स्थानीय तहमा साझेदारी मञ्च गठन
दैलेख : जिल्लाका दुईवटा स्थानीय तहमा जनप्रतिनिधि र नागरिक समाज सम्मिलित साझेदारी मञ्च गठन गरिएको छ ।
गुरांस गाउँपालिका र नारायण नगरपालिकाबीच साझेदारी मञ्च गठन भएको हो । जनप्रतिनिधि र जनताबीच बढेको दूरीलाई कम गर्ने साथै आपसी जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को आयोजनामा साझेदारी मञ्च गठन भएको हो ।
सम्बन्ध सुदुढिकरण अभ्यासको रुपमा गठन गरिएको साझेदारी मञ्चमा गुरांस गाउँपालिकामा अध्यक्ष खेमराज ओली र नारायण नगरपालिकामा नगरप्रमुख रत्नबहादुर खड्का संयोजक छन् ।
दुवै स्थानीय तहका प्रमुख सहित निर्वाचित वडाध्यक्षहरु सदस्य, कार्यपालिकाको कार्यालयका शाखा प्रमुखहरु सदस्य, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य, गैरसरकारी संस्था महासंघका प्रतिनिधि सदस्य, उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य र स्थानीय तहमा गठन भएका स्थानीयसभाका तीन महिला सदस्यसहित ६ सदस्य नवगठित मञ्चमा छन् ।
आयोजक संस्था सामुदायिक वन महासंघ राष्ट्रिय अध्यक्ष भारती पाठकले साझेदारी मञ्चले आगामी दिनमा सम्वन्धित स्थानीय तहमा रहेका जायज सवाललाई बैठकमा छलफल गरी सम्बोधनका लागि अगाडी बढ्ने र पारस्परिक जवाफदेहिता बढाउन सहयोग पुर्याउने बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस !