राजाको नाममा शासन गर्ने महत्वाकांक्षी गिरी
विसं २०१६ सालको कुरा हो, अमेरिकाबाट भर्खर तालिम प्राप्त गरी फर्किएकी ठूल्दिदी (स्व. रजनी खुजेली) ले सोधिन्, ‘भोलि मन्त्री आउँछन् मसँग तिखिदेवल जान्छस् ? ’ त्यतिखेर म नौ वर्षजतिको थिएँ । दिदीले भनेपछि म तयार भइहालें । बिहान सबेरै दिज्यूको पछिपछि कुपन्डोलबाट कार्यक्रमस्थल तिखिदेवल पैदल पुग्दा लखतरान भइसकेको थिएँ । त्यहाँ थुप्रै मानिस जम्मा हुँदै थिए ।
मध्याह्नतिर ‘ल मन्त्री पाल्नुभयो’ भन्ने हल्ला चल्यो । मन्त्री आउँदै गरेको दिशातिर मानिसहरू लागे । चार÷पाँचजनाका निम्ति कुर्सी राखिएको थियो, अरू त सबै बारीमा उभिने दर्शक । एकजना गोरो ढाकाको टोपी, आकासे नीलो रङको कोट तथा मयलपोस सुरुवाल लगाएका व्यक्तिबीचको कुर्सीमा गएर बसे । सबैले ताली बजाए । थाहा भयो तिनी नै मन्त्री रहेछन् भन्ने । ती व्यक्ति थिए- ग्राम विकास उपमन्त्री डा. तुलसी गिरी । तिनको व्यक्तित्व अत्यन्त प्रभासशील । उज्यालो अनुहारको मानिस ।
त्यसपछिका दिनमा राजा महेन्द्र र प्रधानमन्त्रीबीच फुटबल खेलको आयोजना गरिएको थियो सानो टुँडिखेलमा । घरका हामी सबैजना रेडियोअघि झुम्मेर खेलको रेडियो नेपालद्वारा प्रसारित ‘रनिङ कमेन्ट्री’ सुन्दै थियौं । ‘गोल’ भन्दै उद्घोषक कराए, डा. गिरीले प्रधानमन्त्रीको टिमबाट गोल गरे भन्ने घोषणा भयो ।
त्यसबेला आफूले देखेको मन्त्री खेलाडीसमेत रहेछ भन्ने भयो । २०१७ पुस १ मा प्रजातन्त्रको हत्या गरी राजाले १२ दिनपछि नयाँ मन्त्रिपरिषद् गठनको घोषणाप्रति मेरा पिताजीका टिप्पणी थियो, ‘षड्यन्त्रकारीको मन्त्रिमण्डल गठन भएछ ।’ डा. गिरी राजाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्को मन्त्री, उपाध्यक्ष हुँदै अध्यक्षसम्म बने । राजा महेन्द्रले डा. गिरीको अध्यक्ष पद खोस्दै सूर्यबहादुर थापालाई सुम्पेका थिए आफूले सत्ता हत्याएको चार वर्षपछि ।
त्यसैबीच कुपन्डोलबाट शान्तभवन जाँदा बाटोमा डाँडामा बडो भव्यतासाथ एउटा विचित्र आकारको घर निर्माण हुँदै थियो । त्यो घर डाक्टर गिरी भन्ने थाहा भयो । आफू प्रजातान्त्रिक आन्दोलनमा लागेदेखि मेरा निम्ति डा. गिरी ‘भिलियन’ थिए । त्यसकारणले उक्त घर देखेपछि आकर्षण नभएर घृणा जाग्ने गथ्र्याे । त्यही समय डा. केआई सिंह किरण भवननजिकै डेरामा बस्न आए । केआई सिंहको डेरा र डा. तुलसी गिरीको निर्माणाधीन भव्य घर नजिक-नजिक पर्दथ्यो ।
मित्र मनोज श्रीवास्तवसँग केआई सिंहलाई भेट गर्न पुगे तिनको निवासमा । तिनले केआई सिंहलाई नमस्कार गर्दै आफूहरू छिमेकका विद्यार्थीहरू भनेर परिचय गराए । तिनले उल्टो प्रश्न गरे, ‘तिमीहरू त्यो जोगीकहाँ नगएर किन म कहाँ आएको ? ’ मनोज र म रनभुल्ल परेको देखेर डा. सिंहले थपे, ‘मैले त्यो उड्ने घरको मालिकको कुरो गरेको भनेको बुझेनौ तिमीहरूले ।’ पूर्वप्रधानमन्त्री सिंह एकोहोरो थप्दै गए, ‘राजाले मलाई राजसभा स्थायी समितिको अध्यक्ष पद दिए भनेर खुसी भएको थिएँ ।
