चाकडीको विकृत रुप : काँधले कहिलेसम्म थेग्ला माला ?
राणाकालमा चाकडी गर्नेले पद नै बक्सिस पाउँथे। राजाको शासनमा पनि जसले जति धेरै चाकडी गर्छ उसले त्यति धेरै फाइदा लुट्न पाउँथ्यो। पञ्चायतकालको चाकडी पनि राणा-राजाको शासनभन्दा फरक थिए।
राणा शासन त परको कुरा प्रजातन्त्रपछि राजाको चाकडी गरेरै धेरै नेता प्रधानमन्त्री बने, शक्ति र सत्ताको स्वाद लुटिरहे। राजाको जति धेरै जयजयकार गर्यो, त्यत्ति नै धेरै फाइदा लुट्न पाइन्थ्यो। राणा-राजाको शासन सकिएसँगै चाकडीको यो क्रम पनि अब इतिहास भयो। चाकडीको अर्कोश्रृंखला पञ्चायता ढलिसक्यो, राजाको शासन पनि सकियो। योसँगै देशबाट दरबारका हुक्के बैठके र धुपौरेहरुका दिन पनि सकिए।
देशमा गणतन्त्र आएको दशक बित्दा पनि जनताले चाकडीको उही भद्दारुपमा देख्नु परेको छ। अर्थात् गणतान्त्रिक देशका नेताले राजा-राणा शासनकै जस्तो चाकडीको भद्दा दृश्य देखाइरहेका छन्। राजतन्त्र र पञ्चायतका चाकडीकै धङधङी बोकेर नेताहरु डुलिरहेका छन्। अर्थात् चाकडीको काइदा मात्र परिस्कृत भएको छ चाकडी हटेको छैन।
स्वागतका अनेक प्रक्रिया र विधि हुन्छन्। मालाले सम्मान गर्नु हाम्रो मौलिक संस्कार हो। पछिल्ला दिनमा मालाले गरिने स्वागत पनि भद्दा मजाकको विषय बन्दै गएको छ। सय किलोभन्दा बढी तौलको मालाले चाकडीको अर्को रुप देखाइरहेको छ। अन्य देशमा एउटा फूल अर्थात् बुकी दिएर अथितिलाई सम्मान गरिन्छ। कतैकतै खादाको पनि चलन छ। तर,नेपालमा भने त्यही मालाको सम्मानको चलनको अपमान नै हुने गरी चाकडीको नमूना देखिँदैछ। अथितिको काँधले नै थाम्न नसक्ने गरी माला लगाइदिएको देख्दा यस्तो लाग्छ ‘.....लाई भन्दा देख्नेलाई लाज।’
के सत्तापक्ष, के विपक्ष। सय भन्दा धेरै किलोको माला लगाउने प्रतिस्पर्धा नै चलेको छ। सशस्त्र युद्ध र शान्ति सम्झौतापछि सर्वाधिक ठुला माला तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाए। त्यसको फाइदा उनको चाकडीमा जुटेका कतिले उठाए ? यो छुट्टै कुरा हो। केही शक्तिशाली विचौलिया र व्यापारी त उनका आसेपासे नै भएका छन्। तत्कालीन माओवादी-एमाले कार्यगत एकतापछि संयुक्त चुनावी सभामा प्रचण्ड-ओलीलाई धेरैले सयौँ किलोका माला लगाइदिए। अर्थात्, उनीहरु दुवैलाई एक सय भन्दा धेरै किलोका एकै मालामा उनीहरुलाई बेरे। परिवर्तनको अपेक्षा गरिएका कम्युनिस्टको मालामोह ओली-प्रचण्ड, पूर्वमन्त्री जनार्दन शर्मा हुँदै बाहालवाला ऊर्जामन्त्री बर्षमान पुनसम्म आइपुगेको छ।
यो होडमा नेपाली कांग्रेस पनि कम छैन। कोइराला परिवारका तीन नेतालाई पर्सामा १५१ किलोको एउटै माला लगाइदिए लगत्तै त्यहीँ पुगेका पार्टी सभापति देउवाको काँधमा १२१ किलोको माला थमाइयो। यसले देश राणा शासन हुँदै गणतन्त्रसम्म आइपुग्दा ‘नयाँ बोतलमा पुरानै रक्सी’ भन्ने उखान चरितार्थ पारेको छ।
प्रधानमन्त्रीलाई ५१ किलो
यही फागुन ७ गते मंगलबार डोटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा ५१ किलोको माला चढाइयो। ओली एक्लैले थेग्न गाह्रो पर्ने उक्त माला सम्हाल्न नेकपाका केही कार्यर्ता नजिकै पुगे। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई यसरी स्वागत गर्न पाउँदा स्थानीय नेता-कार्यकर्ता फुरुङ भए। अनि ओलीले पनि भाषण दिए, ‘यहाँको विकासको जिम्मा अब मेरो काँधमा।’ आफ्नो गर्धनमा पुग्न नपाएको माला आसेपासे कार्यकर्ताले उचालिदिँदा ओली खुसीले गदगद हुँदै मुस्काए।
