बेनी–मल्लाज पदमार्ग सम्पन्न, पर्यटन प्रवद्र्धनको सम्भावना
बेनी : म्याग्दीको सदरमुकाम बेनीको कालीपुलदेखि पर्वतको जलजला गाउँपालिकास्थित मल्लाजसम्म पक्की पदमार्ग निर्माण भएको छ ।
ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग बनेपछि स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल भगवती कोत मन्दिर परिसरसम्म करिब दुई किलोमिटर पदमार्ग निर्माण गरिएको हो ।
पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवत जावतमा सहज भएको छ ।
पाँच वर्षअघि नै सुरु भएको पदमार्ग निर्माण विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बरुवालका अनुसार विभिन्न संस्था र स्थानीयबासीको पहलमा ८६ लाख नौ हजार २५२ रुपैयाको लागतमा पदमार्ग निर्माण भएको हो ।
यसअघि भीरको साँघुरो बाटोमा स्थानीय तथा पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । पदमार्ग निर्माणपछि मुस्ताङ र बेनीमा जाने–आउने पर्यटकलाई समेत मल्लाजमा भित्र्याउने लक्ष्य स्थानीय अगुवाले लिएका छन् ।