सबैलाई रुवाएर गए रवीन्द्र
फागुन १५ गते बुधबार हिमालयन होटेलको एउटा कार्यक्रममा थिएँ। लन्च टाइमको ब्रेकमा बाहिर कफी पिइरहेको बेला मोबाइलमा घन्टी बज्यो। ताप्लेजुङका होटेल व्यवसायी सुरेश मादेनको फोन थियो। ‘सर ! रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पाथीभराको फेदमा खस्यो।’
म अक्क न वक्क परें, एकदम अत्यास लाग्यो। आफूसँग तीनदसकको राजनीतिक र पारिवारिक सम्बन्ध रहेका आत्मीय मित्र रवीन्द्र चढेको हेलिकप्टर दुर्घटनाको समाचार मेरो कानमा ठोक्किएको थियो। लगत्तै पहिलो फोन नै रवीन्द्रकै मोबाइलमा गरें। ‘मन्त्रीज्यू ताप्लेजुङ जानुभएको छ’, रवीन्द्रको स्वकीय सचिव राजेन्द्रले फोन उठाउँदै भने, ‘आजै फर्किनुहुन्छ।’ राजेन्द्रलाई रवीन्द्र हेलिकप्टर दुर्घटनामा परेको कुनै सुइँको थिएन। ‘तुरुन्तै फोन गरेर उहाँको लोकेसन के छ, बुझनोस्’– मैले भनें।
मेरो आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्रमा भएको दुर्घटना, अर्काेतर्फ असाध्यै मिल्ने सहयोद्धा। मनमा चैन थिएन। मित्र रवीन्द्रको कुनै अप्रिय खबर सुन्न नपरोस् भन्दै लगातार यतैबाट घटनास्थलमा मान्छे परिचालन गर्ने, लगातार जानकारी लिने र बुझ्ने क्रममा म जुटिरहें। दुर्भाग्य ! मैले मेरो जीवनकै एउटा असल साथी गुमाएँ।
पहिलो भेट
रवीन्द्रसँग करिब तीनदसक मैले सँगै बिताएको छु। हाम्रा पहिलो भेट २०४५ मा भएको थियो। म कीर्तिपुरस्थित होस्टेलमा बसेर क्याम्पस पढ्थें। रवीन्द्र पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी नेता तथा स्ववियुमा समेत हुनुहुन्थो। स्ववियुले आफ्नो मुखपत्र ‘माछापुच्छ्रे’ निकाल्थ्यो। त्यतिबेला सायद पोखरामा राम्रो प्रेस नभएर होला, उहाँ सामग्री जम्मा गरेर काठमाडौं आउनुभएको थियो। उहाँ होस्टेलमा मेरै कोठामा बस्नुभयो। झन्डै एक महिना एउटै कोठामा सँगै बस्ने, सुत्ने गर्यौं हामी दुई। होस्टेलकै मेसमा उहाँलाई खाना खाने व्यवस्था हामीले मिलाएका थियौं।
पछि उहाँ गण्डकी क्षेत्रबाट अनेरास्ववियुको केन्द्रीय कमिटिमा चुनिएर आउनुभयो। म पहिल्यै केन्द्रीय कमिटिमा थिएँ। त्यसपछि नियमित भेटघाट हुन थाल्यो। बैठकमा आउँदा उहाँ आफ्नो कार्यक्षेत्रको संगठनात्मक अवस्था, संगठनको योजनालगायतका विषयमा मसिनो गरी रिपोर्टिङ गर्नुहुन्थ्यो। भेटमा हामी राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीति, समाज र विद्यार्थी आन्दोलनका विषयमा निकै गफिन्थ्यौं। पछि पञ्चायतविरोधी आन्दोलन भयो, उहाँ पोखरा र म काठमाडौंको आन्दोलनबाट पक्राउ पर्यौं।
काठमाडौं आएपछि
विद्यार्थी राजनीतिकै सिलसिलामा उहाँ पोखरा छोडेर काठमाडौं आउनुभयो। हामीले उहाँलाई कीर्तिपुर क्याम्पसमा स्ववियु सभापतिको उम्मेद्वार बनायौं। त्यसबेला विद्यार्थी संगठन र पार्टी नेताहरूको बुझाइको अन्तरका कारण रवीन्द्र, भानुभक्त ढकाल, हिक्मत कार्की र मसहित हामी ४ जनाले विद्यार्थी संगठनको केन्द्रीय कमिटि छोड्नुपरेको थियो।
