मोरङमा व्यावसायिक पाडापालन

मोरङमा व्यावसायिक पाडापालन

दमक : मोरङको पथरीशनिश्चरे–२ मा रहेको चौतारी बहुउद्देश्यीय कृषि समूहले कृषि तथा पशुपालनमा नयाँ शैली प्रयोग गरेको छ। पथरीशनिश्चरे–२ को कालापानीमा आठ बिघा जमिन भाडामा लिएर समूहले व्यावसायिक रूपमा पाडापालन र धान खेती सुरु गरेको हो।

अहिले यो समूहले दुई गोठमा पाडापाडी पाल्न सुरु गरिरहेको छ। बजारमा पाडापाडीको मासुको माग बढेसँगै व्यावसायिक रूपमा पाल्न सुरु गरिएको कृषि समूहका अध्यक्ष रत्नबहादुर बस्नेतले बताए। अहिले गोठमा ७२ वटा पाडापाडी छन्। अझै पाडापाडी थप्ने कृषि समूहको तयारी छ। अन्य पशुपालनभन्दा पाडापाडी राख्न कम खर्च हुने गरेको बस्नेत बताउँछन्।

बस्नेतले भने, ‘खसीबाख्रा, कुखुरा पाल्दा त्यसका लागि दाना खुवाउनुपर्छ तर पाडापाडीका लागि चरनमा लैजाँदा खर्च कम हुन्छ। हामीले लिएको जग्गामा पाडापाडीका लागि घाँस पनि प्रशस्तै छ।’ भाडामा लिएको जमिनको केही भाग पाडापाडी चरनका लागि छुट्याइएको छ।

बिहानै पाडापाडीलाई नुनपानी खुवाएर चरनमा निकालिन्छ। त्यसपछि दिउँसो फेरि गोठमा पानी खुवाउन ल्याइन्छ र साँझ फेरि गोठमै ल्याउने गरिएको छ। गोठमा काम गर्न पाँच जना कामदार राखिएको छ। उनीहरूलाई काम हेरी नौ हजारदेखि १२ हजारसम्म दिने गरिएको कृषि समूहका सदस्य प्रदीप दाहालले बताए।

पाडापाडीको मासु बिक्रीका लागि स्थानीय बजार नै पर्याप्त रहेको दाहालले बताए। उनका अनुसार धनकुटा, इलामलगायत जिल्लामा मासुको माग बढ्दो छ। त्यस्तै राजधानीमा समेत पाडापाडीको मासुको माग अत्यधिक रहे पनि आफूहरूको उत्पादन स्थानीय बजारमा नै खपत हुने गरेको दाहाल बताउँछन्। मासुका लागि खरिदकर्ता गोठमै आउने गरेका छन्।

समूहले स्थानीयस्तरबाटै लोकल जातका पाडापाडी खरिद गर्दै आएको छ। व्यावसायिक पाडापाडी पालनका लागि समूहले २७ लाख रुपैयाँ लगानी गरेको छ। सबै पाडापाडीको बिमा गरिएको छ। पाडापाडीलाई कुनै रोग लागेमा स्थानीय पशु चिकित्सकको सेवा लिने गरिएको दाहालले बताए।

समूहले व्यावसायिक रूपमा पाडा पाल्न सुरु गरेयता अहिलेसम्म तीनवटा पाडापाडी मात्र मरेका छन्। त्यस्तै पाडापाडीबाट निस्किएको मलमुत्रलाई व्यवस्थित गरी गोबरमल समेत बनाउने गरिएको छ। मल प्रतिट्र्याक्टर तीन हजार रुपैयाँले बिक्री गरिरहेको अध्यक्ष बस्नेतले बताए।

कृषि समूहले अब मासुजन्य पदार्थ एकै ठाउँबाट पाउने गरी सबै जातका पशुपालन गर्न लागेको उनको भनाइ छ। एक ७३ स्थानीय कृषक आबद्ध रहेको यो समूहले अहिले उन्नत जातका बाख्रा, लोकल कुखुरासमेत पालिरहेको छ। समूहले बजारमा अत्यधिक मासुको माग रहेको माछा, बंगुर, सुँगुरलगायत अन्य पशुपंक्षीसमेत पाल्ने तयारी छ।

प्रतिबिघा वार्षिक ३० हजार रुपैयाँमा जग्गा भाडामा लिएको यस समूहले साढे चार बिघा क्षेत्रफलमा अहिले व्यावसायिक धानखेतीसमेत गरिरहेको छ। अहिले मन्सुली र रन्जित जातका धान लगाइएको छ। त्यस्तै विकासे घाँस उत्पादन पनि गरिरहेको छ। व्यावसायिक कृषि तथा पशुपालनप्रति स्थानीय कृषक उत्साहित देखिएका छन्। तर राज्यप्रति उनीहरूले गुनासो गरे।

सरकारले कृषिलाई प्रमुख प्राथमिकता दिइरहेको भनिए पनि आफूहरूले कुनै सहयोग नपाएको कृषकको गुनासो छ। व्यावसायिक पशुपालन र कृषिका लागि तालिम तथा सिँचाइ व्यवस्थालगायत पक्षमा राज्यले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.