प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं : बिहीबार स्थगित प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्ने भएको छ। ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भएपछि सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेकाले बिहीबारको बैठक सूचना टाँसेर स्थगित भएको थियो।
संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचनामार्फत बैठक स्थगन भएको जानकारी दिएका थिए। आज दिउँसो ३ बजै बैठक बस्ने बताइएको छ।
बिहिबार स्थगित भएको प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची थियो। बुधबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा मन्त्री अधिकारीलाई सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची बनाएको थियो ।