मनास्लु पदमार्गमा सुख्खा पहिरो

मनास्लु पदमार्गमा सुख्खा पहिरो

गोरखा : ‘कति पटक पर्खाल लगाउने ? हैरान भइसकियो’, बाटोको पहिरो उकास्न पर्खाल लगाउँदाको दुःख सुनाउँदै चुमनुब्री गाउँपालिका–५ का वडाध्यक्ष सोनाम ग्याल्जेन भन्छन्, ‘अस्ति भर्खर पर्खाल लगाइरहेका बेला पहिरो खसेर एक जनाको कान च्वाट्टै लग्यो। भागाभाग भयो। अब त गाउँले पनि पर्खाल लगाउन आउन मान्दैनन्।’ सबैभन्दा धेरै दुःख हिँड्ने बाटोको भएको उनको भनाइ छ।

चुमनुब्री गाउँपालिकाका कुनै पनि वडा सडक सञ्जालले जोडेको छैन। पदमार्ग पनि सुख्खा पहिरो खसिरहेकाले ज्यादै जोखिमपूर्ण रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। सो बाटोमा स्थानीय र मनास्लु क्षेत्रमा आउने हजारौं विदेशी पर्यटक असुरक्षित तवरबाट आवतजावत गर्न बाध्य छन्।

गाउँपालिकाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव नरहेको चुमनुब्री–४ का वडाध्यक्ष पेमा डुन्डुप लामा बताउँछन्। ‘सरकारबाट टाढा भइयो। अरु सेवासुविधा त भएन, बाटो पनि ज्यानको माया मारेर हिँड्नुपर्छ’, उनले भने, ‘गाउँपालिकाको, वडाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव छैन।’ सुख्खा पहिरोले बर्सैपिच्छे स्थानीय र विदेशीको ज्यान लिने गरेको उनले बताए।

भूकम्पपछि बाटो अत्यन्त जोखिमपूर्ण भएको वडा नम्बर ७ का अध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन्। ‘भूकम्पले पहरो थर्काइदिएछ, हावा चल्न थालेपछि सानो ठूलो पहिरो खसिरहन्छ’, उनी भन्छन्, ‘चौरींखर्क कटेर छेकम्पार पुग्न ज्यानको बाजी लगाउनुपर्छ। पारि जंगलको बाटो सुरक्षित थियो तर बुढीगण्डकीमाथि पुल छैन। कसरी तर्ने ? ’ म्हुगुम्बाभन्दा केही तल सुख्खा पहिरोले हालै एक जनाको ज्यान गएको उनले सुनाए।

ल्हो र स्यालाको बीचमा, नाम्रुङ पुग्ने बाटोमा, गप र बिहीको बीचमा, लोक्पा र चुम्लिङको बीचमा र छेकम्पार पुग्ने बेलामा सबैभन्दा ठूला सुख्खा पहिरोका समस्या रहेको नाम्रुङका लाक्पा ढुन्डुप लामा बताउँछन्। ‘पहिरोको डरले तल माथि हेर्दै कुद्नुपर्छ’,उनले भने, ‘बाटो असुरक्षित भएर स्थानीयलाई घाँस दाउरा गर्न, याकचौंरी चराउन, सदरमुकाम आउन जान र पर्यटक हिँड्न असाध्यै डरमर्दो भएको छ।’ बाटो सुरक्षित भए अहिलेको तुलनामा पर्यटक संख्या अझै धेरै बढ्ने उनले बताए।

बुढीगण्डकीको तिरैतिरको बाटोमा माथिबाट खसेको सुख्खा पहिरोले लागेमा सिधै बुढीगण्डकीमा खसाउने वडा नम्बर ६ का अध्यक्ष लोप्साङ लामा बताउँछन्। चुमचुब्री गाउँपालिकाको विकास गर्न सबैभन्दा पहिले बाटो बनाउनु पर्नेमा उनले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.