अखिलमा अरुण नेपाल अध्यक्ष र जगन्नाथ खतिवडा महासचिव भएर आउनुभएको थियो। त्यहीबेला रवीन्द्र कीर्तिपुर क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार बन्नुभएको थियो। म भर्खर अखिल अध्यक्ष छोडे पनि मेरो दायित्व थियो, उहाँलाई जिताउने। कीर्तिपुर नयाँबजारमा १५/२० दिनजति बसें। उहाँले अध्यधिक मतले जित्नुभयो। उहाँको लोकप्रियता त्यसबाट पनि देखिन्थ्यो। नेताभन्दा पनि साथीको जस्तो व्यवहार गर्नुहुन्थ्यो सबै विद्यार्थी साथीहरूलाई।
कीर्तिपुर स्ववियुमा रहँदा उहाँले रचनात्मक काम गर्नुभयो। विश्वविद्यालयका पदाधिकारीले पनि एउटा असल विद्यार्थी नेताका रूपमा उहाँलाई लिन्थे। हामीले देशभरका स्ववियु जितेका ठाउँलाई जोडेर स्ववियु काउन्सिल बनाएका थियौं। त्यो काउन्सिलको अध्यक्ष हामी चाहन्थ्यौं, रविन्द्र अधिकारीलाई बनाऔं। ल क्याम्पसका सभापति हिक्मत कार्कीले पनि अध्यक्ष हुन चाहनुभयो। पार्टीभित्रको अन्तरविरोधले गर्दा चुनावको परिस्थिति बन्यो। त्यसभन्दाअघि शंकर पोखरेल काउन्सिलको अध्यक्ष हुनुहुन्थ्यो। कीर्तिपुरकै सेडा हलमा स्ववियु काउन्सिलको अध्यक्षको चुनाव भयो, रवीन्द्रले जित्नुभयो।
हामी दुवै वामदेवतिर
दुर्भाग्य पार्टीमा विभाजन आयो। त्यसबेला रवीन्द्र र म दुवै वामदेव गौतमले नेतृत्व गर्नुभएको मालेतिर लाग्यौं। म फेरि अखिलको अध्यक्ष भएर आएँ, उहाँ महासचिव हुनुभयो, रुपनारायण श्रेष्ठ उपाध्यक्ष। शिव गुरुङ, वसन्त मानन्धर, रवीन्द्रजीकै पत्नी विद्या भट्टराई हामीसँगै विद्यार्थी राजनीतिमा थियौं। एकपटक हामी पोखरा जाँदै थियौं, दमौलीको एउटा होटेलमा चियाखाजा खाँदै गर्दा संगठनको केही महत्त्वपूर्ण योजना सँगै बसेर बनायौं।
माले भएपछि देशभर केही काम गर्नुपर्यो, जनमत तान्ने, ध्यानाकर्षण गर्न के गर्ने भन्नेमा हामीले आधा घन्टाका बीचमा ३/४ वटा योजना बनायौं। काठमाडौं–कालामानी मार्च गर्ने, विद्यालयदेखि विश्वविद्यालयसम्म (विवि) अभियान चलाउने, सांस्कृतिक जागरण साझा अभियान चलाउने योजना हामीले बनायौं। पोखरा केन्द्रीय समिति बैठकले त्यो योजना पारित गर्यो। हामी अभियान लिएर गयौं, सफल पनि भयौं। काठमाडौंदेखि कालापानीसम्मको अभियानमा विद्यार्थी, कलाकार, पत्रकारलगायत ५७ जनाको टिम बन्यो। म र रुपनारयण श्रेष्ठले अगुवाइ गरेका थियौं। रवीन्द्रजी त्यसबेला जन्डिस भएका कारण जान सक्नुभएन।
अखिल अध्यक्ष भएपछि
रवीन्द्रजी पछि अखिल अध्यक्ष बन्नुभयो। उहाँले नेतृत्व गर्दाको विद्यार्थी संगठन अहिले पनि सबैले सम्झने गर्छन्। उहाँले सीमा सुरक्षा अभियान चलाउनुभयो। त्यसबेला ६२ ठाउँमा भारतले नेपालको सीमा मिचेको भन्ने थियो। यकिन थिएन। उहाँले आफ्नो नेतृत्वमा लक्ष्मणपुर बाँध, च्याङकाथुदेखि मानेभज्याङसम्म, पशुपतिनगरदेखि पश्चिमको गड्डाचौकी, कालापानीसम्मको अभियानको अगुवाइ गर्नुभयो।
