निर्मला हत्या प्रकरण : प्रदीप र विशाललाई रिहा गर्न माग
![निर्मला हत्या प्रकरण : प्रदीप र विशाललाई रिहा गर्न माग](https://annapurnapost.prixacdn.net/media/albums/Pradarsan-photo_04_20181220063404_YlGemdQ3Pc.jpg)
महेन्द्रनगर : निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै पक्राउ गरिएका प्रदीप रावल र विशाल चौधरीलाई रिहाइ गर्न माग राखेर परिवारले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका छन्। दुवैका परिवार, आफन्त र स्थानीयले बुधबार महेन्द्रनगर बजारमा र्याली निकालेर नाराबाजीसमेत गरेका थिए। ‘प्रदीप र विशाल निर्दोष छन्, उनीहरूलाई तत्काल प्रहरीले रिहा गर्नुपर्छ’, विशालका बुवा वीरबहादुर चौधरीले भने, ‘जसरी प्रहरीले समातेर लगेको थियो त्यसैगरी छाड्नुपर्छ ।’ उनले विशालको औषधोपचारसमेत गर्नुपर्ने माग गरे ।
प्रहरीले जबर्जस्ती आरोप स्विकार्न लगाएर अपराधी बनाउन खोजेको उनले बताए। विशाल र प्रदीपको डीएनएको रिपोर्ट नेगेटिभ आएको खबरपछि पीडित परिवारले प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेर प्रहरी कार्यशैलीको विरोध गरेका हुन् । प्रदीपका ठूलो बुवा कृष्ण रावलले वास्तविक हत्यारा खोज्नतर्फ प्रहरी नलागेर गरिब र आर्थिक विपन्न रहेका मानिसलाई खोजी–खोजी समातेर आरोपित बनाउन लागेको बताए। ‘मेरो भतिजो निर्दोष छ, उसलाई तत्काल प्रहरीले छाड्नुपर्छ’, उनले भने, ‘प्रदीप र विशालको रिहाइ नभएसम्म आन्दोलन रोकिँदैन ।’
प्रहरीले काठमाडौंमा प्रदीपलाई पक्रिएपछि उनकै बयानका आधारमा मंसिर २० गते कञ्चनपुरबाट विशाललाई पक्राउ गरेर काठमाडौं पठाएको हो। विशालका बुवा वीरबहादुरले छोरालाई लिएर काठमाडौं गएका थिए। प्रदीप र विशाल दुवै भीमदत्त नगरपालिका–१८ का हुन्। घटना भएको साउन १० गते प्रहरीले कुखुरा चोरीको आरोपमा प्रदीपलाई बिहान २ घण्टा सोधपुछ गरेर छाडेको थियो भने त्यही दिन बेलुका विशाललाई पक्राउ गरी अर्काेदिन छाडेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुवैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
डीएनए रिपोर्ट नै आएको छैन
निर्मला हत्या प्रकरणको अनुसन्धान क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका प्रदीप र विशालको डीएनए रिपोर्ट नेगेटिभ रहेको खबर बाहिरिए पनि कञ्चनपुर प्रहरीले भने उनीहरूको डीएनएको रिपोर्ट नआएको जनाएको छ। निर्मला हत्याप्रकरणको अनुसन्धान अधिकृत रहेका कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले अहिलेसम्म रिपोर्ट नआएको बताए। उनले भने, ‘रिपोर्ट आइसकेपछि त्यो खोल्ने अधिकार कञ्चनपुर प्रहरीलाई हुन्छ, त्यसपछि मात्रै रिपोर्ट थाहा हुन्छ ।’ उनले रिपोर्ट कञ्चनपुर पुगेपछि सरकारी वकिलसँगको समन्वयमा खोलेर हेरिने बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कडायतले आधिकारिक रिपोर्ट खोल्ने अधिकार अनुसन्धान अधिकृतलाई मात्रै हुने भन्दै बाहिर आएका कुरा यथार्थ नभएको बताए। उनले प्रहरीले निर्मला हत्या प्रकरणको अनुसन्धान सूक्ष्म रूपले अघि बढाइरहेको बताए। उनले भने, ‘अति शंकास्पद मानिसमाथि अझै निगरानी बढाइएको छ, आवश्यक परे उनीहरूको समेत डीएनए परीक्षण हुन्छ ।’छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले २५ कात्तिकदेखि जिल्ला प्रशासन कार्यालयअगाडि सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)