ओलीलाई लगाइदिएको मालाभित्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पनि टाउको छिराए। प्रधानमन्त्रीसँग काँध जोडेर प्रफुल्ल देखिएका उनीहरुले आफूलाई शासक ठान्दै मुस्काए। स्वागतका लागि बनाएको मालाले प्रधानमन्त्री, मुख्यमन्त्री र अन्य मन्त्रीलाई नकिचोस भनेर कार्यकर्ता तम्यतार थिए। आफ्ना नेताको चाकडी गर्ने मौका त्यहाँका कार्यकर्तालेगाउँमै प्राप्त गरे। प्रधानमन्त्रीलाई लगाइदिएको मालामै टाउको छिराएका ऊर्जामन्त्री पुन र पूर्वाधारमन्त्री महासेठका काँधमा कार्यकर्तालेसात-सात किलोको ‘बोनस माला’ थपिदिए। यो सबै मालाको जोहो संघीय सांसद् प्रेम आलेमगरले गरेका थिए।
जो यसअघि रवीन्द्र अधिकारीसँगै पर्यटनमन्त्री बन्ने दौडमा थिए। नेपाल वायु सेवा निगमको वाइडबडी खरिदमा मन्त्री अधिकारीलाई दोषी देखाउने संसदीय उपसमितिका एक सदस्य मगरले प्रधानमन्त्रीलाई ठुलो माला भिराइदिएर बन्द भइसकेको मन्त्री हुने बाटो फेरि खुल्लै राख्ने अवसर प्राप्त गरे। प्रजातन्त्र दिवसकै दिन कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्मको ५० किलोमिटर सडक शिलान्यास गर्न पुगेका प्रधानमन्त्री र मन्त्रीको भव्य चाकडी गर्ने अवसर स्थानीयले पाएका हुन्। यो सडक ३० वर्ष अघि पनि एक पटक शिलान्यास भएर पनि अलपत्र परेको थियो।
देउवा पनि उस्तै
फागुन ८ गते वीरगन्ज पुगेका प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई बारामा स्थानीय नेता-कार्यकर्ताले भद्दा चाकडी गर्न भ्याए। बाराका नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा देउवालाई १५१ किलोको मालाले सुशोभित गरे। देउवाले बाराको विकासमा उत्पातै गरेको सन्देश दिने गरी तामझामका साथ १५१ किलोको माला भिराइयो। देउवा वीरगन्ज जाने पूर्वनिर्धारित कार्यक्रम थाहा पाएका स्थानीय नेता-कार्यकर्ता तँछाड मछाड गर्दै उनको चाकडीमा जुटेका थिए।
सिमरा विमानस्थलमा देउवाको स्वागतका लागि पूर्वमन्त्री, पूर्वसांसदसँगै बारा र पर्सााका नेता-कार्यकर्ता उर्लिएका थिए। कार्यकर्ताले यति ठूलो सम्मान गरेपछि देउवाले मिडियासँग बोल्नै मानेनन्। खासमा देउवा एक अर्ब लगानीमा वीरगन्जमा निर्मित चारतारे होटल उद्घाटन गर्न हिँडेका थिए। बाटैमा पाएको यति भब्य सम्मानले उनी अझ गदगद देखिन्थे। पार्टी सभापतिको भव्य चाकडी गर्ने कार्यकर्ताको त खुशीको भाँडो भरिएर छचल्किरहेको थियो। देउवाको यति चाकडी गरेपछि कतिले अगामी चुनावका लागि संघीय र प्रदेश सांसदको टिकट पक्का गरेको कानेखुसी सुनियो। कतिले नगरपालिका प्रमुख र धेरैले वडाअध्यक्षको टिकट ‘फिक्स’ गरेकोसम्म चर्चा सुनियो। त्यही खुशी त्यहाँ छरपस्टभयो।
तीन कोइरालालाई १२१ किलो
शनिबार (फागुन ४ गते) वीरगन्जमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले फोटो प्रदर्शन र विचार गोष्ठी गर्यो। अतिथिथिए कोइराला खलककै तीन नेता। कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइरालालाई कार्यकर्ताले राम्रै चाकडी गरे। लाखौं खर्च गरेर बनाइएको १२१ किलोको माला एकसाथ तीन नेताको काँधमा भिराइयो।
कार्यकर्ताले भव्य चाकडी गरेपछि कांग्रेसको भावी सभापति कोइराला परिवारबाटै बन्ने उद्घोष सुजाताले त्यहीँ गरिन्। ‘भन्नेले जेसुकै भनुन्, कसैले टाउको दुखाउनु पर्दैन। हामी तीन कोइराला एक छौँ’, सुजाताले भनिन्, ‘अब कोइरालाकै नेतृत्वमा कांग्रेस बलियो बन्छ।’ महामन्त्री कोइरालाले कार्यकर्ताले साथ दिए नेतृत्व सम्हाल्न तयार रहेको बताए। शेखरले नेतृत्वमा नैतिकता र संस्कार हराएको टिप्पणी गरे। ‘नेतृत्वमा व्यक्तिवादी चरित्र र स्वार्थ बढ्दै जाँदा राजनीतिक नैतिकता र संस्कारबिनाको राजनीतिक अपराध जस्तो भएको छ’, उनले भने।
