नाम मात्रको इलाका प्रशासन कार्यालय
गोरखा : गोरखाको फिलिममा स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन्। कर्मचारी अभावले चुमनुब्री गाउँपालिकाका सेवाग्राही नागरिकता, राहदानी सिफारिसलगायत सेवा लिन सात दिनको बाटो हिँडेर सदरमुकाम पुग्न बाध्य छन्। जिल्लाको दुइतिहाइ भाग दुर्गममा रहेकाले दुर्गमवासीलाई सेवा दिने उद्देश्यले २०६९ सालमा एकीकृत सेवा केन्द्र अन्तर्गत इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय स्थापना गरिएको थियो।
दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाह नभएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्। ‘इलाका प्रशासन कार्यालयमा एकजना नासुमात्र छन्’, उनले भनिन्, ‘मालपोत र नापी कार्यालयमा त कर्मचारी नै हँुदैनन्। पियनले कार्यालय खोलेर बस्छन्।’ पशु कार्यालय पनि पियनकै भरमा चलेको उनको भनाइ छ। इलाका प्रशासन कार्यालयमा सातजनाको दरबन्दी भए पनि नासु रामप्रसाद शर्मा र दुईजना कार्यालय सहयोगीमात्र छन्। ‘एकजना अधिकृत, दुईजना नायव सुब्बा, सहलेखापाल, सहायक कम्प्युटर अपरेटर, दुईजना कार्यालय सहयोगीको दरबन्दी हो’, कार्यालयका नासु शर्माले भने, ‘तर यहाँ म र दुईजना कार्यालय सहयोगी मात्र छौं।’
अधिकृत नहुँदा नागरिकताको सनाखत गर्ने र प्रतिलिपि सिफारिस गर्ने काम मात्र हुने उनले जानकारी दिए। ‘अधिकृत पद खाली भएको १३ महिना भइसक्यो। कर्मचारी समायोजनको बेला भएको छ, कोही आउनुहुन्छ कि हेरौं ? ’ उनले भने। मालपोत कार्यालयमा पाँच जनाको दरबन्दी भए पनि कोही नभएको कार्यालय सहयोगी पार्वती गुरुङले बताइन्।
पाँचजनाको दरबन्दी रहेको नापी कार्यालयमा पनि कोही नभएको कार्यालय सहयोगी राजकुमार गुरुङले बताए। आफू पनि काम विशेषले सदरमुकाम झरेको उनले टेलिफोनमा बताए। इलाका प्रशासन कार्यालयमा नागरिकता बनाइदिने कर्मचारी नहुँदा ज्येष्ठ नागरिक भत्ता लिनबाट बञ्चित भएको चुमनुब्री गाउँपालिका–५ का अध्यक्ष सोनाम ग्याल्जेनले बताए। ‘फिलिमको इलाका प्रशासन कार्यालयमा हाकिम छैन। गोरखाबजार जान नसक्ने बुढाबुढीको नागरिकता बनाउन सकेको छैन’, उनले भने, ‘हाम्रो वडाका धेरै जना बुढाबुढीले नागरिकता नभएकाले वृद्धभत्ता पाएका छैनन्।’
सातवटा वडा रहेको चुमनुब्री गाउँपालिकामा वडाध्यक्ष पनि तीनजना मात्र छन्। प्रमुख प्रशासकीय अधिकृत नभएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्। ‘प्रमुख प्रशासकीय अधिकृतको काम वडा सचिवले गर्नुपरेको छ’, उनले भनिन्, ‘एउटा सचिवले तीनवटा वडाको काम गर्नुपरेको छ।’
सचिव पनि अधिकांश समय सदरमुकामतिर हुन्छन्। कार्यालयमा आएका सेवाग्राहीसँग समन्वय गर्ने आफू एक्लै, लेख्ने काम पनि आफैले गर्नुपरेको उपप्रमुख गुरुङले गुनासो गरिन्। सदरमुकामबाट ३० देखि ५५ कोश टाढा रहेका साबिकका सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, केरौंजा र उहिया गाविसका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले एकीकृत सेवाकेन्द्र तथा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो।
प्रतिक्रिया दिनुहोस !