बालश्रमिकको पीडा : घर जाने पैसा माग्दा मालिक्नीले भाँचिदिइन् हात

बालश्रमिकको पीडा : घर जाने पैसा माग्दा मालिक्नीले भाँचिदिइन् हात

दैलेख : दसैँ आउन केही दिन बाँकी थियो । सल्यानको दार्मा गाउँपालिका–६ किमटाकुराका १२ वर्षीय प्रकाश बुढाथोकीलाई घरमा जान हतार थियो । तर उनीसँग घर पुग्ने पैसो थिएन । 

कर्णाली राजमार्गमा पर्ने दुल्लू नगरपालिका–३ सियालास्थित सागर होटलमा भाँडा माझ्दै आएका प्रकाशले होटल मालिक्नी शान्ति शाहीसँग घरमा जाने पैसा मागे । मालिक्नी शाहीले पैसा नदिएपछि उनी हतास भए । 

दसैँमा घरमा जान पटक पटक पैसा माग्न थालेपछि होटल मालिक्नीले गत असोज १८ गते पैसा चोरेको आरोप लगाउँदै निर्घात कुटपिट गरिन् । मालिक्नीको कुटपिटकबाट उनको देब्रे हात भाँचियो भने दुईवटा दाँत हल्लिए । 

‘पैसा माग्दा मालिक्नीले दाउराले हातमा हानेर हात भाँचिदिनुभयो’, उनले भने, ‘हात भाँचिदिएपछि उपचारमा मालिक्नीले चासो नै दिनुभएन ।’

बालकलाई कुटपिट गरी हात भाँचेको घटना करिब २० दिनपछि मात्रै बाहिर आएको हो । यो घटनाबारे स्थानीय अधिकारकर्मीले जानकारी गराउँदा पनि प्रहरीले कुनै चासो दिएन । 

अधिकारकर्मी अमर सुनारले बालकमाथिको कुटपिटबारे प्रहरीमा जानकारी गराउँदा पनि बेवास्ता गरेको आरोप लगाए । स्थानीय व्यक्तिले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र यो घटना सार्वजनिक भएको उनले जानकारी दिए ।   

होटलको पैसा चोरेको आरोपमा मालिक्नीले गरेको कुटपिट गरेर बालकको हात भाँचिदिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे सोध्दा पैसा चोरेको रिसको आवेशमा कुटपिट गरेको कुरा शाहीले स्वीकार गरेकी छिन् ।

कुटपिटबाट घाइते बालकलाई न्याय दिन स्थानीय अधिकारकर्मीले पटक पटक दवाब दिएपछि प्रहरीले पीडकपक्षलाई बोलाई बालकलाई लगेर उपचार गर्न नेपालगन्ज पठाएको छ । ती बालकको उपचारमा अहिले महिला तथा बालबालिका सेवा केन्द्रमार्फत सहयोग गरीएको छ । 

अहिले बालकको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । भेरी अञ्चल अस्पतालका हाड जोर्नी विशेषज्ञ डा. प्रकाश थापाले उनको हातको अप्रेशन भइसकेकाले अहिले अवस्था सामान्य रहेको बताए ।  

बालकको उपचारका लागि पीडकपक्षलाई जिम्मा लगाई नेपालगन्ज लगिए पनि कानुनी कारवाहीबारे अहिलेसम्म प्रहरीले पहल थालेको छैन । जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बालक कुटपिटबारे जाहेरी नआएकोले प्रक्रिया अगाडि नबढेको बताएका छन् ।

‘मुलुकी अपराध (सहिंता) ऐन २०७४’ को दफा १९२ को उपदफा (५)मा उपचारबाट निको हुने गरी अङ्गभङ्ग गराएमा ती वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । 

त्यसैगरी १४ वर्षमुनिका बालबालिकालाई बालश्रममा लगाउनेलाई ‘बालश्रम (निषेध र नियन्त्रण गर्ने) ऐन २०५६’ को दफा ३ ले तीन महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.