तर सरकारसँग सोधें, मेरो र डा. गिरीको पदमा कसको ठूलो भनेर सोधेको त ऊ सरकार प्रमुख हो भने । त्यसपछि मैले आँखा देखिनँ । सरकार, यो कस्तो कुरा हो झोली-तुम्बा बोक्नेले देश चलाउने अनि म ठकुरीको बच्चो भने त्यसको मुन्तिर काम गर्ने ? मैले तुरुन्तै राजीनामा दिएँ बुझ्यौ ।’ त्यसपछि उक्त घर हाम्रा लागि उड्ने घर भयो ।
राजाले भने, ‘तिमीलाई आजदेखि प्रधानमन्त्री पदमा नियुक्त गरेको छु ।’ त्यतिखेर डा. गिरीलाई के गरूँ, के कसो गरूँ भएछ । उनले खल्तीमा भएको एक रुपैयाँ राखेर राजालाई सलाम गरे । प्रायः चुप रहने मुमा बडामहारानीले भनिन्, ‘हामीले सल्लाह गर्दा तिमी नै प्रधानमन्त्री पदका निमित्त सबैभन्दा उपयुक्त व्यक्ति ठहर भयौ । अब छोरालाई पनि बुबाको पालामा जस्तै गरी सहयोग गर ।’
उनै गिरी २०२५ वैशाखमा थुनामा परे, छुटेपछि डा. गिरी केही समय उड्ने घरमा आएर बसे । बिहान तिनलाई चौरमा अखबार पढेर बसेको देख्ने गथ्र्यौं । म कृषि आयोजना केन्दै्रमा (एप्रोक्स) काम सुर गरेको केही समयपछि राजा वीरेन्द्रले तुलसी गिरीलाई प्रधानमन्त्री पदमा (२०३२ मंसिर १५) नियुक्त गरे । त्यतिखेर काठमाडौंमा धान-चामल कम्पनीबारे बृहत् सम्मेलन थियो ।
सम्मेलनमा एप्रोक्सले पुरुषोत्तम मुडभरी र मलाई सहभागी हुन पठाएको थियो । व्यापारीहरू सरकारी धान-चामल कम्पनीले गर्दा मर्कामा परेको भनेर प्रधानमन्त्रीलाई गुहार्न पुगेका थिए । हामी पनि प्रधानमन्त्री निवास पुग्यौं । सिकायतकर्ता व्यापारीको कुरा सुन्नेबित्तिकै डा. गिरी जंगिए, ‘अब तपाईंहरू धान-चामलको व्यापार गर्न छाड्नुहोस् ।’ त्यो सुनेपछि व्यापारीहरू न्याउरो मुख लगाए । डा. गिरीलाई दोस्रोपटक नजिकबाट त्यहीबेला देखेको थिएँ । २०३४ मा कार्पेट काण्डमा मुछिएको बात लगाएर डा. गिरीलाई प्रधानमन्त्रीको पदबाट हटाए राजाले ।
भ्रष्टाचारको अभियोग र प्रधानमन्त्री पदबाट विस्थापित डा. गिरी राजनीतिक धरातलबाट टाढा हुँदै थिए । विद्यार्थी आन्दोलन उग्र भएपछि राजा वीरेन्द्रले २०३६ मा जनमत संग्रहको घोषणा गरे । त्यसपछि डा. गिरी खुलेर पञ्चायत जोगाउने अभियानमा उत्रिए । सँगै उनलाई परिचय मिल्यो, ‘पञ्चायती व्यवस्थाको आमा ।’ तिनी २०३६ को जनमतसंग्रहताका पञ्चायती मञ्चबाट कुर्लिन्थे, ‘कुनै माईकालालले डा. गिरीलाई एक पैसा दिए भन्न सकोस् ।’
२०२५ मा पञ्चायतले वर्षभर रजत जयन्ती मनाउँदै थियो, त्यसका समितिका सभापति डा. गिरी । उनी एकाएक श्रीलंकामा पलायन भए । त्यहाँ पुग्नेहरूका अनुसार ‘डा. साहेब के गर्दैछन्, सोधिन्थ्यो, जवाफ आउँथ्यो, ‘ श्रीमती धर्म प्रचारमा छिन् म तिनको ड्राइभर ।’
