हावाहुरी प्रभावितलाई सहिद लखन गाउँपालिकाको सहयोग
गोरखा : गोरखाको सहिद लखन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले तराईको हावाहुरी पीडितलाई आर्थिक सहायता दिने भएका छन्। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधिले तीन दिन र कर्मचारीले एक दिनको तलब बराबरको रकम बाराका हावाहुरी प्रभावितलाई उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए।
केही दिनभित्रै रकम संकलन गरेर सम्बन्धित निकायमा पठाउने उनको भनाई छ। गत आइतबार रातिको हावाहुरीले बाराको फेटा गाउँपालिका र पर्साको पर्सौनी गाउँपालिकामा धनजनको क्षति भएको थियो।
वर्षायामको पूर्वसन्ध्यामा हावाहुरी कारण धेरैले आवास समेत गुमाएकाले राहत र उद्धारका लागि सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मगरले जानकारी दिए।