प्रदेशसभा बैठकमा कांग्रेस सांसद्को अवरोध
जनकपुरधाम : नेपाली कांग्रेसका सांसदको अवरोधले प्रदेश–२ को प्रदेशसभा बैठक स्थगीत भएको छ।
प्रदेशसभाको दोस्रो अधिवेशनको दैनिक कार्यसूची अनुसार शनिबार बसेको ४८ औं बैठक सुरु भएको पाँच मिनेट नबित्दै स्थगीत भएको हो। बैठक सुरु भएपछि कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले टेबल ठोकेका थिए।
कुशवाहालाई सभामुख सरोजकुमार यादवले बोल्नका लागि समय दिए। वीरगञ्जमा बिपी उद्यानका लागि निर्धारित जग्गामा प्रदेश २ को सरकारले जबरजस्ती सहिद पार्क बनाउन लागेको विरोध गर्दै कांग्रेसले बैठकमा अवरोध गरेको हो।
‘एक सरकारले गरेको निर्णय अर्को सरकारले उल्टाउँदै जाने हो भने कुनै पनि योजना पूरा हुन सक्दैन्’, उनले भने, ‘त्यसैले प्रदेश सरकारको सहिद पार्क बनाउने कार्यक्रम फिर्ता लिनुपर्छ।’
कुशवाहाले प्रदेशसभाको सार्वजनिक लेखा समितिमा नेकपाको विवादका विषयलाई पनि निशाना बनाए। उनले भने, ‘नेकपाका सांसदले समितिमा मनोनयन दर्ता गराउँदा समर्थकको किर्ते हस्ताक्षर गरेको निवेदन परेको छ।’ उनले नेकपा सांसदले मनोनयन पत्र दर्ता गराउने क्रममा आक्रोशित भएर पत्रनै च्यातेको विषयमा सदन गम्भीर हुनुपर्नेमा जोड दिए।
‘यस्ता अलोकतान्त्रिक र गैर संवैधानिक क्रियाकलाप गर्ने सांसदलाई कार्वाही नगरिएसम्म हामी सदन सञ्चालन हुन दिदैनौं’, उनले बैठक नचल्ने चेतावनी नै दिए।
सचेतकको विरोध पछि कांग्रेसका सबै सांसदले उभिएर सदन अवरुद्ध गरेका हुन्। सभामुख यादवले यस विषयमा सरकारले उचित जवाफ दिने आश्वासन दिए पनि कांग्रेस सांसदले आवरोध जारी राखे।
कांग्रेसको अवरोधपछि चल्न नगरेको प्रदेशसभा बैठक फाागुन १५ गतेका लागि बोलाइएको छ। २०६० सालमा वीरगञ्ज महानगरपालिका र यातायात संस्थानबीच बिपी उद्यान निर्माण गर्ने विषयमा सम्झौता भएको थियो।