जब म २०४५ मा संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगमा काम गर्न श्रीलंकाको कोलम्बो पुगें त्यहाँ गएको केही दिनपछि श्रीलंकन टेनिस खेलाडीसँग परिचय भयो । तिनले भने, ‘तिम्रो पूर्वप्रधानमन्त्रीसँग चर्चमा बरोबर भेट हुन्छ ।’ प्रत्येक दिन खेल्ने क्रममा भेट हुँदा तिनी पूर्व नेपाली प्रधानमन्त्रीका कुरा झिकिहाल्थे । तिनैबाट थाहा पाएँ- डा. गिरी श्रीमतीलाई चर्चमा ल्याउने-लैजानेदेखि धर्म प्रचारका निमित्त ‘ड्राइभरी’ गर्दागर्दै आफंै धर्म प्रचारकमा परिणत भइसकेका रहेछन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाकै छोरा सुनिलले एक दिन डा. गिरीसँगै खानाका निम्ति बोलाए । त्यहाँ डा. गिरीसँग परिचयका साथसाथै लामै कुराकानी भयो । भेटमा फोन नम्बर दिँदै भेट्न बोलाएका थिए । तर मेरा पिताजीबाट केटाकेटीमै ‘षड्यन्त्रकारी’ दिमागमा पारिएको थियो । त्यसकारण मलाई उनीसँग ‘षड्यन्त्रकारी’ पहिचानले गर्दा भेट गर्ने जाँगर चलेन ।
युनिसेफका प्रतिनिधि केशवभक्त माथेमाले एक दिन दिउँसो कोलम्बोमा बसेका नेपालीलाई खान बोलाएका थिए । डा. गिरीले माथेमासँग म सम्पर्कमा नभएको गुनासो गर्नुभएछ । त्यही क्रममा मैले सोधें, ‘डा. सा’ब, तपाईंलाई कहिलेकाहीं नेपालीलाई धोका दिएजस्तो लाग्दैन ? ’ प्रश्न सुन्नेबित्तिकै डा. गिरी आक्रामक भए । हातको खाना प्लेटनजिकैको टेबुलमा राख्दै कड्केर भने, ‘हो, मैले धोका दिएँ देशवासीलाई । त्यो पार्टीलाई जसले मलाई सम्मान दियो, अनि त्यो नेतालाई जसले पार्टीमा सबैको विरोध हँुदाहँुदै पनि मलाई उच्च स्थान दियो । तर मलाई सबैलाई धोका दिन लगाउने राजाले भने मलाई नै धोका दिए । बुझ्नुभयो- राजाले मलाई धोका दिएका हुन् ।’ थर्थर काप्दै उनी खाली कुर्सीमा गएर थचक्क बसे । त्यो दृश्य देखेपछि त्यहाँ वरपर रहेका डा. गिरीनजिक झुम्मिन आइपुगे ।
त्यसपछि डा. गिरीले भने, ‘ल विनोद बाबु, आउनुस् बसेर कुरा गरांै ।’ म नजिकै गएँ । उनले भन्न थाले, ‘मैले जब मुलुकको विविधता देखें, तब मैले निक्र्योल गरें नेपालमा संसदीय व्यवस्था चल्दैन । देशलाई आधुनिकीकरण गर्न बेग्लै व्यवस्था आवश्यक छ । राजा हाम्रो मुलुकको एकीकरण गर्ने संस्था हो, त्यसको नेतृत्वमा नै देश सञ्चालन हुनुपर्छ भन्ने मेरो विश्वास थियो । राजाको सक्रिय नेतृत्वसहितको प्रजातन्त्र सम्भव छ भनेर म विश्वलाई प्रमाणित गर्न चाहन्थें । राजाले प्रजातान्त्रिक हुनुभन्दा तानाशाही बन्न रुचाए । छोरो त झन् तानाशाही त्यसकारण मैले आफूलाई अलग्याएको हुँ । मैले हात जोडेर बाबु-छोरा दुवैलाई बिन्ती गर्दै भनेको थिएँ, मलाई दुई टर्म न्युयोर्कमा राखी बक्सियोस्, म यूएनको सेक्रेटरी जनरल बनेर देखाउँछु ।’
अर्को दिन नेपालीकै ‘गेट टुगेदर’ गोविन्द जोशी दाइको घरमा भएको थियो । त्यतिबेला मैले डा. गिरीलाई प्रश्न गरें, ‘तपाईंको राजा वीरेन्द्रप्रतिको धारणा कस्तो छ ? ’ तिनले आफूलाई प्रधानमन्त्री नियुक्त गर्दाको गाथा सुनाए । डा. गिरीकै भनाइअनुसार, त्यस दिन (२०३२ मंसिर १५) पुतलीसडकस्थित सरदारजीको ग्यारेजमा उनी गाडी मर्मत गराउँदै थिए । उनको छोरा हस्याङ-फस्याङमा आए- दरबारबाट तुरुन्त हाजिर हुने समाचार दरबारका प्रमुख सचिवबाट पाएको बताए ।