नेपालमा माला लगाउने सौभाग्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत पाएका छन्। वैशाख २५ गते २ नम्बर प्रदेशमा आउँदा मोदीले एकैदिन ३६३ किलोको माला लगाए।
जनकपुरको बाह्रबिघा मैदानमा भएको अभिनन्दनमा उनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वीरगन्ज उद्योग वाणिज्य महासंघ र जनकपुर उद्योग वाणिज्य महासंघले क्रमश १२१ किलोका तीनवटा मालाले सम्मान गरेका थिए।
चाकडी मोह
मालाको भारी बोक्न केही नेता छुटेका होलान् तर माखो मार्न पनि नसकेका नेताहरुलेसमेत यो भद्दा सम्मान पाइसकेका छन्। प्रदेश २ को मुख्यमन्त्री बनेपछि लालबाबु राउतलाई गतवर्ष फागुनमा गृहजिल्ला पुग्दा १११ किलोको माला भिराइयो। यही मंसिर २८ गते ऊर्जामन्त्री पुनलाई रौतहटका स्थानीयले २०२ किलोको माला भिराए। नारायणी नहर, बकैंया बाध, पतौरा शव स्टेसन तथा मौलापुर विद्युत् शाखाको निरीक्षण गरेर कटहरीया बजारको जनसभामा सहभागी हुँदा उनले यो सौभाग्य पाएका थिए। यो भद्दा सम्मानको चाँजोपाँजो नेकपा नेता प्रभु साहले मिलाएका थिए। कटकरिया नगरपालिका र स्वर्णकार समाज रौतहटले उनलाई १०१-१०१ गरेर २०२ किलोको माला भिराएका थिए। यति ठूलो माला लगाएपछि पुनले हात उठाएर उपस्थित सबैसँग खुशी साटेका थिए। तर मन्त्री पुनले रौतहटको विकासमा जनताले थाहा पाउने गरी दिएको योगदानको उत्तर अहिलेसम्म कसैले दिएका छैनन्।
फरक मत
नेतालाई फूलको भारी गलत भएको टिप्पणी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको छ। देउवालाई १५१ किलोको माला भिराएको समाचारबारे ट्विट गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘केबल एक फूल दिनोस् या केबल एक मुस्कानसाथ हृदयले स्वागत गर्नुहोस्’, शर्मा भन्छन्, ‘आलोचनामा गालीको भारी या सम्मानमा फूलको भारी दुवै गलत छन्।’ नेपालको राजनीतिमा आफू ठाउँमा नपुग्दासम्म गाली गर्ने तर त्यहाँ पुगेपछि त्यही कुरुप संस्कार दोहोर्याउने बानी बसेको छ। विश्वप्रकाशले भोलीफूलको भारी भिरेको देख्नु नपरोस्।
लेखक नरेन्द्रजंग पिटर मालाको चाकडी शैलीलाई चर्को शब्दमा विरोध गरेका छन् । उनले दास र मालिकका कथा कांग्रेस र कथित कम्युनिस्ट दुवैमा भएको भन्दै यो सम्मान हुँदै नभएको दाबी गर्छन् । उनले यो शैलीलाई महाचाकडीको संज्ञा दिएका छन् । ‘नेपाली राजनीतिमा भएको सांस्कृतिक सामन्तवाद हेर हौ अर्को तमासा । दास र मालिकका कथा कांग्रेस र कथित कम्युनिस्ट दुवैमा छन्’, पिटर फेसबुकमा लेख्छन्, ‘यो सम्मान हुँदै हैन् । महाचाकडी हो । माला र चाकडी। दलाल राता र निला मन्डलेहरू .. थुक्क १५१ किलोको माला।’
नेकपा केन्द्रीय सदस्य सूर्य थापाले भारतीय फूलमाला खपतमा राष्ट्रिय सहमति भएको भन्दै व्यंग्य गरेका छन्। उनले नेताको माला मोह र कार्यकर्ताको चाकडीमोहको कडा विरोध गरेका छन्। उनी फेसबुकमा लेख्छन्, ‘यत्र, तत्र, सर्वत्र चाकडीवाजहरुको विगविगी ! के गर्ने र के नगर्ने ? संहिता, लोकलज्जा र मूल्यमान्यता भए पो ?डोटी, सिमरा, पर्सा, सर्लाही र रौतहटमा कीर्तिमान गाथा। लज्जाशरणम्।’
लेखक नयनराज पाण्डे देउवाले १५१ किलोको माला लगाएको फोटो ट्विट गर्दै लेखेका छन्, ‘धेरै ठूलो शब्द आएन, ‘धिक्कार’ मात्र भन्न सकेँ।’