बिर्तामोड–भद्रपुर सडक खण्ड चार लेन बनाउन सुरु

बिर्तामोड–भद्रपुर सडक खण्ड चार लेन बनाउन सुरु

बिर्तामोड : चार लेन बन्न लागेको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण कार्य सुरु भएको छ । २७ करोड रुपैयाँ लागतको सडक निर्माणका लागि डिभिजन सडक कार्यालय दमकले टेन्डर आह्वान गरेको थियो । उक्त सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेको डिभिजन कार्यालयका इन्जिनियर माधव पौडेलले जानकारी दिएका छन् । उनले भने, ‘काम सुरु भएको १८ महिनाभित्र पूरा गरिसक्ने लक्ष्य छ ।’ सडक निर्माणको शुभारम्भ प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख मञ्जु महतरा प्रसाईंले संयुक्त रूपमा डोजर चलाएर गरेका छन् ।

बिर्तामोड–भद्रपुर सडकखण्डको अधिकांश भाग भत्किएको भए पनि पहिलो चरणमा भने बिर्तामोडको मुक्ति चोकदेखि चार किलोमिटर सडक मात्रै बन्न लागेकोे हो । चार किमिमध्ये २.८ किलोमिटर सडक १६ मिटर चौडा, एक मिटर नाली र फुटपाथसहित जम्मा २३ मिटर चौडा हुनेछ । यो चार लेनको बन्ने छ । बाँकी सडक सात मिटर चौडाको दुई लेनको बन्नेछ । पाँच सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरी सडक निर्माण हुने बताइएको छ ।

पहिलो चरणमा ठेकेदार कम्पनीले सडक निर्माणमा अवरोध गर्ने विद्युत् पोल हटाउन प्राधिकरणलाई १५ लाख रुपैयाँ बजेट दिएको र पोल हटेपछि निर्माणको काम सुरु हुने इन्जिनियर पौडेलले बताए । ‘हामीले यो सडकलाई नगरभित्रको स्मार्ट सिटीको अवधारणअन्तर्गत चार लेनको बनाउन लागेका हौं’, बिर्तामोड नगरप्रमुख शिवाकोटीले भने, ‘बिर्तामोडदेखि चार किमिसम्मको सडकखण्ड अति व्यस्त र धेरै भत्किएकाले बनाउनैपर्ने भएको छ, त्यसैले प्राथमिकता यसले पायो ।’

निर्माण सम्पन्न भएपछि बिर्तामोड मुक्तिचोकदेखि भद्रपुर बस स्ट्यान्डसम्मको सडकको बीच भागमा बोरिएर राखिनेछ । सडकको अन्य खण्डमा भने पेन्टिङ गरिने डिभिजन सडक कार्यालय दमकले जनाएको छ । मुक्तिचोकदेखि मेची आँखा अस्पतालसम्मको सडकखण्डको अधिकांश भाग भत्किएको छ ।

उक्त सडक सदरमुकाम भद्रपुर तथा जिल्लाको दक्षिणपूर्वी गाउँपालिकाहरू कचनकवल, हल्दिबारीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक हो । सडक खाल्डाखुल्डी र ढल निकासको व्यवस्था नहुँदा प्रत्येक बर्खामा बिर्ताबजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको सडकखण्ड भत्किएको वर्षाैं बिते पनि बन्न सकेको थिएन । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा तीन वर्षअघि नै उक्त सडक निर्माणको ठेक्का लागेको थियो । तर ठेकेदार कम्पनी थोदुङ–लोहनी–सिंह एन्ड ब्रदर्श जेभीले सम्झौताबमोजिम काम नगरेपछि सडक निर्माण थप अन्योल बनेको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.