भारत छिरेपछि पक्रनै मुस्किल

भारत छिरेपछि पक्रनै मुस्किल

बिर्तामोड : झापा कारागारबाट करिब एक महिनाअघि भागेका कैदी प्रहरीले अझै फेला पार्न सकेको छैन। गौरादह नगरपालिका–८ का २५ वर्षीय उमेश माझी साउन २७ गते दिउँसो कारागारबाट भर्‍याङ प्रयोग गर्दै निस्किएका थिए। कारागारभित्र बिजुली मर्मतको कामसमेत गर्ने माझीले प्रहरीसहित कैदीको मन जितेका थिए। उनैले बिजुली मर्मत गर्न प्रहरीलाई भर्‍याङ मगाएका थिए। उनी त्यही भर्‍याङको सहयोगले पर्खाल नाघेर जेलबाट निस्किएका हुन्।

जेलबाट भागेका उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकाल फरार कैदी भागेको स्थान पत्ता लगाएकाले अनुसन्धान जारी रहेको बताउँछन्। उनका अनुसार फरार कैदी खुला सिमानाको फाइदा उठाउँदै भारत पसेका छन्।

‘झापामा भारतसँग जोडिएको खुला सीमा प्रयोग गरी भारत छिरेकाले पक्राउ गर्न समस्या भएको हो,’ प्रहरी प्रमुख ढकालले भने, ‘नेपालमै भए पक्राउ परिसक्थे।’

उनले नेपालमा अपराध गरेर भारत भागेकालाई सीधै नेपाल प्रहरी गएर समाएर ल्याउने कानुन र नियम नभएकाले भारत छिर्नेहरू तत्काल समात्न गाह्रो हुने गरेको छ।

‘कानुनी जटिलताका कारण नेपालमा अपराध गर्ने र भागेर भारतमा लुक्ने क्रम बढेको छ,’ ढकालले भने। फरार कैदीलाई पक्राउ गर्ने विषयमा प्रहरी पनि संवेदनशील रहेकाले ढिलोचाँडो पक्राउ गरेरै छाड्ने उनले बताए।

माझी कारागारबाट निस्किएको दिन बिर्तामोडतर्फ भागेका थिए। उनलाई घटना भएकै दिन राति करिब ९ बजे गरामनीमा खटिएको प्रहरी टोलीले सडकमा भेट्टाएको तर जम्काभेटमा उनले दुई जना प्रहरीमाथि ढुंगा प्रहार गरी भागेको प्रहरी स्रोतले जानकारी दिएको छ।

ड्युटीमा खटिएका असइमाथि ढुंगा प्रहार गर्दै गरामनी उत्तर जंगलतर्फ भागेपछि प्रहरीले रातभर खोजतलास गरे पनि उनलाई फेला पार्न सकेको थिएन। त्यसपछि उनी भागेर भारत पसेको प्रहरीको दाबी छ। कर्तव्य ज्यान र जबर्जस्ती चोरी मुद्दामा माझीलाई अदालतले ०७१ असार ३२ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

माझी मात्र होइन, पूर्वका कारागारबाट प्रहरीको आँखा छल्दै भागेका, प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा परेका सबै भारत गएको प्रहरीले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार भारतमा समन्वय गर्न समय लाग्ने भएकाले तत्काल नतिजा हात पर्दैन।

भारतका अपराधी/अभियुक्त पनि नेपाल आएर बस्ने र नेपालका पनि भारत जाने हुँदा सीमा क्षेत्रमा रहेका प्रहरीले भारतीय प्रहरीसँग सहकार्य गरेर दुवै तर्फबाट समाएका केही उदाहरण छन्। तर, ती निकै कम छन्। त्यो पनि ऐन, नियम र कानुनमा भारतमा समाएको भन्ने देखाउन नमिल्ने हुँदा प्रहरीले नेपालकै कुनै स्थानलाई देखाउने गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी प्रमुख डीएसपी कृष्ण कोइरालाका अनुसार मोबाइल नम्बरको कल डिटेल्स लिएर अनुसन्धान गर्न सिमानापारि पुगेका अपराधी र सवारीलाई समाउन अनेक प्रक्रिया झेल्नुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.