शव काटेर खोलामा फाल्दै अन्तिम संस्कार
गोरखा : चुमनुब्री गाउँपालिका–५ बिही र वडा नं. ६ चुम्चेतमा शव काटेर खोलामा फाली अन्तेष्टि गर्ने चलन छ । ‘लामा गुरुको सुझावअनुसार अन्तिम संस्कार गगरिने वडाध्यक्ष लोप्साङ फुञ्जो लामाले बताए । उनले भने, ‘लामा गुरुले साइत हेरेर माटोमा चढाउनू भने गाड्नुपर्छ, आगोमा चढाउनू भने जलाउनुपर्छ र पानीमा चढाउनू भने काटेर पानीमा फाल्नुपर्छ ।’ पानी ठूलो भएको बेला सग्लो शवलाई पानीमा फाल्ने र खोलामा पानी सानो भएका बेला काटेर स–सानो टुक्रा बनाएर फाल्ने उनले बताए ।
काट्नुपरे लास काट्ने काम लामा गुरुबाट हुने उनले जानकारी दिए ।
साबिक चुम्चेत गाविसमा चुम्चेत, चुम्लिङ, सिप्चेत, लोक्पा, यार्चु, सिम्जे, प्राङ्गा, खांग्रिङ, खार र ताजु गाउँ छन् । साविक बिही गाविसमा बिही, क्र्याक, ड्याङ, राना गाउँ छन् । सबै गाउँमा अन्तिम संस्कार को प्राचीन परम्परा कायम रहेको स्थानीय बताउँछन् । गाउँको ढम्चा खोलामा शव फाल्ने गरेको चुम्लिङका स्थानीय गोपाल लामा बताउँछन् । ढम्चा खोला पोखराको सेती खोलामा जस्तै खोच छ । उनी भन्छन्, ‘ढम्चा खोलामा फालेपछि लास कता पुग्छ पत्तै हुँदैन ।’
धेरै वर्षपहिले शव काटेर गिद्धलाई खुवाउने चलन थियो । तर, गिद्ध बोलाउन सक्ने शक्तिशाली लामा अभावमा शव फाल्न थालिएको स्थानीयको भनाइ छ । ‘पहिले–पहिले गाउँमा जतिवटा गिद्धले लास खाइसक्थ्यो, त्यति वटा गिद्ध बोलाउन सक्ने लामा थिए तर अहिले गिद्ध बोलाउन सक्ने लामा नै छैनन्’, भूछिमा लामा भन्छन्, ‘त्यसैले चरालाई खुवाउनुको सट्टा पानीमा फाल्ने चलन बसेको हो ।’ चुमनुब्री–५ बिहीमा भने लामाका अनुसार नभई मृतकका आफन्तको इच्छाअनुसार अन्तिम संस्कार गर्ने परम्परा रहेको वडाध्यक्ष सोनाम ग्याल्जेन गुरुङले बताए ।
*सच्याइएको ः यसअघि यस समाचारमा प्रयोग भएको दाहसंस्कार शब्द असान्दर्भिक देखिएकाले सच्चाइएको छ । (-सम्पादक)
प्रतिक्रिया दिनुहोस !