उहाँकै अगुवाइमा विद्यार्थीले सार्वजनिक क्षेत्रमा सहुलियत पाउनुपर्छ भनेर यातायातलगायतमा ठूलो आन्दोलन चल्यो। ३३ प्रतिशत सहुलियत दिने सहमतिमा सम्झौता भयो। अहिले त्यो ४५ प्रतिशतसम्म पुगेको छ। उहाँकै पालामा कलाकार प्रविण गुरुङकोे पारस शाहको गाडीले ठक्कर दिएर हत्या भयो। हत्याको विरोधमा बोल्न मान्छेहरू डराउँथे। तर उहाँले विद्यार्थी संगठनबाट बिदा भएका हामीहरूलाई बोलाएर सुझाव माग्नुभयो। अन्ततः पारसलाई कारबाही गर्नुपर्छ भनेर देशभर हस्ताक्षर अभियान मात्र चलाउनुभएन साढे ५ लाख बढी हस्ताक्षर जुलुससहित नारयणहिटी दरबारमा लगेर बुझाउनु पनि भयो। यो खालको निडर र हिम्मतिलो आँट थियो रवीन्द्रजीसँग।
माले—एमाले मिलेपछि
पार्टी विभाजनमा मात्र होइन, एकतामा पनि हामी दुई सँगै रह्यौं। माले—एमाले एक हुने बेला भने हामी दुवै झन्डै केही समय पीएचडी अध्ययनका लागि भनेर देशबाहिर जान खोजेका पनि थियौं। हामी सानो पार्टीबाट आएका छौं, ठूलो पार्टीमा हिजो पार्टी फुटायो भन्ने आरोप छ, जिम्मेवारी के देलान् र ? केही समय पढ्ने, लेख्ने, अध्ययन गर्ने हो कि ? सकेसम्म देशबाहिर गएर भए पनि पीएचडी गरेर आउने हो कि भन्नेमा हामीले सल्लाह पनि गरेका थियौं।
तर त्यहीबेला राजा ज्ञानेन्द्रले असोज १८, माघ १९ जस्ता घटना घटाए। त्यसले फेरि आन्दोलनको स्थिति सिर्जना गर्यो। त्यो आन्दोलनले पीएचडी गर्न जाने हाम्रो सोचमा ब्रेक लगाइदियो। हामी सडकमा आन्दोलनमा उत्रन थाल्यौं। पार्टीभित्र हामीमाथि धेरै पूर्वाग्रह राख्ने अवस्था रहेन। जो सडकमा आउँथ्यो, त्यही नेता बन्ने अवस्था थियो। त्यसबेला उहाँलाई कास्की र मलाई काठमाडौंमै काम गर्न जिम्मा दिइयो। त्यसपछि उहाँ पोखरालाई आधार बनाएर निरन्तर राजनीतिमा लाग्नुभयो।
संसद्मा रवीन्द्र स्थापित र मेहनती नेता हुनुहुन्थ्यो । सबैले उहाँलाई मान्थे । पार्टीभित्र पनि उहाँको कुनै नेताले गलत मान्छे भनेर विरोध गरेको मैले सुनेको छैन । सबैलाई आदर गर्ने र सबैमा मिल्नसक्ने खुबी रवीन्द्रमा थियो ।
मलाई सम्झना छ, रवीन्द्र पोखरा जानुअघि कमलपोखरीमा एकजना ओझा थरका पूर्व सचिवको घरमा डेरा गरी बस्नुहुन्थ्यो। उहाँलाई मैले नै पोखरा क्याम्पसको सभापति भइसकेको मान्छे, स्थानीय रूपमा स्थापित पनि भनें। एकदिन एकाबिहानै मिनी ट्रकमा उहाँका सबै सामान राखेर मैले नै बिदाइ गरेको थिएँ। उहाँले जिल्ला सदस्य, नेतृत्वहँुदै पोखराबाटै केन्द्रीय समितिसम्म आउनुभयो। संसद्मा पनि लगातार त्यस क्षेत्रबाट तीनपटक निर्वाचित हुनुभयो।
प्रशिक्षक रवीन्द्र
रविन्द्रभन्दा राजनीतिमा म सिनियर भएर आएँ। तर पनि संसद् मेरो लागि नयाँ र पहिलोपटक थियो। संसद्मा यसअघि नै रवीन्द्र दुईपटक आइसक्नु भएको थियो। मैले संसदीय भूमिकाका विषयमा तीनचार ओटा प्रशिक्षण रवीन्द्रबाट लिएँ। अन्य कांग्रेस, माओवादीका स्थापित नेताहरूबाट पनि लिएँ। संसद्मा कसरी विषय वस्तुको उठान गर्ने, कस्ता विषय उठाउने ? रवीन्द्रसँग मैले सिक्ने अवसर पाएँ। उहाँले मलाई पहिलो, असाध्यै धेरै जनचासोका विषय, दोस्रो आफू रहेको संसदीय समितिका विषयगत एजेन्डा, तेस्रो, आफ्नो जिल्ला, निर्वाचन क्षेत्रसँग जोडिने विषय, चौथो, राजनीतिक घेराबान्दीभित्रका पार्टी एजेन्डा र त्यसमा पनि सबै पार्टीको समर्थन पाउन सक्ने एजेन्डा खोज्नुपर्ने जस्ता सुझाव दिनुभएको थियो। ध्यानाकर्षण प्रस्ताव, विशेष प्रस्ताव कसरी लैजाने ?
