भरियो मुसहरको भकारी
बर्दिबास : महोत्तरीको बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीमा बस्छन्, अभिचन मुसहर। ४२ वर्षीय अभिचन धान खेती गरेर दंग छन्। उनी विगतमा पनि धान खेती गर्थे तर मालिकका लागि। यसपालि भने उनले मालिकको ७० कट्ठा खेत बठैयाँ (अधियाँ) लिएर २ सय मन धान फलाए। उनलाई १ सय मन धान भाग लाग्यो।
‘सय मन धान घर भित्र्याएँ’, उनले भने, ‘धान यति फल्यो कि घरमा राख्ने ठाउँ छैन। हाम्रो घरमा लक्ष्मी भित्रियो।’
हास्य कलाकार धुर्मुस र सुन्तलीले चन्दा संकलन गरी डेढ वर्षअघि ५० मुसहर परिवारलाई घर बनाइदिएका थिए। अभावमा बाँच्दै आएका मुसहरको मुहारमा उज्यालो छाएको थियो। त्यही घरमा धान भित्र्याउँदा खुसी थपिएको छ। ‘खेत जोताइ, रोपाइँ, मलमा ३५ हजार खर्च गरें’, उनले भने, ‘अब वर्षभरि खान पुग्छ।’ उनको १० जनाको परिवार छ।
मजदुरी गरेर गुजारा गर्दै आएका उनीहरू खेती र पशुपालनमा आकर्षित भएका छन्। अभिचनकी ४० वर्षीया श्रीमती विमला मुसहरले दुःखको दिन हराएको बताइन्। ‘चुहिने छानो फेरियो। घरमै बिजुली बत्ती, खानेपानीको धारा र चर्पी भयो’, उनले भनिन्, ‘धुर्मुस-सुन्तलीले हाम्रो जीवन फेरिदिनुभयो। पक्की घर भयो। घरमा धान राख्ने ठाउँ छैन।’ फिल्म हेर्न टीभी र समाचार सुन्न घरमा रेडियो रहेको उनले बताइन्।
उनले २२ वटा बाख्रा पालेकी छन्। ‘चारवटा खसी बेच्दा ७०-८० हजार आउँछ’, उनले भनिन्। कम्तीमा २ लाख रुपैयाँका खसी, बोका, बाख्रा रहेको उनले सुनाइन्। ‘दुःखीको घरमा लक्ष्मी फर्किन्छ भन्ने सोचेका थिएनौं’, अभिचनले भने, ‘आम्दानीले पुगेकै छ।’
बिल्टु मुसहरले दुई दर्जनभन्दा बढी बोरामा धान प्याक गरेर राखेका छन्। उनले ३० कट्ठा खेतमा लगाएको धान खेतीबाट १ सय २० मन फल्यो। जग्गाधनीलाई आधा दिएर ६० मन धान उनको भागमा पर्यो। ‘खेती गर्न ३० हजार खर्च गरें’, उनले भने, ‘खेती गर्नुपर्छ भन्ने बुद्धि नै हामीसँग थिएन। एकीकृत बस्ती विकासपछि हामीलाई विभिन्न संस्थाले तालिम दिए। त्यसपछि हामी कृषि कर्ममा लाग्यौं।’
विगतमा दिउँसो कमाएर साँझ-बिहान छाक टार्नुपथ्र्यो। भने, ‘आफ्नै बलमा कमाउनुपर्छ भन्ने कसैलाई थाहै थिएन।’ यही कारण मुसहर एक गाँस खानाका लागि मालिकको नोकरीमा बसेको उनले सुनाए।
बिन्दे मुसहर पनि धान फलाएर फुरुंग देखिएका छन्। उनले ५० कट्ठामा खेती गरेका थिए। धान यति फल्यो कि उनको घरमा थन्क्याउन स्थान अभाव भयो। ‘पहिला मालिकले हामीलाई खेती गर्न खेत दिँदैनथे’, उनले भने, ‘जग्गाधनीकै खेतमा ज्याला-मजदुरीमा हाम्रो जीवन सीमित थियो।’ उनका अनुसार कामदार अभावमा खेत बाँझै हुन थाल्यो। ‘त्यसपछि मालिकहरू हाम्रो दैलोमा आएर अधियामा खेती गर्न आग्रह थालेको दिन पनि देख्यौं’, उनले भने, ‘हामी गरिबको दिन पनि आयो। अहिले त साँझ-बिहान दाल, भात, तरकारी, माछा, मासु खान मज्जाले पुग्छ।’
एकीकृत बस्ती घुम्न आउने पर्यटकका लागि बस्ती व्यवस्थापन समितिले शुल्क तोकेको छ। त्यो रकम कोषमा जम्मा हुन्छ। त्यसबाट ऋण लिएर स्थानीयले खेती गर्ने, गर्जो टार्ने गर्दै आएका छन्। बिन्देले कोषबाट ३० हजार ऋण लिएर खेती गरेका थिए।
बस्तीका ३ सय जनामध्ये मञ्जय मुसहर मात्र स्नातक दोस्रो वर्षमा पढिरहेका छन्। बालबालिका दुई वर्षअघिदेखि जनता माविमा पढ्न थालेका छन्। अबको पुस्तादेखि दुःख, व्यथा र अभाव सहजै हट्ने १ सय ५ वर्षीया मरनी मुसहरले बताइन्।