सुकुना अशान्त

सुकुना अशान्त

इटहरी/विराटनगर : शिक्षकको दोहोरो सुविधाबारे विवाद हुँदा सुकुना बहुमुखी क्याम्पस दुई दिनदेखि अशान्त बनेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित क्याम्पसमा पठनपाठन रोकिएको छ।

अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच बुधबार झडप भएको थियो। संघको ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, क्याम्पस इकाइ सभापति विजय तोलांगी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएका थिए। विवाद समाधानको पहल नभएको संघको क्याम्पस इकाइका पूर्वसभापति सुमन ढकालले बताए। ‘हामी धर्ना बसेको ठाउँमा उहाँहरू (अनेरास्ववियु) ले आक्रमण गर्दा स्थिति तनावपूर्ण भएको हो’, उनले भने, ‘क्याम्पसमा पठनपाठन नियमित गर्ने विषयमा केही पहल भएको छैन।’

१५ जना पूर्णकालीन अध्यापकले स्कुलमा पनि शिक्षकका रूपमा तलब खाइरहेका छन्। शिक्षा ऐन २०२८ को दफा १६ (ङ) को ५ मा उल्लेख गरिएअनुसार ती शिक्षकलाई कारबाही गर्नुपर्ने माग संघले गरेको छ। सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम गर्न नपाउने उल्लेख छ।

क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठ, व्यवस्थापन संकाय कार्यक्रम संयोजक बलराम पोख्रेललगायत १३ जना अन्यत्र पनि कार्यरत छन्। उनीहरू सुकुना, पञ्चायत, कविर, केसेनी, महेन्द्र, शिक्षा निकेतन र धनपाल माविमा काम गर्छन्। केही अध्यापक बुद्ध मावि केराबारी, कालिका मावि सुनवर्षीमा कार्यरत छन्। क्याम्पसका पूर्णकालीन अध्यापकले अन्यत्र काम गर्न नमिल्ने भन्दै संघ फागुन २० गतेदेखि आन्दोलित थियो।

सुन्दरहरैंचामा शुक्रबार प्रदर्शन गर्दै नेवि संघका कार्यकर्ता।तस्बिर : किशोर बुढाथोकी

क्याम्पस प्रमुख        श्रेष्ठले भने दुवै संगठनले आफ्नो प्रभाव देखाउन खोजेका कारण तनाव भएको बताए। शिक्षकले नियम नमिचेको दाबी उनले गरे। विद्यालयका शिक्षककै कारण क्याम्पस सञ्चालन गरिएको उनले बताए। ‘सानो ठाउँमा जनशक्ति पाइँदैन’, उनले भने, ‘स्कुलकै शिक्षकले क्याम्पस पढाउँदा क्षमतामा वृद्धि हुन्छ।’ क्याम्पसमा अध्यापन गराउने ९० जनाले बाँकी समय अन्यत्र पढाउने गरेको उनले बताए।

क्याम्पसले सूचनामार्फत शुक्रबारसम्म पठनपाठन बन्द गरिएको जनाएको छ। संघका कार्यकर्ताले क्याम्पस आसपास प्रदर्शन गरिरहेका छन्। कुटपिटमा संलग्नविरुद्ध किटानी जाहेरी प्रहरीले लिन नमानेको पूर्वसभापति ढकालले बताए। अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष मिलन बस्नेतले संघले बाहिरका मान्छे ल्याएर नाराजुलुस गरिरहेको आरोप लगाए। ‘संघकै कारण झडप भएको विषयमा पठनपाठन ठप्प पार्ने काम भएको छ’, उनले भने, ‘वार्ताबाट समस्याको समाधान खोजिनुपर्नेमा अराजकता मच्चाउने काम भइरहेको छ।’

झडपपछि क्याम्पसमा प्रहरीले पहरा दिइरहेको छ। क्याम्पसको सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.