नेतृत्वको सनकमा पार्टी चल्दैन : सिंह
गजुरी (धादिङ) : कांग्रेस नेता प्रकाशमान सिंहले कुनै एकजना नेताको सनकको भरमा पार्टीलाई डुबाउनु नहुने बताएका छन्।
शुक्रबार धादिङको घाटवेशीमा सुरु भएको कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन्। उनले नेतृत्वको असक्षमताले गर्दा पार्टी प्रतिपक्षमा पुगेको बताए।
‘पार्टी यसरी चल्दैन, देशमा कम्युनिस्टको रजगज बढेको बेलामा कांग्रेसको ऊर्जा कम्प्युनिस्टविरुद्ध खर्च गर्नुपर्ने थियो तर बिडम्बना आफ्नै पार्टीविरुद्ध खर्च गर्नु परेको छ।’
पार्टी सभापति शेरबहादुर देउवाको नाम नतोके पनि नेता सिंहले सम्बोधनका क्रममा अधिकांश समय पार्टी नेतृत्वको आलोचना गरे।
सभापतिले पार्टीलाई विधान अनुसार चलाउन नसकेको उनको आरोप छ। उनले देउवाको कार्यशैलीमाथि प्रश्न गर्दै भने, ‘नेतृत्वको समर्थन गर्दा विधान बमोजिम हुने, आलोचना गर्दा विधान बाहिर कसरी हुन्छ ?’
७७ जिल्लाका कोषाध्यक्ष उपस्थित भेलामा नेता सिंहले सबैलाई नेतृत्वको विकल्प खोज्न आग्रह गरे।