पारा साइकलयात्री भन्छन्– ‘चुनौतीसँग रम्नुको मज्जा बेग्लै हुन्छ’

पारा साइकलयात्री भन्छन्– ‘चुनौतीसँग रम्नुको मज्जा बेग्लै हुन्छ’

काठमाडौं : ‘दुर्घटनाको दिन बाजा बजाएर आउँदो रहेनछ। म एक महिनाको थिएँ रे। आमाको काखमा सुतेका मेरा लागि त्यो रात आमाकै काख पनि असुरक्षित भएछ। गाउँको सामान्य गरिब परिवारका हामी। बिजुली बत्तीको व्यवस्था थिएन। राति आमा टुकी बालेर सुत्नुभएको रहेछ। त्यही टुकीको आगो सल्किएर ओछ्यानमा पुगेछ। निद्रामा परेकाले कसैले पत्तो पाएनछन्। ओछ्यानसँगै म आधासरो डढ्न पुगेछु’, डँडेलधुरा अमरगढी नगरपालिका–७ का नरेशराज भट्टराईले २५ वर्ष अघिको कहानी सुनाए।

आगोले डढेका कारण उनको दायाँ हात त्यति बेलै काट्नु पर्‍यो। उनको आधाभन्दा बढी अनुहार पनि डढ्यो। परिवारको पहिलो छोरो, त्यसमाथि परेको आपत्तिले नरेशका आमाबाबु निराश बने। भएको जग्गा बेचेर उनको जेनतेन उपचार भयो। नरेश जीवनभर शारीरिक रूपमा अपाङ्गता भए।

तर, नरेशले कहिल्यै हार खाएनन्। पारा साइक्लिङका प्रखर खेलाडी नरेशको साइकल कुदाउने क्षमता अहिले अन्य खेलाडीको भन्दा बलियो छ। अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार आयोजना गरेको क्यान्सरविरुद्ध जनचेतना साइकल र्‍यालीमा सहभागी नरेशले आफ्नो जीवन कुनै पनि मानिसको भन्दा कम नभएको बताए। साइक्लिङका पारखी नरेश पौडीका पनि कुशल खेलाडी हुन्।

नरेश अहिले पारा साइक्लिङको राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेका छन्। उनी यसै वर्ष आयोजना भएको ५० किलोमिटर राष्ट्रिय पारा साइकल दौडमा दोस्रो भए। ‘थोरै समयले मात्र म च्याम्पियन बन्न सकिनँ। स्याङ्जाका रामचन्द्र भण्डारीले मलाई पछि पारे। मेरो साइकल पुरानो भएकाले पनि दौडाउन सकिनँ’, नरेश भन्छन्।

नरेश अहिले पढाइ र खेललाई सँगै अगाडि बढाइरहेका छन्। घरको आर्थिक अवस्था कमजोर रहेका उनी बाल्यकालमा स्कुल जान पाएनन्। उपचारका लागि लामो समय बनेपाको एचआरडीसीमा बिताए। २०६५ सालमा उनको सम्पर्क अपांगता भएका व्यक्तिका लागि स्थापना गरिएको शुभद्रा फाउन्डेसन नामक बालगृहसँग भयो। सुरुमा उनले फाउन्डेसनका सञ्चालक जोयस भेनराइनलाई आफैंले भेटेर सहयोग गर्न अनुरोध गरे।

नेदरल्यान्ड्सका नागरिक जोयसबाट जब नरेशले सहयोग पाए। त्यसपछि नरेशको जीवनले कोल्टे फेर्‍यो। उनले जीवन जिउनु र बाँच्नुको अर्थ बालगृहमा पुगेर थापा पाए। उनी १४ वर्षको उमेरमा कक्षा १ मा भर्ना भए। पढ्नुपर्छ भन्ने सोचाइ रहेका नरेशले बालगृहकै सहयोगमा भक्तपुरको सूर्योदय बोर्डिङ स्कुलमा पढ्न थाले। पढाइमा समेत अब्बल उनले उमेरका कारण कक्षा जम्प गर्दै गए। २५ वर्षका उनी हाल लैनचौरस्थित सरस्वती क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै छन्।

‘पढाइ र जीवनको महŒव मैले जोयसबाट सिकेँ। त्यहाँ पुगेपछि मेरो आँखा कान खुल्यो। सबै काम आफैं गर्नुपर्छ भन्ने थाहा पाएँ। मलाई एउटा हात नभएको कत्ति पनि कमी भएन। म सबै काम आफैं गर्न सक्छु। बलियो आत्मविश्वासका कारण मैले कसैबाट तिरस्कृत हुनु परेको छैन। साइकल चलाउन र कठिन काम गर्न पहिला गाह्रो हुन्थ्यो। विस्तारै अभ्यस्त भएँ’, नरेश भन्छन्।

नरेशमा अहिले परिवारको जिम्मेवारी पनि बढेको छ। भर्खर नुवाकोटकी स्मृति भट्टराईसँग उनको प्रेमविवाह भएको छ। स्मृति शारीरिक रूपमा सक्षम छिन्। परिवारमा आमा र भाइबहिनीको हेरचाहको जिम्मेवारी पनि उनीमाथि छँदैछ। तर पनि उनी सबैबाट सहयोग भएमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाललाई पदक जिताएर छाड्ने बताउँछन्।

नरेशले साइक्लिङका लागि नेपाल आउने पर्यटकलाई कहिलेकाहीँ गाइड पनि गर्ने गरेका छन्। उनले पर्यटकलाई भक्तपुरदेखि नाला हुँदै बनेपासम्म लगेका छन्। नरेशको अबको योजना पारा साइक्लिङ खेलाडीका रूपमा नेपाललाई चिनाउने छ। नरेशलाई यति बेला सबैको सहयोगको खाँचो छ।

‘मेरो तर्फबाट सकेको मेहनत गर्नेछु। मलाई साइक्लिङमा धेरै गर्ने रहर छ। हामीजस्ता अपांगता भएका व्यक्तिलाई सरकारले प्राथमिकतामा राखेर स्थान दिनु पर्छ। सरकारबाट पहिलेभन्दा अपांगताको क्षेत्रमा धेरै सुधार भएको छ। अझै अवसर पाए पारा खेलाडीले धेरै राम्रो गर्न सक्छन्। म पारा ओलम्पिकमा पदक जितेर एकपटक देशको झन्डा फहराउन चाहन्छु। मेरो जन्म सामान्य रूपमा भए पनि मृत्यु इतिहास बनोेस्’, नरेशले भने, ‘जीवन सबैका लागि चुनौती हो। त्यसैले त चुनैतीसँग रम्नुको मजा बेग्लै हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.