भाषा, लवजलगायतका विषयमा कक्षा लिएको थिएँ। त्यसले मलाई अहिले संसदीय भूमिकामा टेवा पनि दिएको छ। सिक्नका लागि सिनियर जुनियर भन्ने होइन, जानेकोबाट सिक्ने हो। सिनियरबाट व्यावहारिक विषय सिकिएला तर विषयगत कुरा जानेकाबाट सिक्ने हो। त्यही क्रममा रवीन्द्रबाट मैले संसदीय राजनीति सिकेको छु।
संसद्मा रवीन्द्र स्थापित र मेहनती नेता हुनुहुन्थ्यो। सबैले उहाँलाई मान्थे। पार्टीभित्र पनि उहाँको कुनै नेताले गलत मान्छे भनेर विरोध गरेको मैले सुनेको छैन। सबैलाई आदर गर्ने र सबैमा मिल्नसक्ने खुबी रवीन्द्रमा थियो।
रवीन्द्रका रुचि
रवीन्द्र खानपिनमा औसत मान्छे हुनुहुन्थ्यो। सामान्य भेषभुषामा रमाउन सक्ने। गण्डकी र धौलागिरी सांस्कृतिक हिसाबले अन्यत्रभन्दा अगाडि छ। त्यसैको प्रभाव हुनुपर्छ, उहाँ नाच्न असाध्यै मन पराउनु हुन्थ्यो। कहीं मादल वा गीत बज्यो भने ‘ल नाचौं’ भनेपछि उहाँ नाचिहाल्ने स्वभावको मान्छे हुनुहुन्थ्यो। हामीलाई नाच्न असाध्यै गाह्रो, नआउने। तर उहाँ गीत पनि गाउने, नाच्ने गरिहाल्नुहुन्थ्यो। यात्राका क्रममा पनि गीत गाउने, दोहोरी खेल्ने गर्नुहुन्थ्यो। खेलकुदमा भने उहाँको त्यति रुचि देखिन। जति मैले यो तीनदसकको संगतमा रवीन्द्रलाई बुझें उहाँ असाध्यै सरल स्वभावका सकारात्मक सन्देश प्रवाह गर्ने, जनताले विश्वास गर्न सक्ने व्यक्तिको रूपमा हुनुहुन्थ्यो।
देशले आशालाग्दो, भरोसायोग्य, विश्वासिलो र दूरदृष्टि भएको एक युवा राजनीतिकर्मी मेरा घनिष्ट मित्रलाई गुमाएको छ। मैले रवीन्द्रलाई सहृदयी, सरल स्वभावका, जनप्रिय कार्यशैली, सकारात्मक सोच, देशभक्तिपूर्ण भावना, विकासप्रेमी, दूरदृष्टि र बहुआयामिक सम्भावना बोकेको आत्मीय साथी, प्रिय कमरेड र हाम्रो पुस्ताको भरोसायोग्य राजनीतिक नेताका रूपमा बुझेको छु। म स्तब्ध छु। यस्तो साथी गुमाउनुपर्दा। प्रिय साथी, भौतिक रूपमा गयौं तर मभित्र तिमी सधैं रहिरहने छौं।
—रामकृष्ण अधिकारीसँगको कुराकानीमा आधारित