डा. गिरीले ग्यारेजबाटै दरबारका प्रमुख सचिव रञ्जनराज खानललाई फोन गरे । फोनमा तिनले दरबारमा राजा, रानी, मुमा बडामहारानी तथा राजाका भाइहरू प्रतीक्षामा रहेको बताए । आफू सफारी सुटमा हुँदा दरबारमा कसरी तुरुन्तै हाजिर हुने भन्दा प्रमुख सचिवले भने, ‘जुन अवस्थामा हुनुहुन्छ तुरुन्तै आउनू भन्ने हुकुम भएको छ ।’ त्यसपछि उनी दरबार पुगे । दरबारको रीतिअनुसार उपस्थित राजपरिवार सदस्यसँग ढोगभेट गर्न लाग्दै गर्दा राजाले भने, ‘तिमीलाई आजदेखि प्रधानमन्त्री पदमा नियुक्त गरेको छु ।’ त्यतिखेर डा. गिरीलाई के गरूँ, के कसो गरूँ भयो । तिनले खल्तीमा भएको एक रुपैयाँ राखेर राजालाई सलाम गरे । प्रायः चुप रहने मुमा बडामहारानीले भनिन्, ‘हामीले सल्लाह गर्दा तिमी नै प्रधानमन्त्री पदका निमित्त सबैभन्दा उपयुक्त व्यक्ति ठहर भयौ । अब छोरालाई पनि बुबाको पालामा जस्तै गरी सहयोग गर ।’
दुवै राजकुमारहरूले टाउको हल्लाएर सहमति जनाए । राजा वीरेन्द्रले तत्कालै गिरीलाई अर्को कोठामा लगे । सँगैको कोठाको ढोका थुने । अनि चोरऔंला ठड्याउँदै अंग्रेजीमा भने, ‘बुबालाई जस्तो गरेर मलाई दुःख दिन खोज्यौ भने म तिमीलाई गोली ठोक्छु । त्यसबेला कोही बोल्नेवाला हुने छैनन् बुभ्mयौ ? ’ डा. गिरीले भने, ‘हेर्नाेस् त, सबैको सामुन्ने प्रधानमन्त्री बनाएँ भन्ने, एकान्तमा तलमाथि भयो भने गोली ठोक्छु भन्ने ! कस्ता राजा वीरेन्द्र ? ’ डा. गिरीलाई राजा वीरेन्द्र सायद मुलुकको सबैभन्दा मन नपर्ने व्यक्ति थिए ।
प्रजातन्त्रको स्थापना भएको केही दिनपछि डा. गिरीले फोनमा भने, ‘विनोद बाबु, तपाईंसँग कुरा गर्न मन लागेको थियो, तपाईंचाहिँ सधैं भाग्नुहुन्छ ।’ त्यसो भनेपछि म उनीकहाँ गएँ । उनी कुनै व्यक्तिसँग फोनमा कुरा गर्दै थिए, ‘के मलाई विश्वबन्धु सम्झेको ? म पार्टीमा विश्वास नगर्ने व्यक्ति । यदि पार्टी निर्माणमा लाग्नुपरे कांग्रेसमै फर्कन्छु । मलाई कांग्रेसले प्रवेश दिनेछ ।’ फोन राखेपछि थाहा भयो, डा. मोहमद मोहसिनले उनलाई नेपाल फर्केर पञ्चहरूको राजनीतिक दल निर्माण गर्न निम्त्याएका रहेछन् ।’ डा. गिरीले थप्दै भने, ‘अब नेपाल गएर के गर्ने ? बाबु, म गुजेश्वरी, पशुपति जान्न ।
उहिलेजस्तो गरी चण्डीपाठ पनि गर्दिनँ ।’ सबै धर्ममा पृथ्वीको विनाश हुन्छ भन्ने वैज्ञानिक धारणाको अभिव्यक्ति भएको छ । तर बाइबलमा भने, त्यसको उच्च कोटीको विस्तृत वर्णन भएको बताए । त्यसपछि डा. गिरीले ‘मानिसले मानिसलाई शासन गर्न सक्दैन । म धेरै वर्षसम्म विश्वास गर्थें । राजाका नाममा म राजकाज चलाउँछु । म सफल हुन त्यही कारणले गर्दा सकिनँ । हेर्नुहोला यो पृथ्वीको रक्षा गर्न आउँदै हुनुहुन्छ । मानिसले अब पृथ्वीको रक्षा गर्न सक्दैन ।’
श्रीलंकामै रहँदा डा. तुलसी गिरीले एकपटक प्रस्ताव गरेका थिए, ‘उनको जीवनी टेपमा भर्ने, मैले लेख्ने ।’ त्यो काम गर्न मलाई मन लागेन । कसरी एउटा षड्यन्त्रकारीको जीवनी लेख्न अग्रसर हुने ? म पनि पूर्वाग्रह पीडित थिएँ । अब त, उनलाई ‘अल बिदा डा. साहेबसिवाय अरू के नै भन्न सक्छु र ? ’
प्रतिक्रिया दिनुहोस !