनले बिम्स्टेकको विषयमा यसलाई गति दिन सदस्य राष्ट्रहरू सहमत भएकाले यसले गति लिनेमा विश्वास रहेको बताए । ‘एउटा भएन भने अर्काेलाई गति दिएर भएपनि क्षेत्रीय संगठन निर्माण गर्नुपर्छ’, उनले भने, ‘ईयू र आसियनहरू संगठित रूपले अघि बढिरहेका छन् ।

हामीले पनि बिम्स्टेकलाई त्यस्तै फोरम बनाउनुपर्छ, जहाँ कनेक्टिभीटी, गरिबी न्यूनीकरण, नागरिक-नागरिक सम्बन्ध विस्तार, ऊर्जाको आदान-प्रदान गर्ने एजेण्डा बनाएर क्रंकिट रूपमा अघि बढ्नुपर्छ ।’

यसलाई कर्मकाण्डी रूपमा अघि बढाउनु नहुने भन्दै प्रधानमन्त्रीले भने, ‘बीस वर्ष बिम्स्टेकको इतिहास निरन्तरता दिने होइन कि नयाँ ढंगले यसलाई सक्रिय, प्रभावकारी, उपयोगी बनाउनुपर्छ, क्षेत्रीय संगठनका रूपमा ।’

अध्यक्षको हैसियतमा मात्र होइन सदस्यको रूपमा समेत नेपालको भूमिका कर्मकाण्डी नहुने उनले स्पष्ट पारे । ‘यस्ता संगठन हामीलाई बढी चाहिएको छ । अरू देश धेरै अघि पुगिसकेका छन्’, उनले भने, ‘हामीले यो सम्मेलनलाई विशेष बनाउँदै यसको नयाँ अध्याय सुरू गर्न आवश्यक छ ।’

यसैबीच बिम्स्टेक शिखर सम्मेलनको प्रक्रिया मंगलबारदेखि आरम्भ हँुदैछ । सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सरकार एवं राष्ट्रप्रमुख आउने क्रम मंगलबारबाटै सुरु हुनेछ ।

विदेश सचिवहरू सोमबार नै काठामडौं आइपुगेका छन् । परराष्ट्रसचिव शंकरदास बैरागीले सोमबार विदेशसचिवहरूसँग अनौपचारिक छलफल सुरु गरेका छन् । साँझ भएको अनौपचारिक छलफलमा सदस्य मुलुकले बिम्स्टेकलाई सार्कको विकल्प नभएर पुरक झै अघि बढाउन पर्ने र यसको चार्टर त्यही अनुरुप तयार गर्नेमा केन्द्रित रहेको थियो ।

शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यसअघिका उपलब्धिको पुनरावलोकन एवं कार्यान्वयनको प्रगति समीक्षा समेत बरिष्ठ अधिकारीको बैठकमा छलफल हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले बताए ।

सचिवस्तरीय बैठक लगत्तै बुधबार विदेशमन्त्री स्तरीय बैठक बस्नेछ । यो बैठकले पारित गरेका विषयमा शिखर सम्मेलनमा छलफल हुनेछ ।

शिखर सम्मेलन उद्घाटनको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेताहरूको सम्मानमा दिवा भोज आयोजना गर्ने कार्यक्रम छ ।

साँझ बिम्स्टेक अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुखको सम्मानमा विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गर्ने छन् ।

शिखर सम्मेलनको सम्पन्न हुनु केही घण्टा अघि रिट्रिट (अनौपचारिक छलफल) होटल सोल्टीमा नै हुने भएको छ । सम्मेलनमा बडापत्र बनाउने, बुद्ध सर्किटको विषयमा कार्य अघि बढाउने, हिमालय सहकार्यमा जोड लगायतेका विषयमा छलफल हुनेछ । रोड र रेल मार्गको विषय पनि उत्तिकै महत्व रहेको छ ।

बिम्स्टेकमा बंगलादेश, भुटान भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्ड, सदस्य छन् । शिखर सम्मेलनमा बंगलादेशक प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्त, प्रधानमन्त्री ओली, श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागी हुनेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.